ad ad

कारोबार


साढे २ अर्बको जानकी हेरिटेज होटलमा सोल्टी ग्रुप इच्छुक, लगानी बोर्डमा प्रस्ताव

सुविधासम्पन्न होटल, सांस्कृतिक गाउँ र संग्रहालय बनाउने
साढे २ अर्बको जानकी हेरिटेज होटलमा सोल्टी ग्रुप इच्छुक, लगानी बोर्डमा प्रस्ताव

वसन्त अर्याल
असार १९, २०८१ बुधबार १७:१५, काठमाडौँ

जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेजमा सोल्टी होटल ग्रुपले लगानी गर्ने प्रस्ताव गरेको छ।

लगानी सम्मेलनमा आशयपत्र माग गरिएको जनकपुरको निर्माण प्रस्तावित होटलमा लगानी गर्ने प्रस्ताव गरेको हो।

यो आयोजनालाई लगानी बोर्डले गत वैशाखमा भएको लगानी सम्मेलनमा सोकेस गरेको थियो। चार वर्षअघिको लगानी सम्मेलनमा पनि यो आयोजना सोकेस भएको थियो। 

इच्छुक लगानीकर्ताबाट आशयपत्र माग गरिएकोमा सोल्टी ग्रुपले मात्रै इच्छा देखाएको हो। वैशाख १६ र १७ गते काठमाडौंकै सोल्टी होटलमा लगानी सम्मेलन भएको थियो। लगानी सम्मेलनकै दिन लगानी बोर्डले १२ वटा परियोजनाको आशयपत्र माग गरेको थियो। जसमा ८ वटा आयोजनाको आवेदन दिने अन्तिम दिन मंगलबारसम्म थियो।

लगानी सम्मेलनको अवधिमा २० वटा परियोजनाको आशयपत्र माग गरिएकोमा १२ वटा लगानी बोर्डले हेर्ने परियोजना रहेका थिए। 

‘लगानी बोर्डले १२ वटा आयोजनामा आशयपत्र माग गरेको थियो’, लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले भने, ‘जसमा ८ परियोजनाको म्याद मंगलबारसम्म रहेको थियो। २ वटा परियोजनामा प्रस्ताव आएको छ।’

जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेजमा लगानी गर्नको लागि सोल्टी ग्रुपले प्रस्ताव गरेको लगानी बोर्डले जनाएको छ। 

साढे २ अर्ब बढी लगानी गर्दै सोल्टी ग्रुप
काठमाडौंको ताहाचलमा होटल सोल्टी २०२२ मा स्थापना भएको थियो। अहिले काठमाडौंबाहिर सोल्टीले आफ्नो लगानी विस्तार गरेको छ। जानकी हेरिटेजको लागत अनुमान २ अर्ब ५३ करोड रुपैयाँ छ। 

सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले जानकी हेरिटेज होटलको अवधारणामा इच्छुक रहेको बताए। 

‘जानकी हेरिटेज होटलको अवधारणामा हामी इच्छुक छौँ भने प्रस्ताव गरेका छौँ’, उनले भने, ‘लगानी बोर्डले जग्गा मात्र उपलब्ध गराउने हो वा लगानीको लागि अन्य सहजीकरण पनि गर्छ भन्ने विषयमा अर्को चरणमा छलफल हुन्छ।’

अहिले जनकपुरमै सोल्टी होटल ग्रुपले ३१ कोठासहितको ‘मिथिला यात्री’ होटल सञ्चालन गरिरहेको छ। 

‘हामीले मिथिला यात्री सञ्चालन गरेको डेढ वर्ष भयो, त्यही कन्फिडेन्सले यो होटल पनि सञ्चालन गर्न सक्छौँ भन्ने लागेको छ’, उनले थपे।

सोल्टी होटलमा आईएचजी ग्रुपले क्राउन प्लाजाको नामबाट व्यवस्थापन गर्दै आएको थियो। व्यवस्थापनबाट आईएचजी ग्रुप बाहिरिएसँगै ‘द सोल्टी काठमाडौं’मा ब्रान्डिङ गरिरहेको छ। सोल्टीले अब आफ्नै व्यवस्थापनमा सबै होटल सञ्चालन गर्ने योजनामा छ। 

सोल्टी वेस्टर्न ब्रान्डमा इटहरी, चितवन, धनगढी, लुम्बिनी, वीरगन्ज, पोखरामा तारे होटलको व्यवस्थापन गर्दै छ। 

३.३ हेक्टर क्षेत्रमा होटल निर्माणको प्रस्ताव
जनकपुरधाममै ३.३ हेक्टर क्षेत्रफलमा होटल निर्माण गर्ने प्रस्ताव गरिएको छ। जनकपुर विमानस्थलबाट १.६ किलोमिटरको दूरीमा होटल निर्माण हुने छ। होटलमा १५० वटा कोठा हुनेछ। 

बोर्डले जनकपुरधामलाई मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तथा त्यस क्षेत्रलाई पर्यापर्यटनका रूपमा विस्तार गर्न यो परियोजना निर्माणको प्रस्ताव गरिएको छ। यसमा सुविधासम्पन्न होटल, सांस्कृतिक गाउँको विकास र संग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको छ। 

क्षेत्रको सम्पदा, संस्कृति र परम्परा प्रदर्शन हुनुका साथै पर्यटकीय विकासको माध्यम बन्न सकिने अपेक्षा गरिएको छ। परियोजनाको मुख्य लक्ष्य भारतीय पर्यटकलाई आकर्षित गर्नु रहेको छ। 

नेपाल र भारतबीचको धार्मिक सम्बन्धको फाइदा उठाउँदै पर्यटक भित्र्याउन सकिने योजनामा बोर्डले होटल निर्माणको सम्भावना देखाएको छ।

हिन्दूहरुकी आराध्यादेवी सीताको जन्मस्थल भएकाले वैवाहिक गन्तव्य बनाउन सकिने आकलन छ। त्यसको लागि ब्यान्क्वेट हल हुनेछ। 

होटलमा परम्परागत आर्किटेक्चर, विवाहको गन्तव्य स्टेट अफ आर्ट,  विलासी आवास, संस्कृतिक नाचगान र भ्रमणसहितको अनुभव गराउने सोच छ। होटलमा बस्दा सांस्कृतिक गाउँको अनुभव, जनजातिहरुको पहिचान झल्किने म्युजियम राखिनेछ। 

२ अर्ब ५३ करोड रुपैयाँ लगानीमध्ये ६१ प्रतिशत ऋण र ३९ प्रतिशत इक्विटी (स्वपुँजी) बाट लगानी गर्न सकिने बोर्डले देखाएको छ।  

सार्वजनिक निजी साझेदारीको मोडलमा होटल निर्माण गर्ने बोर्डको प्रस्ताव छ। सोल्टी ग्रुप लगानी गर्न इच्छुक भए निर्माण, सञ्चालन र हस्तान्तरण गर्ने छ। सरकारले जग्गा उपलब्ध गराएको ३० वर्षपछि सरकारलाई बुझाउनुपर्नेछ। 

लगानी बोर्डले २०२३ मा पूर्वसम्भाव्यता अध्ययन गरेको थियो। 

८ मध्ये ६ आयोजनामा आवेदन नै परेन
बोर्डले १६ वैशाखमा १२ वटा आयोजनाको लागि आशयपत्र माग गरेको थियो। जसमा ८ वटा आयोजनाको आशयपत्र बुझाउन जेठ २० गतेसम्म र ४ वटा आयोजनाको जेठ ३० गतेसम्मको समय दिइएको थियो।

लगानी बोर्डले जेठ १९ गते नै १२ वटै आयोजनाको १ महिनाको लागि म्याद थप गरेको थियो। 

‘८ वटा आयोजनाको आशयपत्र माग गरिएको म्याद सकिँदा ६ वटा परियोजनामा आवेदन नै परेन’, अधिकारीले भने।

बोर्डले आशयपत्र माग गरिएका आयोजनामा पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वे, जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेज प्रोजेक्ट जनकपुर, धुलिखेल मेडिसिटी प्रोजेक्ट, सुदूरपश्चिम सार्वजनिक यातायात प्रोजेक्ट छन्। 

त्यस्तै, बबरमहल प्रशासनिक भवनको निर्माण, दैजी औद्योगिक पार्क र गौतमबुद्ध मेटरनिटी हस्पिटलको म्याद सकिएको छ। तर अधिकांश आयोजनामा लगानीकर्ता इच्छुक नै देखिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .