ad ad

कारोबार


सरकार-व्यवसायी छलफलः सामान अभाव हुन नदिने निजी क्षेत्रको प्रतिवद्धता

सरकार-व्यवसायी छलफलः सामान अभाव हुन नदिने निजी क्षेत्रको प्रतिवद्धता

सन्तोष न्यौपाने
फागुन २०, २०७६ मंगलबार १७:३३,

विश्वप्यापी रुपमा फैलिरहेको कोरोना भइरस (कोभिड—१९)बाट नेपाल पनि उच्च जोखिममा रहेको हुँदा सरकारले निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेको छ।

मंगलबार बेलुका मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग सो बैठक भएको थियो।

कोरोना भाइरस कसरी रोक्न सकिन्छ र भाइरस फैलिहालेमा आम उपभोक्तालाई कसरी सामान वितरण सहज बनाउने भन्ने विषयमा छलफल गर्न मुख्यसचिव रेग्मीले मंगलबार साझ ४ बजे निजी क्षेत्रका प्रतिनिधिलाई सिंहदरबारमा बोलाएका थिए।

झन्डै २ घण्टा चलेको बैठकमा मुख्य सचिवसहित गृह सचिव, अर्थ सचिव, कृषि सचिव, स्वास्थ्य सचिव, उद्योग तथा वाणिज्य सचिवको सहभागिता थियो।

त्यस्तै, निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका तर्फबाट दिपक मल्होत्रा र नवराज ढकाल र नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष सतिस मोरको सहभागिता थियो।

बैठकमा सहभागि मल्होत्राका अनुसार मुख्य सचिव रेग्मीले कोरोना भाइरसका बिरामी देखिन थालेमा बजारमा खाद्यान्नदेखि अन्य धेरै उपभोग्य सामानको अभाव हुनसक्ने भन्दै त्यसलाई सहज बनाउन निजी क्षेत्रका प्रतिनिधिलाई आग्रह गरेका थिए।

‘तपाईहरु मातहत जति पनि व्यापारिक प्रतिष्ठान, संघ संस्था छन्, उनीहरु कसैले सामान लुकाएर नराखुन, कालोबजारी नहोस्,’ मुख्य सचिव रेग्मीले निजी क्षेत्रका प्रतिनिधलाई आग्रह गर्दै भने, ‘तपाइहरुले अहिलेको अवस्थामा मुख्य भूमिका खेल्दिनुस्।’

कोरोना भाइरसबाट जोगिन र फैलिहालेमा त्यसपछिको अवस्थालाई सहज बनाउने दायित्व हुने बताउँदै सरकारलाई सक्दो सहयोग गर्ने बाचा दिएको मल्होत्राले बताए।

सरकारले भइपरी आउने जोखिमलाई न्यूनीकरण गर्न सरोकारवालासँग एक दुई दिनको अन्तरमा छलफल गरिरहेने समेत मुख्य सचिवले जानकारी गराएका थिए।

उक्त वैठकमा बोल्दै मुख्य सचिवले सरकारले एक दुई दिन बिराएर गर्ने वैठकमा उपस्थित हुन निजी क्षेत्रका प्रतिनिधीलाई आग्रह समेत गरेका थिए।

‘तपाइहरुको भुूमिका ठूलो छ,’ मुख्य सचिवले भने, ‘हरेक बैठकमा तपाइहरु आफै उपस्थित हुनुहोला।’

साथै, उनले अहिलेको अवस्थामा सबै एकढिक्का भएर अगाडी बढ्न र कसैले पनि व्यापारी वा सरकारी मान्छे भनेर नसाँेच्न समेत आग्रह गरेका थिए।

बैठकमा बोल्दै अर्थ सचिव शिशिरकुमार ढुंगानाले कोरोना भाइरसका कारण व्यवसायमा ठूलो क्षति पुगेको बताए।

उनले व्यवसायीलाई व्याज कसरी तिर्ने भन्ने समस्या हुनसक्छ भन्नेतर्फ इंगित गर्दै त्यो समस्यालाई बैंकसँग कसरी समझदारी गरेर समाधान गर्न सकिन्छ भन्ने बारेमा सरकारले पहल गर्ने बताएका थिए।

वैठकमा बोल्दै मल्होत्राले त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको स्क्रिनिङलाई अझ व्यवस्थित गर्न आग्रह गरेका थिए।

मल्होत्राले गृह सचिव र स्वास्थ्य सचिवलाई अन्तर्राष्ट्रिय विमानस्थलमा भारतले जस्तो स्वास्थ्य परीक्षण विधि अपनाउन आग्रह गरेको नेपालखबरलाई बताए।

उनका अनुसार भारतले आफ्नो देशमा आउने विदेशीलाई हेल्थ डेस्कमा स्क्रिनिङ गरेपछि उसको बोर्डिङ पासमा एउटा छाप लगाउँछ। उक्त छाप भएको व्यक्तिमात्र बाहिर निस्कन पाउने नियम लागु गरेको छ। त्यस्तै नियम नेपालमा पनि गर्नुपर्ने उनको आग्रह थियो।

साथै अहिले सामाजिक सञ्जालमा त्रासका मात्र कुरा आइरहेकाले त्यसलाई चिर्न सरकारले विशेष पहल गर्न अनुरोध गरेको मल्होत्राले बताए।

‘सर्वसाधारणलाई कारोना भाइरससँग धेरै नआत्तिन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयले अभियानका रुपमा सञ्चार माध्यमबाट प्रचार गनुपर्छ भन्ने सुझाब दिएको छु,’ मल्होत्राले भने।

निजी क्षेत्रले खाद्यान्न, पेट्रोल लगायतका सामान तीन महिनालाई स्टकमा रहेको जानकारी समेत गराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .