कारोबार


हाते ट्रयाक्टर छोडेर गोरु पाल्दै किसान

हाते ट्रयाक्टर छोडेर गोरु पाल्दै किसान

नेपालखबर
जेठ २०, २०८१ आइतबार १५:४९, गलकोट (बागलुङ)

संघीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्रयाक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे। गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्रयाक्टरले खेतबारी जोत्न थाले।

आधुनिक उपकरणको सहायताले खेतबारी जोत्दा सहज भयो, सस्तो पनि पर्यो तर बिस्तारै उत्पादनमा भने ह्रास आउन थाल्यो। बागलुङ जिल्लाको गलकोट नगरपालिका–४ चमुवा फाँटमा हाते ट्रयाक्टरले धान रोप्न छोडेको दुई वर्ष भइसक्यो।

गोरु पाल्न छोडेका किसानले पछिल्लो समय गोरुको महत्व बुझेर पाल्न थालेको स्थानीय रतनबहादुर सुनारले बताए। चमुवा फाँटमा अहिले पाँच हलगोरु रोपाइँमा प्रयोग भइरहेका छन्।

‘हाते ट्रयाक्टरले जोत्दा माथिमाथि मात्रै जोत्दो रहेछ, गहिरो नजोत्दा उत्पादनमा समस्या भयो, गहुँ र मकै ढल्ने समस्या देखियो। हेर्दा छरितो भए पनि दीर्घकालीन रुपमा गोरुले जोत्दा खेतीयोग्य जमिनलाई राम्रो हुने हामीले महसुस गर्यौँ,’ सुनारले भने, ‘चमुवामा हाते ट्रयाक्टर नआउँदा १० हलगोरु थिए, हाते ट्रयाक्टर आएपछि धेरैले गोरु बिक्री गरे। पछि गोरुले जोत्दा बाली राम्रो भयो, हाते ट्रयाक्टरमा हाल्ने पेट्रोलको भाउ समेत दोब्बर भयो, त्यसैले गोरुले जोत्न थालियो।’

चमुवामा छ दिनको मेलो रोपाइँको तयारी गरेका शेरबहादुर न्यौपानेले गोरुकै सहायताले खेतमा धान रोप्न लागेको बताए। पेट्रोलको मूल्य दोब्बर हुनु र उपकरण बिग्रिरहने समस्याले किसानहरु हाते ट्रयाक्टर  छोडेर पुनः गोरु पाल्न थालेको बताउँछन्।

गोरु लोप हुन थालेपछि पछिल्लो एक वर्षयता बागलुङको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन समेत गर्न थालेका छन्। एक हल गोरु पाल्ने किसानलाई रु १० हजारका दरले अनुदान दिन लागिएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले बताए।

बागलुङ नगरपालिकाले गोरु किसानलाई प्रोत्साहन गर्न रु चार लाख बजेट विनियोजन गरेको नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले बताए। कृषिमा आधुनिकीकरणका कारण गोरु लोप हुन थालेपछि गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दा गोरुको महत्व बढेको छ। थ्रेसर मेसिन र ट्रयाक्टरले उत्पादन लागत घटाउने भए पनि पेट्रोलको मूल्य बढेपछि हाते ट्रयाक्टरको प्रयोग बिस्तारै घट्न थालेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad