ad ad

कारोबार


मौद्रिक नीति समीक्षाअघि अर्थमन्त्रीले भेटे राष्ट्र बैंकका पदाधिकारी र बैंकर

मौद्रिक नीति समीक्षाअघि अर्थमन्त्रीले भेटे राष्ट्र बैंकका पदाधिकारी र बैंकर

नेपालखबर
फागुन ५, २०७६ सोमबार १२:३,

नेपाल राष्ट्र बैंकले गर्ने मौद्रिक नीतिको समीक्षाअघि अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका पदाधिकारी र बैंकरहरुसँग छलफल गरेका छन्।

राष्ट्र बैंकले यही हप्ता समीक्षा गर्ने तयारी गरिरहेको छ। उक्त समीक्षाले मौद्रिक नीतिमा केही फेरबदल समेत हुन सक्नेछ। सोही कारण अर्थमन्त्री खतिवडाले हाल रहेका समस्याहरुबारे छलफल गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार मुलुकको समसामयिक, आर्थिक तथा वित्तीय अवस्था एवम् बैंकिङ क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरूबीच छलफल तथा अन्तर्क्रिया कार्यक्रम भएको हो।

यस कार्यक्रममा बैंकिङ क्षेत्रमा विशेष गरी तरलताको अवस्था, कर्जाको माग, असुली र ब्याजदर, सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी पालना गर्नुपर्ने विषयहरू, सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको स्वःस्फूर्त सहभागिता अभिवृद्धि, संस्थागत सामाजिक उत्तरदायित्वको दायरा फराकिलो बनाउने विषय, सहुलियतपूर्ण कर्जा वितरणलाई ऋणीको आवश्यकता र मागबमोजिम परिचालन, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनहरुको कार्यान्वयन र केवाईसी (नो योर कस्टुमर)को मौजुदा व्यवस्थालाई सरलीकरण गर्ने, हेजिङ सुविधा, मर्जर नीतिको कार्यान्वयनलगायत विषयहरूमा छलफल भएको थियो।

उक्त छलफलमा अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्थामा रहेका समस्याहरूको तत्काल र दीर्घकालीन समाधानको लागि संयन्त्र विकास गरी समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र निजी क्षेत्रलाई विश्वासको वातावरण सृजना गरी लगानीमैत्री र व्यावसायिक वातावरणको सुनिश्चित गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एसोसिएसनलाई आग्रह गरे।

आजको छलफलका क्रममा उठेका विषयहरुमा केन्द्रित भई थप सहजीकरण गर्न आवश्यक गृहकार्य गरी कार्यान्वयनको प्रक्रियामा लैजान अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एसोसिएसनले यथाशीघ्र छलफल गरी टुंगोमा पुर्याउन समेत निर्देशन दिएका छन्।

उक्त कार्यक्रममा अर्थसचिव शिशिर कुमार ढुङ्गाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरूलगायत अन्य पदाधिकारीहरु, अर्थ मन्त्रालयका पदाधिकारीहरुसहित सबै वाणिज्य बैंक एवं सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .