ad ad

कारोबार


आलुका दर्जन परिकार बजारमा ल्याउँदै फर्स्ट च्वाइस, ३० हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य

आलुका दर्जन परिकार बजारमा ल्याउँदै फर्स्ट च्वाइस, ३० हजार मेट्रिक टन उत्पादन गर्ने लक्ष्य

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १८:३३, काठमाडौँ

फर्स्ट च्वाइस फुड्सले असारबाट फ्रेन्च फ्राइसहित आलुका दर्जन बढी परिकार बजारमा ल्याउने भएको छ।

३ वर्षअघि निर्माण सुरु भएको उद्योगको परीक्षण उत्पादन सफल भएसँगै बजारमा ल्याउने भएको हो। 

नेपालमा खपत हुने फ्रेन्च फ्राई विदेशबाट आयात हुने गरेको छ। रुपन्देहीमा खुलेको फर्स्ट च्वाइस फुडस प्रा.लि.ले आयात प्रतिस्थापन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याएको छ। 

कम्पनीका अध्यक्ष कृष्ण प्रसाद पौडेलले २०८१ मा करिब २२ सय किसानको सहभागितामा उत्पादन गरिएको आलु करिब १५ सय मेट्रिक टनबाट विभिन्न परिकार उत्पादन गर्ने जानकारी दिए। 

आगामी आर्थिक वर्ष २०८२/८३ मा करिब ५००० हजार किसानहरुलाई आलुखेतीमा सहभागी गराई करिब ३० हजार मेट्रिक टन आलु उत्पादन गर्ने उद्देश्यका साथ आफ्नो टिम निरन्तर लागिरहेको पौडेल बताउँछन्। 

‘२०८१ जेठमा पूर्ण रुपमा सञ्चालन हुने र २०८१ असारको पहिलो हप्तादेखि नेपाली बजारमा उपलब्ध हुनेछ’, पौडेल भन्छन्, ‘२०८२/८३ मा अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी भइरहेको छ।’

२०७७ फागुनबाट निर्माणको काम सुरु गरिएको थियो। 

गुल्मीका पौडेल बुटवलमा क्वालिटी मिटसपबाट व्यवसाय सुरु गरेका थिए। २०६४ मा मासु पसललाई विस्तार गर्दै मासु प्रशोधन उद्योग बनाए। उक्त उद्योगको उत्पादन काठमाडौंसहित प्रमुख सहरमा खपत भइरहेको छ। 

उद्योग निर्माण सुरु गरेको ३ वर्ष भइसकेको छ। परीक्षणको रुपमा उत्पादन भइरहेको उद्योगमा सडकको पहुँच, विद्युतको नियमित आपूर्तिको समेत समस्या रहेको उनी बताउँछन्।

फर्स्ट च्वाइस फुड्सले फ्रेन्चफ्राईका लागि विदेशबाट बीउ ल्याएर किसानलाई वितरण गरेको छ। आलु खेती गर्न लागेको तीन वर्ष भएको छ।

उद्योगलाई चाहिने आलु नेपालमै उत्पादन गरेका छन्। उद्योग पूर्ण रुपमा सञ्चालन गर्न नेपालमै उत्पादित आलुले पुग्ने पौडेल बताउँछन्।

नेपालमा मौसम फरक भएकाले आलुको उत्पादन राम्रो भएको छ। सुरुमा तराईका जिल्लामा किसानहरूले आलु उत्पादन गरिरहेका छन्। 

कैलाली र बर्दियामा आलु उत्पादन भइरहेको छ। पहाडी जिल्लामा आलु उत्पादनका लागि पहल थालिएको छ। 

आलु उत्पादनका लागि नेपाल सरकारका पूर्वसचिव डा. श्याम प्रसाद ढकाल जोडिएका छन्। उद्योगले जर्मनी, टर्की र जापानबाट विभिन्न प्रविधि भित्र्याएको छ। जुन प्रविधिबाट एक घण्टामा २ टन बढी प्रशोधन गर्न सक्छ।

‘नेपाल सरकारलाई विनम्र अनुरोध गर्न चाहन्छु कि हाम्रो उद्योगलाई कुनै अनुदानको सहयोग चाहिँदैन,’ पौडेल भन्छन्, ‘उद्योगसँग जोडिएका किसानहरुलाई बीउ आलु तथा मल, सिँचाइ आयोजनाको व्यवस्था, विषादी कृषि अनुदानको योजना तथा कार्यान्वयन गरिदिनुहोस्।’

उद्योगले नेपालका किसानहरुलाई आत्मनिर्भर बनाउँदै नेपालमा नै उत्पादन भएको प्रशोधन योग्य आलु प्राथमिकताका आधारमा खरिद गर्ने उद्योगले उद्देश्य लिएको बताए। 

कम्पनीले फ्रेन्च फ्राईसँगै, क्रिनिकल कट, स्माइलस्, हास ब्राउन, स्मोकी बाइटस्, आलु टिक्का, भेज स्टिक, पोटेटो वेजेस, भेज बर्गर प्याटी लगायतका उत्पादन गर्दै आएको छ। 

फर्स्ट च्वाइस फुड्सद्वारा डेढ अर्बको लागतमा स्थापित उद्योगले परीक्षण उत्पादन थालेको छ। नेपालमा भारत, बेल्जियमलगायतका देशबाट वार्षिक ६ अर्ब बढीको फ्रेन्चफ्राई भित्रिने गरेको छ। भारतबाट अनौपचारिक रुपमा समेत फ्रेन्चफ्राई आयात भएको छ। वार्षिक ५ अर्बको फ्रेन्च फ्राई उत्पादन गर्ने लक्ष्य राखेको छ। 

पौडेलले भारतको एक फ्रेन्च फ्राई कम्पनीको आधिकारिक बिक्रेताको अनुभव लिएपछि आयात प्रतिस्थापन गर्ने उद्देश्यले नेपालमै उद्योग खोलेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .