ad ad

कारोबार


ब्याज खानमै दंग छन् बिमा कम्पनीहरू, ४ खर्ब ५५ अर्ब रुपैयाँ बैंकमा थुप्रियो

ब्याज खानमै दंग छन् बिमा कम्पनीहरू, ४ खर्ब ५५ अर्ब रुपैयाँ बैंकमा थुप्रियो

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार १३:१३, काठमाडौँ

बिमा कम्पनीहरु लगानीलाई लिएर संकुचित बन्न पुगेका छन्।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले विभिन्न ११ वटा क्षेत्रमा लगानी विविधीकरण गर्नुपर्ने व्यवस्था गरे पनि अधिकांश बिमा कम्पनी बैंक तथा वित्तीय संस्थाको निक्षेपकै भरमा रहेका हुन्। 

प्राधिकरणले कुल लगानीको ३० प्रतिशत रकम वाणिज्य बैंक र पूर्वाधार विकास बैंकको निक्षेपमा राख्नुपर्ने व्यवस्था गरेको छ। तर बिमा कम्पनीहरुले भने कुल लगानीको करिब ७० प्रतिशत रकम यी दुई बैंकको निक्षेपमै राखेका हुन्। 

गत वैशाख मसान्तसम्म बिमा कम्पनीहरुले ६ खर्ब ६० अर्ब रुपैयाँ ११ क्षेत्रमा लगानी गर्दा ४ खर्ब ५५ अर्ब रुपैयाँ वाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकको निक्षेपमा राखेका हुन्। 

नेपाल बिमा प्राधिकरणले यसअघि व्यवसायीहरुकै अनुरोधमा लगानीका क्षेत्रहरु विस्तार गरी ११ वटा पुर्याएको थियो। बिमा व्यवसायीले आफूसँग भएको रकम बैंकको निक्षेपकै भरमा राख्नुपर्ने दु:खेसो गरेपछि प्राधिकरणले लगानीलाई खुकुलो बनाउँदै क्षेत्र पनि विस्तार गरेको हो। 

व्यवसायीले माग गरेकै ११ वटा क्षेत्रमा प्राधिकरणले लगानी खुला गरेपछि एक वर्षदेखि ती क्षेत्रमा पर्याप्त लगानी गएको छैन। बिमा व्यवसायीहरुले प्राधिकरणको लगानीसम्बन्धी व्यवस्थालाई अनदेखा गदै लगानीलाई संकुचित बनाएका हुन्। 

प्राधिकरणका अनुसार सबैभन्दा धेरै वाणिज्य बैंक र पूर्वाधार विकास बैंकको निक्षेपमा ६९.६७ प्रतिशत, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्रबैंकको ऋणपत्र तथा बचतपत्रमा न्यूनतम २५ प्रतिशतसम्म लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था छ। तर व्यवसायीहरुले सो व्यवस्था अटेर गर्दै कुल लगानीको ०.५३ प्रतिशतमात्रै लगानी गरेका छन्। 

विकास बैंक मुद्दती निक्षेपमा बढिमा १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्थाअनुरुपमा कम्पनीले ६.५३ प्रतिशत रकम लगानी गरेका छन् भने वित्त कम्पनीमा १.०४ प्रतिशत लगानी गरेका हुन्। 

भूउपयोग ऐन तथा नियमावली आएपछि २०७६ सालमा कित्ता काट रोकिएसँगै त्यसयत घरजग्गा व्यवसाय ठप्प जस्तै छ। ४ वर्षदेखि घरजग्गामा व्यवसायमा रौनक नआउँदा बिमा कम्पनीले त्यस क्षेत्रमा लगानी नगरेका हुन्। प्राधिकरणले बढिमा १० प्रतिशत रकम यो क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेपनि बिमा कम्पनीहरुले शून्य लगानी गरेको हो।

यस्तै बैंक तथा वित्तीय क्षेत्रको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ६.९४ प्रतिशत रकम लगानी गरेका हुन्। यो क्षेत्रमा अधिकतम १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ। 

साधारण सेयरमा लगानी गर्न व्यवसायी उति उत्साहित देखिएका छैनन्। कुल १० प्रतिशतसम्म लगानी गर्न पाउने भए पनि बिमा व्यवसायीले २.२८ प्रतिशत रकम मात्रै लगानी गरेका हुन्। 

यस्तै बिमा व्यवसायीहरुले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको संस्थापक सेयरमा हुने लगानीलाई ४१.८९ प्रतिशतले बढाएका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा कुल लगानी (५ खर्ब ४३ अर्ब) को १.४८ प्रतिशत लगानी गरेका थिए। 

चालु आवमा मात्रै प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, नबिललगायतका बैंकहरुको संस्थापक सेयर बिमा कम्पनीहरुले ठूलो संख्यामा किनेका छन्। वाणिज्य तथा वित्त कम्पनीको संस्थापक सेयरमा बिमा कम्पनीहरुले लगानीलाई बढाएका हुन्। 

प्राधिकरणले बिमा कम्पनीहरुसँग लगानी गर्नका लागि खर्बौ रकम रहेको बताउँदै विविध क्षेत्रमा लगानीलाई बाँडफाँट गर्ने व्यवस्था गरेको थियो। तर बिमा कम्पनीहरुले प्राधिकरणको योजनालाई तुहाउँदै निक्षेपमा मात्रै लगानीलाई केन्द्रित गरेका हुन्।

जेठ महिनाका लागि वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा ७.०६ प्रतिशतसम्म ब्याज दिँदै आएका छन्। बिमा व्यवसायी धितोपत्र बजार, घरजग्गा तथा अन्य क्षेत्रमा हुने लगानीको प्रतिफललाई लिएर सुनिश्चित नहुँदा पनि लगानीलाई विविधीकरण गर्न नसकेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .