ad ad

कारोबार


रोल्पामा लगानी सम्मेलनः कृषि, जलविद्युत र उद्योगमा लगानीको प्रतिबद्धता

रोल्पामा लगानी सम्मेलनः कृषि, जलविद्युत र उद्योगमा लगानीको प्रतिबद्धता

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १४:४४,

११ बुँदे संयुक्त घोषणपत्र जारी गर्दै लगानी रोल्पा लगानी सम्मेलन सम्पन्न भएको छ।

प्रतिनिधिसभामा रोल्पाबाट प्रतिनिधित्व गर्ने ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अग्रसरतामा भएको सम्मेलनबाट कृषि, उद्योग, पर्यटन तथा जलविद्युत लगायत क्षेत्रमा लगानीका लागि छुट्टछुट्टै सहमति तथा घोषणामा हस्ताक्षर भएका छन्। सबै सहमति मन्त्री पुनकै उपस्थितिमा भएको हो।

खेतबारीमै पुग्ने भयो गोल्यान समूह
गोल्यान समूहले रोल्पामा उत्पादित जडिबुटी, बिउबिजन, आलुलगायतका कृषि उपज, अल्लो र रेशम किसानका खेतबारीबाटै खरिद गरी बजारसम्म पुर्‍याउने भएको छ। साथै ती वस्तु उत्पादन गरिरहेका किसानमाथि आर्थिक लगानीसमेत गर्ने प्रतिबद्धता सो समूहले जनाएको छ। लगानी सम्मेलनको दोश्रो तथा अन्तिम दिन बिहीबार गोल्यान समूहका अध्यक्ष तथा वैदेशिक निर्यात प्रर्वद्धक संघका अध्यक्ष पवन गोल्यानले उक्त घोषणा गरेका हुन्। आफ्नो घोषणाले उत्पादित बस्तु बजारसम्म पुर्‍याउन नसक्दा निराश भएका किसान उत्साहित हुने विश्वास उनले गरे।

नेपाल बैंकको कृषिमा सहुलियत कर्जा
लगानी सम्मेलनमा नेपाल बैंक लिमिटेडले कृषि, जडिबुटी र पर्यटन क्षेत्रमा लगानी गर्ने प्रतिबद्धतासहित सम्झौता गरेको छ। त्यसका लागि नेपाल बैंक लिमिटेड र रोल्पा नगरपालिका तथा नेपाल बैंक लिमिटेड र माडी गाउँपालिकाबीच दुई छुट्टाछुट्टै सहमतिमा हस्ताक्षर भयो। पासाङ दोर्जे शेर्पा प्रखुख प्रादेशिक कार्यालय प्रदेश–५। माडीका नन्दबहादुर पुनबीच हस्षरत सम्झौताअनुसार बैंकले पालिकासँगको समन्वयमा कृषि, जडिबुटी र पर्यटन क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने छ।

दुई मेगावाटको जलविद्युत आयोजना
लगानी सम्मेलनकै क्रममा दुई मेगावाटको धाङसीखोला जलविद्युत आयोजना निर्माण गर्ने सहमतिपत्रमा पनि हस्ताक्षर भयो। उक्त जलविद्युत आयोजना रोल्पा नगरपालिका र उद्योग बाणिज्य संघ रोल्पाले मिलेर बनाउने भएका हुन्।

सहमतिपत्रमा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, उद्योग बाणिज्य संघका अध्यक्ष विश्व चन्द र धाङसीखोला आयोजनाका कार्यकारी अध्यक्ष कृष्णप्रसाद देवकोटाले हस्ताक्षर गरे।
लिवाङ नगरपालिकाको २, ४, ९ तथा १० नम्बर वडामा निर्माण हुने उक्त आयोजनामा एनएमबी बैंकसँग नगरपालिका र संघले आर्थिक लगानीसम्बन्धी छुट्टै सम्झौता समेत गरेका छन्। दुई वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको नगरप्रमुख केसीले जानकारी दिए। उनका अनुसार आयोजनामा इच्छुक स्थानीय बासिन्दको समेत लगानी रहेछ।

रोल्पा सिमेन्टले उत्पादन बढाउने
रोल्पाको घर्ती गाउँमा रहेको रोल्पा सिमेन्ट प्रा.लि.ले आफ्नो उत्पादनमा उच्च वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ। सम्मेलनमा रोल्पा सिमेन्ट प्रा.लि. का अध्यक्ष अरुण कर्णले आफ्नो दैनिक उत्पादन ४० हजार बोरा पुर्‍याउने घोषणा गरे। हाल रोल्पा सिमेन्टले दैनिक ८ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ। यस्तै सिमेन्टले रोल्पालीलाई रोजगारीमा प्राथमिकता दिने तथा जिल्लाबासीका लागि साधारण सेयर जारी गर्ने भएको छ।

सदरमुकाम लिवाङमा नमुना कृषि फर्म
रोल्पा नगरपालिका, उद्योग बाणिज्य संघ रोल्पा र हरियाली कृषि अभियान म्याग्दीबीच सदरमुकाम लिवाङमा एकीकृत कृषि फर्म स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। एक सय रोपनी जमिनमा नमुना कृषि फर्म स्थापना गर्ने सहमतिमा उल्लेख छ। फर्मले मौसमी तथा बेमौसमी तरकारी, माछा, कुखुरा तथा पशुपालन गर्नेछ। सहमतिपत्रमा नगर प्रमुख पूर्ण केसी, उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष विश्व चन्द हरियाली अभियानका अध्यक्ष राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले हस्ताक्षर गरे।

जलविद्युतमा सेयर
१५६ मेगावाटको माडीखोला जलासययुक्त आयोजनाले जिल्लाबासीका लागि साधारण सेयर जारी गर्ने भएको छ। कार्यक्रममा आयोजनाका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले रोल्पालीका लागि न्यूनतम शुल्कमा सेयरको घोषणा गर्ने जानकारी दिए।

रोल्पा हिजो युद्धको केन्द्र, आज लगानीको केन्द्र
सम्मेलनमा उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले रोल्पा विगतमा १० वर्षे जनयुद्धको केन्द्र रहेको चर्चा गर्दै पछिल्लो १२ वर्ष शान्तिको केन्द्र बनेको र अब उत्पादन र व्यवसायको केन्द्र बनाइने घोषणा गरे। ‘हिजो रोल्पा जनयुद्धको केन्द्र थियो। बीचमा १२ वर्षजति शान्तिको केन्द्र बन्यो’, मन्त्री पुनले भने, ‘अब हामी रोल्पालाई उत्पादन र व्यवसायको केन्द्र बनाउँछौ।’ मन्त्री पुनले कृषि, जडिबुटी, खानी र पर्यटनमा लगानी गर्नका लागि रोल्पा आउन देशभरका लगानी कर्तालाई अपिल गरे।

उनले लगानीको सुरक्षा र व्यवसाय प्रवद्र्धनमा राजनीतिक नेतृत्वको तर्फबाट हर प्रकारको सहयोग र सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाए। सम्मेलनमा ऊर्जामन्त्री पुनका साथै पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य ओनसरी घर्ती, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती, प्रदेश–५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश–५ का प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुन, जिल्लाका सबै स्थानीय तहका प्रमुख/उपप्रमुख लगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .