कारोबार


साझा यातायातको ३० करोडबराबरको सेयर प्रदेश ३ ले किन्यो

साझा यातायातको ३० करोडबराबरको सेयर प्रदेश ३ ले किन्यो

नेपालखबर
असार १६, २०७६ सोमबार १०:१४,

साझा सहकारीले सञ्चालन गरिरहेको साझा यातायातको ३० करोडको रुपैयाँबराबरको सेयर प्रदेश ३ ले खरिद गरेको छ। प्रदेश ३ सँगै ललितपुर महानगरपालिकाले पनि साझाकाे  २ करोड ५० लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।

त्यस्तै काठमाडौं महानगरपालिकाको सेयर पहिलेदेखि नै साझामा रहेको छ। काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँ बराबरको सेयर पुनः खरिद गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। आज उक्त खरिदबापतको चेक हस्तान्तरण कार्य आज एक कार्यक्रमबीच भएको हो।

sajha new bus 2 jpg

सेयर खरिदबापतको रकम विद्युतीय गाडी सञ्चालनमा लगानी गर्ने सम्बन्धमा चार पक्ष (प्रदेश ३, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र साझा यातायात) बीच सहमति समेत भएको छ।
उक्त सहमतिपत्रमा प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र साझाका अध्यक्ष कनकमणि दीक्षितले हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी दिनमा प्रदेश ३ ले विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने बताए। उनले विद्युतीय सार्वजनिक गाडीको यात्रा सझाबाट सुरु भएको र आगामी दिनमा यसलाई अझै विस्तार गर्ने योजना बनाएको जानकारी गराएका हुन्। 

त्यस्तै साझा यातायातले विद्युतीय प्रणालीको यात्रा कार्य समेत उक्त कार्यक्रमका बीच शुभारम्भ गरेको छ। उक्त कार्डमार्फत भाडा भुक्तानी गर्न मिल्ने कार्ड साझाले सञ्चालनमा ल्याएको हो। साझाका अध्यक्ष कनकमणि दीक्षितले यो कार्य केवल साझामात्र सीमित नराखी अन्य सार्वजनिक यातायातमा समेत सञ्जाल विस्तार गर्नुपर्ने बताए। यसले यात्रु र सार्वजनिक यातायात दुवैलाई छिटोछरितो बनाउने उनको भनाइ छ।

साझाले थप्यो २० वटा बस

sajha new bus
यसैबीच, साझा यातायात सहकारी संस्थाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा २० वटा बस थप गरेको छ। अशोक लेल्याण्ड कम्पनीका बसहरु थप गरिएको साझाले जनाएको छ। उक्त बसहरु आजदेखि नै सञ्चालनमा समेत आएको छ।

थपिएका बस नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्म सञ्चालन हुनेछ। पेट्रोलियम पदार्थबाट चल्ने यी गाडीहरु साझाले खरिद गर्नेमा सबैभन्दा पछिल्लो हुने समेत अध्यक्ष दीक्षितले बताए। नेपालमा प्रदूषणको मुख्य कारण यातायात क्षेत्र नै देखिएकोले आगामी दिनमा विद्युतीय गाडीमा साझाको लगानी रहने उनले बताए।

काठमाडौं महानगरले गरायो टिकटको अनिवार्य व्यवस्था
काठमाडौं महानगरपालिकाले ‘सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५’ लागू गर्दै अनिवार्य टिकटको व्यवस्था गरेको छ। स्थानीय राजपत्रमा समेत प्रकाशित भइसकेको उक्त ऐनले सार्वजनिक गाडीमा कागजी वा विद्युतीय टिकट अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ।

sajha 4

ऐनअनुसार सेवा प्रदायकले गाडी चढ्नुअघि वा चढेलगत्तै यात्रुसँग तोकिएको भाडा लिई अनिवार्य टिकट दिनुपर्ने प्रावधान राखिएको हो। सार्वजनिक सवारी यात्रा गर्ने यात्रुले अनिवार्य टिकट लिनुपर्ने, कागजी टिकटलाई विद्युतीय टिकटले विस्थापन गर्नुपर्ने, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा सहुलियत उपलब्ध गराउनुपर्नेछ, सार्वजनिक यातायातले तोकिएको स्थानमा मात्र यात्रु चढाउने तथा ओराल्ने, चालक र सहचालकलाई पोसाक उपलब्ध गराउने, यात्रुलाई गुनासो गर्ने व्यवस्था मिलाउने, प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण, फोहोर फाल्ने भाँडो अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ।

ऐनमा यात्रु चालक र परिचालकका कर्तव्यहरू उल्लेख छन्। टिकट काटेर मात्र यात्रा गर्ने, यात्राका क्रममा उत्पादित फोहोर तोकिएको स्थानमा मात्र फाल्ने, अरूलाई असर हुने क्रियाकलाप नगर्ने, यात्राका क्रममा मदिरा तथा सुर्तीजन्य वस्तुको सेवन नगर्ने, अश्लील नबोल्ने, यौनजन्य हिंसा नगर्ने, लागूऔषधको ओसारपसार नगर्ने आचरणलाई यात्रुको दायित्वमा राखिएको छ।

महानगरपालिकाले जारी गरेको राजपत्रअनुसार काठमाडौंमा चल्ने सबै सार्वजनिक यातायातले टिकट अनिवार्य दिनुपर्ने र यात्रुले पनि लिनुपर्ने व्यवस्था गरेको छ। नियम पालना नगरे १ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .