ad ad

समाज


जुम्लामा नयाँ शैक्षिक सत्र सुरु, विद्यार्थीले पाए पाठ्यपुस्तक

जुम्लामा नयाँ शैक्षिक सत्र सुरु, विद्यार्थीले पाए पाठ्यपुस्तक

नेपालखबर
फागुन १४, २०७६ बुधबार ११:४०,

जुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएपश्चात यहाँका विद्यार्थीले हातहातमा पाठ्यपुस्तक पाएका छन्। तिला गाउँपालिकास्थित राजेन्द्र स्टेसनरी र दीप कैलाश स्टेसनरीले सदरमुकामबाट समयमै पाठ्यपुस्तक खरीद गरी विद्यार्थीलाई वितरण गरेका हुन्। गाउँपालिकाले ती स्टेनसनरीलाई पाठ्यपुस्तक खरिदको जिम्मा दिएको थियो।

विद्यालयले विद्यार्थीको सही विवरण पठाएअनुसार किताब खरिद गरेकाले यहाँका विद्यार्थीलाई खाली हात कक्षामा जान बाध्य नभएको सीता माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पाण्डेले बताए। गाउँपालिकामा २७ सामुदायिक विद्यालयका पाँच हजार ५०० भन्दा बढी विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्न विद्यालयलाई गाउँपालिकाले समयमै रकम उपलब्ध गराएको थियो। नयाँ शैक्षिकसत्र भर्ना यही फागुन १० गते समाप्त भएको र अब पढाइ नियमित हुने पालिकाको शिक्षा युवा तथा खेलकूद शाखाका सहसंयोजक दीपेन्द्रराज हमालले बताए।

सदरमुकाममा रहेको चन्दननाथ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले किताब पसलबाट किताब खरिद आफैँ गर्छन् र विद्यालयले खरिद गरेको बिल पेश गरेपछि खरिद मूल्यअनुसार नगद भुक्तानी गर्दछ। यहाँका अरु पालिकाले पनि आफ्नो पालिकाभित्रका किताब पसल र सदरमुकाम खलंगामा गरेका किताब पसललाई विद्यालयको पाठ्यपुस्तक खरिदको जिम्मा दिएकाले विद्यार्थीले यो वर्ष समयमै पाठ्यपुस्तक पाएको पालिकाले जनाएको छ।

जिल्ला फर्कँदै शिक्षक

जुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएयता जिल्ला बाहिर गएका शिक्षक धमाधम जिल्ला फर्किँदैछन्। वार्षिक परीक्षापछि जाडो छल्न र जिल्ला बाहिरका शिक्षक बिदा मनाउन घर गएकाले आफ्नो कार्यस्थलमा फर्किएको कालिका निम्नमाध्यमिक विद्यालयका शिक्षक जयबहादुर बुढाले बताए।

सदरमुकाम क्षेत्रमा पर्ने केहीबाहेक अन्य सबै विद्यालयका शिक्षक गत मङ्सिर अन्तिम साता जिल्ला छाडेर गएकाले शैक्षिक सत्र शुरु भएपछि विद्यालय आएको तिला गाउँपालिका–१ को सीता मावि कक्षा ८ मा अध्यनरत छात्र हिमाल रावतले बताए।

तिला गाउँपालिकाको सीता, सरस्वती र देउराली माविलगायतका विद्यालयका शिक्षक विद्यालय आइपुगेको र केही शिक्षक आउन बाँकी रहेकाले विद्यालयमा नआएका शिक्षकलाई कानूनी कारवाही गरिने गाउँपालिका अध्यक्ष रतननाथ योगीले जानकारी दिए।

यहाँका आठवटै पालिकामा रहेका सबै विद्यालयले फागुन १० गतेसम्म नयाँ भर्ना समाप्त गरी नियमित पढाइ शुरु गरेका छन्। जाडो छल्न छुट्टी मनाउन घर गएका जिल्लाका ५० प्रतिशत शिक्षक फर्किएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी शिवशङ्कर चौलागाईंले बताए। विसं २०७५ को तथ्यांकअनुसार जुम्लामा मावि, निमावि र प्रावि गरी १७० विद्यालयमा दरबन्दी तथा राहत कोटा गरी ८०७ शिक्षक रहेको र त्यसमध्ये पाँच प्रतिशत शिक्षक जिल्ला नफर्किएको सूचना अधिकारी चौलागाईंले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .