ad ad

कारोबार


रिलायन्स स्पिनिङ मिल्स आईपीओ : उजुरीपछि सीआईबीले पठायो धितोपत्र बोर्डमा पत्र

रिलायन्स स्पिनिङ मिल्स आईपीओ : उजुरीपछि सीआईबीले पठायो धितोपत्र बोर्डमा पत्र

नेपालखबर
असार ३१, २०८१ सोमबार १७:३९, काठमाडौँ

प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को अन्तिम चरणमा पुगेर रोक्का भएको रिलायन्स स्पिनिङ्स मिल्सविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पनि उजुरी परेको छ। 

अनुसन्धानका लागि उजुरी परेपछि थप अनुसन्धान गर्न सीआईबीले नेपाल धितोपत्र बोर्डलाई पत्र पठाएको हो। 

बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. नवराज अधिकारीले सीआईबीबाट अनुसन्धानका लागि पत्र आएको पुष्टि गरे। 

‘उजुरी परेपछि सीआईबीले पत्र पठाएको हो’, उनले भने।

यसअघि नै बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशनको अन्तिम चरणमा रहेको सो कम्पनीविरुद्ध नेपाल धितोपत्र बोर्डमा लगानीकर्ताले उजुरी दिएका थिए। 

तथ्यांकमा छेडखानी गरेर अस्वाभाविक मूल्यमा आईपीओ निष्काशन गरेको भन्दै बोर्डको तीव्र आलोचना भएको थियो। सार्वजनिक लेखा समितिले समेत कम्पनीको आईपीओ अनुमतिलाई लिएर प्रश्न उठाएपछि बोर्डले अनुसन्धानका लागि भन्दै तत्काल आईपीओ निष्काशनको काम रोकेको छ। 

यद्यपि कम्पनीविरुद्ध सीआईबीमा उजुरी परेपछि अब त्यसको अनुसन्धान सीआईबीबाट पनि हुने भएको छ। 

सार्वजनिक लेखा समितिले कम्पनी र आईपीओ निष्काशनको अनुमति दिने धितोपत्र बोर्डसँग प्रस्टीकरण मागेपछि आईपीओ निष्काशन रोकिएको थियो। अनुसन्धानका लागि भन्दै बोर्डले असार २६ गते आईपीओ निष्कासन रोकेको हो। 

कम्पनीले असार २७ गतेबाट कुल निष्काशन गर्ने सेयरको १०.१४ प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्काशन गर्नेवाला थियो। तर अघिल्लो दिन नै बोर्डले निष्काशन रोकेको थियो। 

कम्पनीले जारी पुँजी एक अर्ब ९० करोडको १०.१४ प्रतिशत अर्थात् उन्नाइस करोड २६ लाख ६० हजार रुपैयाँबराबरको १९ लाख २६ हजार ६०० कित्तामध्ये ११ लाख ५५ हजार नौ सय ६० कित्ता सर्वसाधारणमा निष्काशन गर्ने तयारी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .