कारोबार


डेढ करोड कारोबार गर्दै सकियो खोटाङ दिक्तेल महोत्सव

डेढ करोड कारोबार गर्दै सकियो खोटाङ दिक्तेल महोत्सव

नेपालखबर
फागुन १४, २०७६ बुधबार ७:३,

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’ साढे एक करोड बढी कारोवार गर्दै सकिएको छ। गत फागुन २ गतेबाट शुरु भएको १० दिने महोत्सवमा रु एक करोड ५३ लाख बराबरको आर्थिक कारोवार भएको आयोजकले जनाएको छ।

‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा करिब रु एक अर्बको कारोवार हुने प्रक्षेपण गरिएको थियो। महोत्सवमा विभिन्न १२० बिक्रीकक्षबाट रु एक करोड, बाल उद्यान, रोटेपिङ, रेल, कारलगायत मनोरञ्जनका साधनबाट रु २० लाख, होटल व्यवसायबाट रु १५ लाख, टिकट बिक्रीबाट रु १५ लाख ३० हजार र यातायात सेवामा रु तीन लाख बराबरको कारोवार भएको आयोजक उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए।

एक लाखभन्दा बढी सर्वसाधारणले अवलोकन गर्ने भनिएको महोत्सवमा करिब ५६ हजारले मात्र अवलोकन गरेको आयोजकले जनाएको छ। यद्यपि महोत्सवका कारण वार्षिक रु २४ करोड २० लाखको कारोबार हुने वातावरण बनेको आयोजकको दाबी छ।

खोटाङको आर्थिक तथा सामाजिक उत्थान गर्न पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडीबुटीलगायत स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको थियो। त्रिधार्मिकस्थल हलेसी, तुवाचुङ, रुपाकोट, मझुवागढीलगायतका धार्मिक, सांस्कृतिक र रमणीय एवं पर्यटकीयस्थलको प्रचारप्रसार गरी व्यवसाय प्रवद्र्धन गर्न, जिल्लामा भएका पर्यटन, सिमेन्ट, जलविद्युत्, जडीबुटी, वन पैदावारलगायतका बारेमा जानकारी गराएर लगानीको अवसर सिर्जना गर्न, निकासीयोग्य वस्तुको पहिचान र प्रवद्र्धनमा महोत्सवबाट सहयोग पुगेको वाणिज्य सङ्घका महासचिव मनोज बजिमयले बताए।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको महोत्सव सोमबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले समापन गरेका थिए। महोत्सव अवधिभर गायक राजेशपायल राई, बद्री पंगेनी, ज्योति मगर, कमल खत्री, दुर्गेस थापा, उल्शन श्रेष्ठलगायत दर्जन बढी राष्ट्रियस्तरका कलाकारको प्रस्तुति तथा जिल्लास्थित विभिन्न जातजातिको सांस्कृतिक झाँकी एवं सांगीतिक प्रस्तुति रहेको थियो।

जिल्लामा पहिलोपटक आयोजना गरिएको महोत्सव सञ्चालनको जिम्मा ठेक्का शैलीमा दिइएकाले जिल्लावासीका लागि कुनै उपलब्धि नभएको गुनासा आएका छन्। महोत्सवले जिल्लाका व्यवसायीलाई फाइदा हुने र व्यापार मन्दीका कारण थिलथिलो बनेको व्यवसायलाई यो महोत्सवले केही हदसम्म राहतको महसुस गराउँछ भन्ने आशामा तुषारापात भएको जिल्लावासीको आरोप छ।

महोत्सवको विषयलाई लिएर अहिले सामाजिक सञ्जाल फेसबुकमार्फत धेरैले विरोध जनाएका छन्। महोत्सवकै विषयलाई लिएर समाजवादी पार्टी नेपाल खोटाङका नेता सूर्यबहादुर राईले महोत्सवको केही तस्बिरसहित फेसबुकमा राखेर ‘स्टाटस’ लेखेका छन्। ‘दिक्तेल महोत्सवको अध्ययन गरियो’, उनले लेखेका छन्, ‘खोटाङको आर्थिक विकासमा कति टेवा पुग्छ? म नाजवाफ छु ।’

सरकारले अवलम्बन गरेको समृद्ध नेपालको अभियानमा महोत्सवले टेवा पु¥याउँछ भन्ने अपेक्षा गरिए पनि जिल्लाका लागि उपलब्धिशून्य भएको होटल व्यवसायी निशान राईले बताए। महोत्सवमा खाजा तथा खाना खाने होटलदेखि बेचिने कपडालगायत सबै बाहिरकै व्यवसायीको थियो। यस वर्ष दिक्तेलमा सञ्चालन भएको महोत्सवले जिल्लामा तीन वर्षसम्म आर्थिक मन्दी हुने दिक्तेलबजारका चोकचोकमा टिप्पणी हुने गरेको छ। महोत्सवमै किराँती वेषभूषा तथा सामग्री बिक्रीकक्ष राखेका युगशन किराँतीले महोत्सवमा ल्याइएका बाहिरका व्यापारीले जिल्लावासीको लाखौँ रकम लगेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad