ad ad

कारोबार


नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक असार दोस्रो साता, ४० मेगावाट बिजुली निर्यात टुंगो लाग्ने

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक असार दोस्रो साता, ४० मेगावाट बिजुली निर्यात टुंगो लाग्ने

कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जासचिव सुशीलचन्द्र तिवारी र ऊर्जा प्रवक्ता नविन सिंह।


वसन्त अर्याल
जेठ २४, २०८१ बिहिबार १६:४१, काठमाडौँ

नेपालबाट बंगलादेशमा विद्युत् निर्यातको अन्तिम टुंगो लगाउन दुवै देशको ऊर्जा सचिवस्तरीय बैठक असार ९ र १० गते हुने भएको छ।

४० मेगावाट विद्युत् निर्यातको विषय टुंग्याउन दुई देशका सचिवस्तरीय बैठक पोखरामा हुने तय भएको हो। 

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डको गत वर्ष भएको भारत भ्रमणका क्रममा भारतीय प्रसारणलाइन प्रयोग गर्दै ५० मेगावाट निर्यात गर्न दिने सहमति भएको थियो। यद्यपि नेपाल र बंगलादेशबीच हाल ४० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमै छिट्टै त्रिदेशीय सम्झौता हुने बताइएको थियो।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा महाशाखा प्रमुख नविनराज सिंहले बंगलादेशसँगको विद्युत् निर्यात टुंग्याउन असार ९ र १० गते बैठक बस्ने जानकारी दिए।

‘बंगलादेशमा धेरै चरणको वार्ता छलफलपछि धेरै विषय टुंगिसकेका छन्’, सिंहले भने, ‘महशुलको विषय पनि टुंगिएकाले अबको बैठकमा सम्झौता हुने अवस्था छ।’

बंगलादेशले नेपालबाट विद्युत् लैजाने सहमति भए पनि कति रुपैयाँमा खरिदबिक्री हुने विषय टुंग्याउन समय लागेको थियो। विश्व बैंकको आयोजनामा गत फागुन ११ देखि १४ सम्म सिंगापुरमा भएको सार्क देशका ऊर्जासचिवहरुको बैठकमा नेपाल र बंगलादेशका ऊर्जा सचिवले मूल्यको टुंगो लगाएका थिए। भारतलाई बिक्री गरेको मूल्यकै आधारमा बंगलादेशमा पनि बिक्री गर्ने तय भएको छ।

तत्कालीन ऊर्जा सचिव गोपाल प्रसाद सिग्देलको नेतृत्वमा भएको छलफलमा बंगलादेशले महशुलको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गरी नेपाललाई जानकारी दिने सहमति भएको थियो।

‘बंगलादेशले अहिलेसम्म महशुलको विषय मन्त्रिपरिषद्बाट निर्णय गर्‍यो वा गरेन हामीलाई जानकारी गराएको छैन’, सहसचिव सिंहले भने, ‘आगामी बैठकअगाडि गराउला।’

कुलमान घिसिङको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डअन्तर्गतको बोलपत्र मूल्यांकन समितिबीच फागुनमा छलफल भएको थियो। यसअनुसार बंगलादेशसँग ५ वर्षका लागि सम्झौता गर्ने तयारी छ।

विद्युत् प्राधिकरणका व्यवसाय विकास निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीप कुमार थिकेले ऊर्जा सचिवस्तरीय बैठक हुने बताए।

‘अब नेपालमा हुने बैठक असार ९ गते सहसचिवस्तरीय बैठक हुन्छ,’ उनले भने, ‘१० गते ऊर्जा सचिवस्तरीय बैठक हुने तय भएको छ।’ 
ऊर्जा हेर्न सहसचिव स्तरीय ‘वर्किङ ग्रुप’ र ऊर्जा सचिवस्तरीय स्टेयरिङ कमिटी छ।

‘अबको बैठकमा बंगलादेशमा विद्युत् निर्यात गर्ने विषय टुंगो लाग्ला’, थिकेले भने।

‘यही वर्षातमै विद्युत् निर्यात हुन्छ’
सरकारले आगामी वर्षको बजेटमा बंगलादेशमा विद्युत् निर्यात सुरु गर्ने उल्लेख गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री शक्ति बस्नेत र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुन महिनाबाट विद्युत् निर्यात थाल्ने सार्वजनिक कार्यक्रममा बोल्दै आएका छन्। 

प्राधिकरणले जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा विद्युत् निर्यात गर्ने तयारी गरेको थियो। जुन १५ मा निर्यात सम्भव नभए पनि जुलाईबाट निर्यात गर्न सकिनेमा ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरण दुवै विश्वस्त छन्।

‘सबै विषयमा करिब सहमति भइसकेको छ। अन्तिम सम्झौता हुन बाँकी हो’, सिंहले भने, ‘अबको बैठकमा सम्झौता भए तत्काल निर्यात गर्न सक्छौँ।’

प्राधिकरणका अनुसार नेपालले भारतलाई औसत ८ रुपैयाँ ४० पैसामा विद्युत् बिक्री गरिरहेको छ। बंगलादेशसँग पनि यही मूल्यमा कारोबार हुनेछ। अहिलेसम्मको सहमतिमा नेपालले बंगलादेशलाई भारतको मुजफ्फरपुरमा ४० मेगावाट विद्युत् उपलब्ध गराउनेछ। प्रसारणलाइनमा हुने चुहावट बंगलादेशले नै व्यहोर्नेछ। 

‘भारतीय प्रसारणलाइन प्रयोग गरेबापतको ह्विलिङ चार्ज बंगलादेशले नै तिर्छ’, सिंहले भने, ‘भारतबाट बंगलादेशसम्म पुर्‍याउँदा चुहावट समेत बंगलादेशले नै व्यहोर्ने कुरा भएको छ।’

बंगलादेश र भारतीय प्रसारणलाइन प्रयोग गर्न भारतीय कम्पनी एनटीपीसीसँग सहमति भइसकेको छ। १ वर्षअघि भारतले नेपालबाट बंगलादेशमा विद्युत् लैजान अनुमति दिने निर्णय गरेको थियो। अब नेपाल, भारत र बंगालादेशबीच त्रिपक्षीय सम्झौता गर्नुपर्छ।    

गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको क्रममा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको छ। तर सर्वोच्च अदालतमा उक्त सम्झौता खारेजको माग गर्दै रिट परेकाले भारतसँग थप सम्झौता हुनसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .