ad ad

कारोबार


खानेपानीमन्त्री यादवसँग एडीबीका ‘कन्ट्री डाइरेक्टर’ले भने : मेलम्चीको पुनर्निर्माणमा सहयोग गर्छौं

खानेपानीमन्त्री यादवसँग एडीबीका ‘कन्ट्री डाइरेक्टर’ले भने : मेलम्चीको पुनर्निर्माणमा सहयोग गर्छौं

नेपालखबर
साउन २, २०८१ बुधबार १६:३९, काठमाडौँ

खानेपानीमन्त्री प्रदीव यादव तथा नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच शिष्टाचार भेटघाट भएको छ।

बुधबार मन्त्रालयमा भएको उक्त भेटवार्ताका क्रममा एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालमा एडीबीले गर्दै आएका काम कारबाहीबारे चर्चा गरेका थिए।

भेटघाटका क्रममा एडीबीको सहयोग र सहकार्यमा नेपालमा सञ्चालित विभिन्न खानेपानी सम्बन्धी कार्यक्रम तथा परियोजनाहरुको बारेमा छलफल भएको थियो।

यस्तै, मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र प्रगतिको विषयमा पनि छलफल भएको मन्त्री यावको सचिवालयले जनाएको छ।

सो क्रममा कन्ट्री डाइरेक्टर अर्नाउडले एडीबीले खानेपानीका क्षेत्रमा नेपालमा फेरिपनि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।

मेलम्ची खानेपानी विकास समिति र एडीबी धेरै लामो समयदेखि संयुक्त रुपमा सहकार्य गरेर खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेको अर्नाउडले बताए।

कन्ट्री डाइरेक्टर अर्नाउडले भने, ‘मेलम्चीमा बाढीका कारण भएको क्षतीलाई पूनर्निर्माण गर्नका लागि एडीबी सधैँ तयार रहेको छ, हामी फेरिपनि सहयोग गर्ने छौँ।’

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा २०२१ मा आएको बाढी पहिराले हेडवक्र्स पुरै बगाएर क्षती गरेकाले उक्त हेडवर्क्सलाई ठाउँ परिर्वतन गरी (केही माथी सारी) पानी वितरण सहज गर्ने कार्यका लागि आफूहरूले सहयोग गर्ने डाइरेक्टर अर्नाउडले बताए।

त्यसक्रममा नेपालका खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरुको सफल कार्यान्वयन र भविष्यमा एडीबीको थप सहयोगको सम्भावनाका बारेमा पनि विस्तृत छलफल गरिएको थियो।

मन्त्री यादवले नेपाल सरकार र एडीबीबीचको थप सहयोग र यस प्रकारको सहकार्यले खानेपानीको पहुँचलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

मन्त्री यादवले भने, ‘मन्त्रालय र एडीबीबाट भइरहेका काम कारबाहीका विषयमा जानकारी दिन दुवै ठाउँबाट प्रत्येक दिन कामका विषयमा तयारी गरिएको रिपोर्ट पेश गर्नुपर्ने आवश्यक छ, हामी प्रत्येक दिन केके काम गरियो, केके गर्ने छौँ भन्ने योजना बनाएर अगाडि बढ्नु जरुरी छ।’

सो क्रममा मन्त्री यादवले याङ्ग्री र लार्केको पानी काठमाडौँमा ल्याउनका लागि सञ्चालन भएको परियोजनालाई आफ्नै कार्यकालमा सफल पर्ने प्रयास गर्ने बताए।

मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको अर्थमन्त्रालयमा रोकिएको फाइल अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्रीसँग सल्लाह गर्ने बताए।

मेलम्ची खानेपानी आयोजनाको पानी १२ महिना काठमाडौं ल्याउनका लागि युद्धस्तरमा काम गर्न मन्त्रालयका सचिव, कर्मचारी र आयोजना प्रमुखहरूलाई निर्देशन दिएको मन्त्री यादवले जानकारी दिए।

एडीबीले नेपालमा खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरू प्रसंसनीय भएका भन्दै मन्त्री यादवले धन्यवाद समेत व्यक्त गरेका थिए।

कन्ट्री डाइरेक्टर अर्नाउड सहित एडीबीको प्रतिनिधि टोली आज मन्त्रालयमा शिष्टाचार भेटघाटका लागि आइपुगेको थियो।

एडीबीले खानेपानी मन्त्रालय सहित अन्य विभिन्न मन्त्रालयसँगको सहकार्यमा विगत २० वर्षदेखि नेपालमा विभिन्न विकासका क्षेत्रमा काम गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .