ad ad

कारोबार


काभ्रेका तीन उद्योग बन्द गर्न निर्देशन

काभ्रेका तीन उद्योग बन्द गर्न निर्देशन

नेपालखबर
फागुन ७, २०७६ बुधबार ८:०,

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुमति नै नलिई सञ्चालन गरिरहेका तीन उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ।

समन्वय समितिले गरेको अनुगमनको क्रममा मण्डनदेउपुर नगरपालिका–६ स्थित मेलम्ची बगरमा सञ्चालन गरेको मेलम्ची इन्द्रावती स्टोन, भुम्लु गाउँपालिका–७ मा सञ्चालनमा रहेको वीर बी एन्ड सन्स र वडा नं १० मा रहेको मञ्जुश्री मल्टिप्रपोज प्रालिलाई बन्द गर्न निर्देश दिएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताए।

मण्डनदेउपुर नगरपालिका–६ मेलम्ची बगरमा कुनै पनि उद्योगलाई आर्थिक वर्ष २०७६÷७७ मा नदीजन्य पदार्थ संकलन तथा उत्खनन गर्न अनुमति नदिएको भए पनि मेलम्ची इन्द्रावती स्टोन नामक संस्थाले निरन्तर रुपमा मेलम्ची बगर क्षेत्रमा बालुवा, गिट्टी बिक्री वितरण गरेको पाइएको समन्वय प्रमुख केसीले बताए। उनका अनुसार गत आर्थिक वर्षमा गरेको कामको समेत अत्यावधिक विवरण उपलब्ध गराउन नसकेको भन्दै सोको बारेमा यथार्थ छानबिन गरी आवश्यक कारबाही गरी जिल्लास्तरीय अनुगमन समितिलाई जानकारी दिन सम्बन्धित नगरपालिकालाई अनुरोध गरेको थियो ।

त्यस्तै भुम्लु गाउँपालिका–७ मा रहेको वीर बी एन्ड सन्स र भुम्लु गाउँपालिका–१० मा रहेको मञ्जुश्री मल्टिप्रपोज प्रालिले बालुवा प्रशोधन अनुमति लिएर क्रसर नै सञ्चालन गरिरहेको पाइएकाले उद्योग दर्ता अनुमति लिँदाको उद्देश्यभन्दा फरक कार्य गरेको भन्दै क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको हो। त्यसरी निर्देशन दिएको भए पनि धेरैँजसो उद्योगहरु निर्देशनको अवज्ञा गर्दै सञ्चालन भइरहेको छ।

जिल्लाभित्र सञ्चालन गरिएका नदीजन्य पदार्थ संकलन र उद्योग तथा खानीजन्य उद्योग, क्रसर (ढुंगा, गिट्टी, बालुवा) उद्योगको अनुगमन औपचारिकता मात्रै समिति भएको छ। अनुगमन गरिएको समितिमा कारबाही गर्ने अधिकार नहुनु र त्यसको लागि माथिल्लो तहमा प्रतिवेदन पठाउने गरेको भए पनि त्यसको कारबाही प्रक्रियामा कार्यान्वयन नहुने भएपछि औपचारिकतामा मात्रै समिति बनेको हो।

तीन तहको सरकार कार्यान्वयनमा भएदेखि अहिलेसम्ममा जिल्ला समन्वय समितिले दुई पटक जिल्लाका सबै नदीजन्य पदार्थ संक्लन र उद्योग तथा खानीजन्य उद्योग, क्रसर उद्योगमा अनुगमन गर्दै कारबाही र कार्यान्वयनका लागि प्रदेश सरकारलाई प्रतिवेदन तयार गरी पेश गरेको दुईपटक भइसकेको छ तर उक्त प्रतिवेदनमाथि अहिलेसम्म कुनै कारवाही अगाडि बढेको छैन । गत वर्ष पेश गरेको प्रतिवेदनमाथि कुनै कारवाही नभएको अवस्थामा यस पटक पनि समन्वय समितिले अनुगमन गरी त्यसको प्रतिवेदन सार्वजनिक गरेको छ ।

त्यसरी गरिएको अनुगमनमा देखिएका समस्या र मापदण्ड विपरीत सञ्चालन भएको पाए पनि सिधै कारवाही गर्ने अधिकार नभएपछि सम्बन्धीत निकायलाई आग्रह गर्ने कार्यले मात्रै अनुगमन प्रभावकारी नहुने अवस्था रहेको केसीले स्वीकार गरे। यसअघि पनौती नगरपालिका–५ नैकिनटारमा रहेको धनेश्वर रोडा उद्योगलाई बन्द गर्न निर्देशन दिएको भए पनि निर्वाधरुपमा सञ्चालन भइरहेको छ।

कतिपय अवस्थामा कार्यविधि २०७५ लागू भएपश्चात सञ्चालित क्रसर उद्योगमध्ये मापदण्ड पूरा नगरेका उद्योगको हकमा मापदण्ड पूरा गर्न लगाउने र पूरा नगरेमा वा गर्न नसक्ने अवस्था भएमा स्थानान्तरण गर्नका लागि निर्देशन दिनेलगायतको सुझाव प्रदेश र संघ सरकारसमक्ष पेश गर्ने निर्णय गरेको केसीले बताए। समितिले जिल्लामा सञ्चालित क्रसर उद्योगमध्ये २२ वटाको अनुमगन गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .