ad ad

कारोबार


दुई अधिकारीको विवाद मन्त्री तामाङले मिलाए, इटाली पुगेको वाइडबडी मर्मत हुने

दुई अधिकारीको विवाद मन्त्री तामाङले मिलाए, इटाली पुगेको वाइडबडी मर्मत हुने

नेपालखबर
असार १४, २०८१ शुक्रबार १६:१२, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङको निर्देशनपछि नेपाल वायुसेवा निगमको वाइडबडी जहाजको सम्पूर्ण मर्मत हुने भएको छ।

पर्यटनमन्त्री तामाङले वायुसेवा निगमका अध्यक्ष र नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशकसँग पटक-पटक छलफल गरी निर्देशन दिएपछि कल साइन नाइन एनएनवाई जहाजको सि चेकका लागि सहज भएको हो। 

प्राधिकरणले विना अनुमति दुबई हुँदै इटाली जहाज लगेको भन्दै सि चेकको अनुमति दिएको थिएन। तर मन्त्री तामाङले क्यानका महानिर्देशक प्रदिप अधिकारीसँग छलफल गरेस‌ँगै आजै क्यानले निगमलाई सो अनुमति प्रदान गरेको छ।

मन्त्री तामाङले  क्यान र नेपाल वायुसेवा निगमका प्रतिनिधिलाई सिंहदरबारस्थित मन्त्रालयमा नै बोलाएर विमान मर्मतको पछिल्लो अवस्थाबारे जानकारी लिँदै छिटो सी चेकको कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए। 

प्राधिकरणले अनुमति नलिएकाे भन्दै निगमका ५ उच्च व्यवस्थापकलाई केही दिनअघि कारबाही गरेको थियो। 

हवाइ सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले सी चेकका लागि क्यानले निगमलाई अनुमति दिइएको जानकारी दिए। 

वायुसेवा निगमले जुन २२ मा निगमको एक वाइडबडी जहाज दुबई हुँदै मर्मतका लागि इटाली पठाएको थियो। सो जहाज ३० दिनभित्र मर्मत सकेर उडानमा ल्याउने भनिएको छ। इटालिएन कम्पनी एटीटेक एसपीएलाई मर्मतको जिम्मेवारी दिइएको छ।

यता वायुसेवा निगमले वाइडबडी जहाजको सी चेकको लागि क्यानले अनुमति प्रदान गरेको बताएको छ।  

दुईवटा वाइडबडी जहाजमध्ये कल साइन नाइन एनएनवाई जहाज यही जुन २५ देखि सी–चेक नभए उडान गर्न पाउने थिएन।

साथै यस जहाजको मर्मत सम्पन्न भएपश्चात् निगमको अर्को  वाइडबडी जहाज मर्मत कम्पनीमा जुलाई २०२४ को अन्तिम सातामा पठाउन तयारी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .