कारोबार


प्रदेशको समर्थन र श्रेष्ठको आगमनले वरिष्ठ उपाध्यक्षमा ढकालको पल्लाभारी

 प्रदेशको समर्थन र श्रेष्ठको आगमनले वरिष्ठ उपाध्यक्षमा ढकालको पल्लाभारी

दीपक भट्ट
फागुन १४, २०७६ बुधबार ११:३६,

आगामी चैतमा हुनलागेको नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका व्यवसायी चन्द्र ढकालले जिल्ला तथा नगरको भरपूर साथ पाएका छन्।

बुधबार विशेष सभा नै आयोजना गरी उम्मेदवारी घोषणा गरेका ढकाललाई पाँचवटा प्रदेशका अध्यक्षले उपस्थित नै भएर समर्थन गरेपछि उनको दाबेदारी बलियो देखिएको हो।

उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकरबहादुर बोगटी र कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले उनलाई भोट दिने निर्णय नै गरिसकेको बताए। त्यस्तै, गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोइराला, ५ नं प्रदेशका अध्यक्ष गुणनिधि तिवारी र १ नं प्रदेशका अध्यक्ष नरेन्द्र कुमार खड्काले पनि उनलाई समर्थन गर्ने घोषणा गरे।

chandra dhakal ummedwari 2
उम्मेदवारी घाेषणासभामा ढकाल।

प्रदेशको यस्तो घोषणाले जिल्ला नगरको माहोल उनीतर्फ मोडिएजस्तो देखिएको छ।

प्रदेशको यो निर्णय महासंघको निर्वाचनको लागि महत्वपूर्ण हुने निश्चित छ। किनकि महासंघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको मतभार नै ५० प्रतिशत हुन्छ। यस्तै, एसोसिएटको मतभार ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत रहन्छ।

अर्को प्यानल भनिएका श्रेष्ठ समेत उपस्थित
यसैबीच, अर्को प्यानल भनिएका दिनेश श्रेष्ठ पनि कार्यक्रममा उपस्थित भएपछि ढकालतर्फको माहोल बेग्लै देखिएको छ।

चैतमा हुने सभाले नयाँ कार्यसमिति चयन गर्ने भएकाले व्यवसायीहरुलाई चुनावी सरगर्मीले छोइसकेको छ। यसअघि नै किशोर प्रधानले विराटनगरबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन्। उक्त घोषणासँगै दिनेश श्रेष्ठ जिल्ला नगरको उपाध्यक्ष र अन्जन श्रेष्ठ वस्तुगत उपाध्यक्ष रहने गरी प्यानल समेत निर्णय भएको सन्देश आएको थियो।

तर यो प्यानललाई वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले बुधबार चिर्ने कोशिस गरे। श्रेष्ठ उनको सभामा उपस्थित हुनुलाई यसैको संकेतका रुपमा हेरिएको छ। ढकालको सभामा श्रेष्ठले आगामी महासंघमा एकता आवश्यक रहेको र महासंघको लागि योग्य व्यक्ति ढकाल नै रहेको बताउँदै शुभकामना व्यक्त गरे। यसले पनि महत्वपूर्ण अर्थ राख्छ।

chandra dhakal ummedwari 4
वरिष्ठ उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका ढकाल। 

तर अन्जन श्रेष्ठ भने ढकालको उम्मेदवारी घोषणासभामा उपस्थित भएनन्। महासंघको केन्द्रीय सदस्य रहेका श्रेष्ठ यो वर्ष वस्तुगत उपाध्यक्षमा उठ्ने योजनामा छन्। सोहीअनुसार उनी प्रधानको उम्मेदवारी सभामा सहभागी भएका थिए।

अन्जन प्रधानसँग, उमेश ढकालसँग
अन्जन प्रधानसँग देखिएपछि हाल वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठचाहिँ ढकाल खेमामा आएका छन्। यता वस्तुगत उपाध्यक्षकै उम्मेदवारको रुपमा अघि बढेका कारण अन्जन ढकाल प्यानलमा आउन नसक्ने स्थितिमा पुगेका हुन्।

एसोसिएट उपाध्यक्षको अर्को रोचक पक्ष
एसोसिएटतर्फ सौरभ ज्योतिले उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। तर उनले आफू कुन पक्षमा रहेको भन्ने अहिलेसम्म निर्णय गरेका छैनन्। प्रधान र ढकालको उम्मेदवारी घोषणासभामा उनी देखिएनन्। तर प्रधान पक्षले उनलाई आफ्नो टिममा समेत राखिसकेको छ। ढकाल पक्ष भने उनीबारे ‘पर्ख र हेर’को अवस्थामा छ।

अर्कोतर्फ महासंघका पूर्वकोषाध्यक्ष शशिकान्त अग्रवाल, मारवाडी समूह समेतले शाहिल अग्रवाललाई एसोसिएट उपाध्यक्ष बनाउन चाहेका छन्। सोहीअनुसार ढकालको सभामा शशिकान्त अग्रवालको तडकभडक पनि राम्रै देखिएको थियो। ढकाल छेउमा बसेका उनले सभाभरि साथ छोडेनन्।

chandra dhakal ummedwari 5
व्यवसायीकाे माझमा चन्द्र ढकाल।

शाहिल पनि एक छिन उपस्थित भएर बाहिरिए।

प्रधानको उम्मेदवारी घोषणापछि ढकालले आफ्नो टिमको रुपरेखा पनि आँकलन गरिसकेका थिए। तर त्यो टिममा शाहिल अग्रवालको नाम थिएन।

ढकालले एसोसिएट उपाध्यक्षमा सुनचाँदी व्यवसायी ज्योत्सना श्रेष्ठलाई अगाडि बढाउन चाहेका थिए। अब एसोसिएट उपाध्यक्षको लागि भने केही अन्योल नै देखिएको छ। यसको निर्णय अध्यक्ष निश्चित भएका शेखर गोल्छालाई गराएर अगाडि बढ्नेतर्फ ढकाल देखिएका छन। यसले शेखर गोल्छाको साथ समेत प्रधानबाट आफूतर्फ तान्न लागेको आँकलन छ।

ढकालले गरे गोल्छाको प्रशंसा
आजको सभामा ढकालले आगामी ३ वर्षका लागि एउटा डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका बताए।

shekhar 222
शेखर गाेल्छा।

‘उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशील टिम बन्नेछ’, ढकालले उम्मेदवारी घोषणा गर्दै भने, ‘यो टिम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग नीतिगत संवादको क्षेत्रमा सरोवारवाला र साझेदारहरुसँग साझेदारी गर्नका लागि हो।’

ढकालले एक र एक जोडेर दुई होइन, एक र एक जोडेर ११ बनाउने दाबी समेत गरे। आफू आगामी तीन वर्षको लागि वरिष्ठ उपाध्यक्ष रहन चाहेको बताए। यो आफ्नो रहर मात्रै नभई सबै व्यवसायीहरुको चाहना र दबाबमा हुन लागेको समेत उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad