सोमबार सेयरबजारमा गिरावट आएको छ। अघिल्लो दिन ६९ अंकले बढेको नेप्से आज १.९६ अंकले ओरालो लागेको हो। त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक भने आज शून्य दशमलव ४९ अंकले उकालो लागेको छ।
आज कुल १ सय ७९ कम्पनीको ८३ लाख कित्ता सेयर बिक्री भएको छ। आज ३१ हजार २ सय ९० पटक खरिदबिक्री हुँदा ३ अर्ब ४१ करोडको कारोबार भएको छ। आइतबार बजारमा कीर्तिमानी कारोबार भएको थियो। आइतबार ३ अर्ब ६० करोडको कारोबार भएको थियो। नेप्सेका अनुसार आइतबारको कारोबार नयाँ कीर्तिमान हो।
आज व्यापार, होटल, विकास बैंक, ऊर्जा, फाइनान्स, निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फन्ड समूहको कारोबार सूचक घटेको छ। आज पनि एनएमबी बैंककै धेरै कारोबार भएको छ। बैंकको २० करोडको सेयर कारोबार भएको हो। त्यस्तै शिवम् सिमेन्टको १३ करोडको, शिखर इन्स्योरेन्सको १२ करोडको, प्रिमियर इन्स्योरेन्सको ११ करोडको, नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ६४ लाख, एनआईसी एसियाको १० करोड ४४ लाख र हिमालयन डिस्टिलरीको १० करोड २२ लाखको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
कमाउनेमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्टका लगानीकर्ता छन्। कम्पनीको सेयर १० प्रतिशतले बढ्दा प्रतिकित्ता १०२ रुपैयाँ आम्दानी भएको छ। त्यस्तै मञ्जुश्री फाइनान्सको पनि आज सेयर ९.५७ प्रतिशतले बढ्दा सेयरधनीले २० रुपैयाँ आम्दानी गरेका छन्। तेस्रो धेरै कमाउनेमा युनियन हाइड्रोपावर लिमिटेडका सेयरधनी छन्। कम्पनीको सेयर ९.३८ प्रतिशतले बढेको छ। आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर ६.७५ प्रतिशतले बढ्दा सेयरधनीले ४२ रुपैयाँ र नेपाल हाइड्रो डेभलपर्सको सेयर ६.२५ प्रतिशतले बढ्दा सेयरधनीले प्रतिकित्ता ९ रुपैयाँ कमाएको नेप्सेले जनाएको छ।
घाटा व्यहोर्नेतर्फ गुह्येश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स कम्पनी अगाडि छ। कम्पनीका लगानीकर्ताले ७.५३ प्रतिशत रुपैयाँ गुमाएका छन्। त्यस्तै प्रिमियर इन्स्योरेन्सको ७.१५ प्रतिशतले, प्रुडेन्सियल इन्स्योरेन्सको ६.१९ प्रतिशतले, शांग्रिला डेभलपमेन्ट बैंकको ५.३२ प्रतिशतले सेयर मूल्य घटेको छ।

प्रतिक्रिया