ad ad

कारोबार


भरतपुर महानगरले देशकै ठूलो चार्जिङ स्टेसन बनाउने, नारायणी किनारमा सि–बिच मोडलको पार्क

भरतपुर महानगरले देशकै ठूलो चार्जिङ स्टेसन बनाउने, नारायणी किनारमा सि–बिच मोडलको पार्क

भरतपुर महानगरको १५औँ अधिवेशन तथा बजेट सार्वजनिक कार्यक्रम


नेपालखबर
असार १०, २०८१ सोमबार १४:५९, काठमाडौँ

भरतपुर महानगरले देशकै ठूलो चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ। 

भरतपुर केन्द्रीय बसपार्कमा नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेसन सञ्चालन गरेको महानगरले रामनगरमा ठूलो चार्जिङ स्टेसन बनाउने भएको हो। 

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै भरतपुर महानगरले गितानगर, चनौली, नारायणगढ बसपार्क र महानगरपालिका परिसरमा समेत चार्जिङ स्टेसन निर्माण अघि बढाउनेछ। महानगरले विद्युतीय सवारीसाधन खरिद गर्न प्राथमिकता दिने भएको छ। 

भरतपुर महानगरले यातायात व्यवस्थापनमा नो भेहिकल जोन पहिचान गरी कार्यान्वयन गर्ने भएको छ। मुख्य सहरी तथा बजार क्षेत्रका सडक तथा पेटहिरुमा पार्किङ निषेधको नीतिलाई कडाई गर्दै निजी क्षेत्रसँगको सहकार्यमा सःशुल्क पार्किङ व्यवस्थापनलाई अगाडि बढाउनेछ। 

महानगरमा चल्ने म्याजिक तथा अटोलाई रुट इजाजत प्रदान गर्नेछ। 

महानगरले संघ तथा प्रदेश सरकारसँग साझेदारीमा नारायणी नदी किनारामा निर्माणाधीन सि–बिच मोडलसहितको मनोरञ्जन पार्कलाई गुरुयोजनाबमोजिम सम्पन्न गरिने भएको छ। 

भरतपुर महानगरपालिकाले मुख्य सडक तथा बजार क्षेत्रहरुमा स्मार्ट सडक बत्ती, हाई मास्ट एवम् मिनी मास्ट बत्ती जडान र विस्तारको दोस्रो चरणको काम सुरु गर्ने भएको छ। १५० किलोमिटर सडकमा १० हाई मास्ट, ६० स्थानमा मिनी मास्ट बत्ती जडान कार्य गर्नेछ।

महानगरभित्र सडकका खाल्टाखुल्टी पुर्नको लागि पूर्वाधार एम्बुलेन्ससहितको प्राविधिक टिम बनाई परिचालन गरिनेछ। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला संघ, प्रदेश र महानगरको साझेदारीमा निर्माण कार्यलाई तीव्रता दिने भएको छ। 

भरतपुर वडा नम्बर १४ मा संघीय शिक्षक अस्पताल र प्रादेशिक आयुर्वेद अस्पताल निर्माण गर्न समन्वय गर्ने भएको छ। 

महानगरले विकास सेवा र कर प्रणालीमा डिजिटल र स्मार्ट भरतपुर कार्यक्रमअन्तर्गत जीआईएसमा आधारित घर नम्बर प्रणाली तयार गरी घर नम्बर प्लेट जडान कार्य अघि बढाउने भएको छ। 

मेयर विपन्न आवास कार्यक्रम सञ्चालन गर्ने भएको छ। महानगरको फोहोर मैलाको दीगो व्यवस्थापन गर्न लगानीमैत्री वातावरण सिर्जना गर्न सार्वजनिक निजी साझेदारी मोडलमा सहकार्य गर्ने भएको छ। 

शिक्षातर्फ पढ्दै कमाउँदै, कमाउँदै पढ्दै कार्यक्रम, व्यावहारिक शुक्रबार कार्यक्रमलाई कार्यान्वयन गर्ने उल्लेख छ। निःशुल्क यातायातलाई निरन्तरता दिँदै महानगरपालिकाका बर्थिङ सेन्टरहरुमा सुत्केरी हुने महिलाहरुलाई पोषण सहयोग प्रदान गर्नेछ। 

सार्वजनिक स्थल एवम् सोको १०० मिटर वारपर सुर्तीजन्य पदार्थको बिक्री वितरण र प्रयोगलाई निषेध गर्ने कार्यक्रम ल्याएको छ। कृषि क्षेत्रमा दिँदै आएका अनुदानलाई निरन्तरता दिएको छ। 

महानगरले सेवाग्राहीको सन्तुष्टि मापन गरी प्राप्त सल्लाह सुझावअनुसार कार्यालयमा समायानुकूल सुधार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिक मत सर्वेक्षणको व्यवस्था गर्ने भएको छ। 

भरतपुरले सूचना प्रविधि क्षेत्रको रुपमा विस्तार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्थाहरुको सहकार्य र लागत साझेदारीमा सूचना प्रविधि पार्क तथा इन्कुबेसन केन्द्र स्थापना गर्न आवश्यक व्यवस्था मिलाउने उल्लेख गरेको छ। 

भरतपुर महानगरले आर्थिक वर्ष २०८१÷०८२ को लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजारको बजेट ल्याएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .