ad ad

कारोबार


‘मास आईटी आउटेज’ : विश्वभर हजारभन्दा बढी उडान रद्द, क्राउडस्ट्राइकले गुमायो १६ अर्ब डलर

‘मास आईटी आउटेज’ : विश्वभर हजारभन्दा बढी उडान रद्द, क्राउडस्ट्राइकले गुमायो १६ अर्ब डलर

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १६:२३, काठमाडौँ

‘मास आईटी आउटेज’को असर विश्वभर परेको छ। हवाइ सेवा, हस्पिटल, रेलसेवा, बैंक तथा वित्तीय संस्थाहरुको सेवामा प्रविधिगत निष्क्रियताको तीव्र असर परेको हो। 

शुक्रबार बिहानै विभिन्न देशमा यो समस्या देखिएको थियो। बैंक तथा वित्तीय संस्थामा साइबर सुरक्षा सेवा प्रदान गर्ने कम्पनी क्राउडस्ट्राइकले आफ्नो विन्डोजको एक अपडेटमा समस्या देखिएको जनाएको छ। समस्याको पहिचान भएको र त्यसलाई अलग्गै राखी समाधानको प्रयास भइरहेको कम्पनीले उल्लेख गरेको छ। 

विशेषगरी माइक्रोसफ्ट ३६५ पीसी अपरेटिङ सिस्टममा बढी समस्या देखिएको थियो। योसँगै अमेरिका, अस्ट्रेलिया, बेलायत, जर्मनी लगायतका देशहरुमा उडान सेवा नै स्थगित गर्नुपरेको एजेन्सीहरुले जनाएका छन्। 

सेवामा अवरोधसँगै क्राउडस्ट्राइक कम्पनी स्वयंले एकै दिन १६ अर्ब डलरबराबरको नोक्सानी व्यहोर्नुपरेको छ। कम्पनीको अनअफिसियल ट्रेडिङमा २० प्रतिशत बढीले सेयर घट्दा उक्त नोक्सानी व्यहोर्नुपरेको बीबीसीले उल्लेख गरेको छ। कतिपय देशका सञ्चारमाध्यम नै अफलाइन हुनपुगेको बताइएको छ। 

मास आईटी आउटेजलाई सन् २०१७ यताकै ठूलो आईटी समस्याका रुपमा लिइएको छ। एजेन्सीहरुका अनुसार २०१७ मेमा वानाक्राई साइबर आक्रमण भएयताकै यो खराब अवस्था हो। 

क्राउडस्ट्राइकले विश्वमा देखिएको यो समस्या समाधान गर्न सक्रिय भएर लागेको उल्लेख गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत जर्ज कुर्ट्जले प्रभावित ग्राहकसँग मिलेर समस्या समाधानमा लागिरहेको उल्लेख गरेका छन्। 

यता माइक्रोसफ्टले यो समस्या थर्ड पार्टी सफ्टवेयरसँग सम्बन्धित रहेको उल्लेख गरेको छ। कम्पनीका प्रवक्ताले बीबीसीसँग भनेका छन्, ‘विन्डोज डिभाइसहरुमा समस्या देखिएकोबारे जानकार छौँ। योचाहिँ एक थर्डपार्र्टी सफ्टवेयर प्लेटफर्मबाट अपडेटका कारण यस्तो हुनगएको हो। चाँडै समाधान हुनेमा ढुक्क छौँ।’

‘मास आईटी आउटेज’को समस्या नेपालमा पनि देखिएको छ। नेपालमा पनि माइक्रोसफ्ट ब्राउजर प्रयोग गर्ने बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, भुक्तानी सेवा प्रदायकलगायतलाई असर गरेको हो। 

नेपालमा ब्राउज स्ट्राइक नामक एन्टिभाइरस प्रयोग गरिरहेका बैंक तथा वित्तीय संस्था र नेपाल क्लियरिङ हाउस (एनसीएचएलमा पनि समस्या देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .