कारोबार


हिमालय क्षेत्रको संरक्षणसम्बन्धी सम्मेलन काठमाडौंमा, दुई सय विदेशी उपस्थित हुँदै

हिमालय क्षेत्रको संरक्षणसम्बन्धी सम्मेलन काठमाडौंमा, दुई सय विदेशी उपस्थित हुँदै

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ११:२७,

आगामी जेठ १९ देखि पाँचौँ ‘सस्टेनेबल समिट कन्फरेन्स २०२०’ काठमाडौंमा हुने भएको छ।

हिमालय क्षेत्रमा बढ्दै गएको फोहोर, पर्वतारोहीहरूको बढ्दो चाप र अन्य कारणहरूले यस क्षेत्रको वातावरणमा परेको प्रभावका दीर्घकालीन समाधानबारे बहसका लागि यो समिटको आयोजना गर्न लागिएको हो।

नेपाल पर्यटन बोर्डका सीइओ डा. धनञ्जय रेग्मीले हिमालमा धेरै समस्या भएको र त्यसलाई समाधान गर्न समिटले सहयोग गर्ने दाबी गरेका छन्।

‘हिमाल अहिलेको पुस्ताको लागि मात्रै होइन। भोलिको पुस्ताका लागि हिमाल बचाउनु आवश्यक छ’, सीइओ रेग्मीले भने, ‘हिमाल मानवको कारणले जोखिममा पर्दै गएको छ। त्यसको वास्तविक समाधानको लागि यो समिटले सहयोग पुग्ने विश्वास लिएको छु।’

यो समिट नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० सचिवालयको संयुक्त आयोजनामा हुँदै छ।

‘२० लाख पर्यटक ल्याउने लक्ष्य लिएर भम्रण वर्ष मनाइरहेका छौँ, त्यसमा यो समिटले सहयोग गर्छ’, नेपाल भम्रण वर्ष २०२० का संयोजक सुरज वैद्यले भने, ‘२० लाखभन्दा बढी पर्यटक ल्याउन हिमाललाई बचाउनुपर्छ।’

हिमाली क्षेत्रबाट स्थानीय जनताले कुनै लाभ लिन नसकेको भन्दै हिमाली क्षेत्र जोगाउँदै त्यसबाट फाइदा लिनुपर्ने बताए।

सस्टेनेबल समिट कन्फरेन्स २०१२ मा पहिलो र दाेस्राे अमेरिकामा, तेस्रो न्युजिल्याण्ड र चौथो समिट फ्रान्सको सामुनिक्समा गरिएको थियो।

उक्त समिटमा नेपालबाट दावा स्टेफेन शेर्पा, डा. निमा शेर्पा र लिसा चोग्यालको सक्रिय सहभागिता रहेको थियो। यसअघिका समिटमा नेपालको हिमालय क्षेत्रमा देखिएका समस्याबारे कार्यपत्र प्रस्तुत गरी हिमालय क्षेत्रको वातावरणबारे बहस भएको दावा स्टेफेन शेर्पाले बताए।

यस कार्यक्रममा न्युजिल्याण्डका पूर्वप्रधानमन्त्री तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी) का पूर्वप्रशासक हेलेन क्लर्कले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै विश्वविख्यात पर्वतारोही सर क्रिस बोनिनटन, रेनहोल्ड मेसनर र टेलिभिजन एडभेन्चर बेन फोगलको पनि सम्बोधन रहने बताइएको छ।

चारवटा मख्य शीर्षकमा विभाजन गरिने यो कार्यक्रममा २ सयभन्दा धेरै विदेशी सहभागी हुनेछन् ।

कार्यक्रमबाट नेपाललाई हिमालय क्षेत्रको वातावरणबारे विश्वमा विकास भएका राम्रा अभ्यासबाट पाठ सिक्ने र सो अनरूप नीतिमा परिवर्तन ल्याउन सहयोग पुग्ने तथा नेपाल भ्रमण वर्ष २०२० लाई सघाउँदै नेपालको ७० वर्षको पर्वतीय पर्यटनको अनुभव पनि विश्वलाई सुनाउने अवसर प्राप्त हुने आयोजकको दाबी रहेको छ ।

कार्यक्रमको सहआयोजकमा इसिमोड, यूएनडीपी, विश्व वन्यजन्तु कार्यक्रम पेजल फाउन्डेसन लगायतका संस्थाहरु रहेका छन्। स्थानीय आयोजकका रूपमा क्लाइमेट एलाइन्स अफ हिमालयन कम्युनिटिज रहेको छ। सम्मेलन पाँच दिनसम्म चल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad