जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ। त्यहाँ आयोजित विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आईटीबी’ बर्लिन २०२४ मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले जनाएको छ।
पाटा नेपालले नेपालको पर्यटन व्यवसायमा आबद्ध निजी क्षेत्रका ४० विविध पर्यटन र हस्पिटालिटी व्यावसायिक कम्पनीसँगको सहकार्यमा यही फागुन २२ देखि २४ गतेसम्म आयोजित आईटीबी बर्लिनमा सहभागिता जनाएको हो।
पर्यटन उद्योगसम्बन्धी आयोजना भएको उक्त प्रवर्धनात्मक मेला विश्वकै सबैभन्दा ठूलो एवं अग्रणी ‘ट्राभल ट्रेड शो’का रुपमा स्थापित कार्यक्रम हो। यस वर्ष सम्पन्न आईटीबी बर्लिनमा एक सय ७० देशबाट पाँच हजार पाँच सयभन्दा बढी बिक्रेता तथा प्रदर्शक कम्पनीसहित विश्वभरिबाट पर्यटनकर्मी, पर्यटन उद्योगका क्रेता र व्यापार आगन्तुकलाई आमन्त्रण गरिएको थियो।
आईटीबी बर्लिन २०२४ को आधिकारिक प्रायोजक देश ओमानले औपचारिक उद्घाटन कार्यक्रममा भव्य प्रस्तुतिसहित ओमानलाई एक आकर्षक गन्तव्यका रुपमा प्रवर्द्धन गरी उपस्थित सम्पूर्ण विश्वव्यापी पर्यटन सरोकारवालालाई भ्रमणका लागि आह्वान गरेको थियो।
जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपाल प्याभिलियनको उद्घाटनमा देशको पर्यटन प्रवर्द्धनका लागि विश्वको सबैभन्दा ठूलो प्लेटफर्ममा नेपालको महत्त्वपूर्ण र प्रभावशाली उपस्थिति सुनिश्चित गरेको जनाउँदै व्यवसायीलाई धन्यवाद दिए।
पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले आइईटीबी बर्लिनमा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्न सहभागी सबै नेपाली पर्यटन व्यवसायीलाई सक्रिय सहभागिता लागि धन्यवाद दिए। मेलाका माध्यमबाट नेपालको छवि उच्च राख्दै देशको पर्यटनको बजारीकरण र प्रवर्द्धनका लागि पाटा नेपालले भूमिका निर्वाह गर्न पाउँदा खुसी व्यक्त गर्दै नेपालमा दिगो पर्यटन विकासमा सक्रिय रहने प्रतिबद्धता जनाए।
मेलामा सहभागी वरिष्ठ पर्यटन व्यवसायी तथा कोरा टुर्सका कार्यकारी व्यवस्थापक विजय अमात्यले नेपालको प्रभावशाली प्रस्तुति, सहभागीको उच्च सङ्ख्या र स्ट्यान्डको आकर्षक सजावटले विश्वको ध्यानाकर्षण भएको उल्लेख गरे। रासस
Shares

प्रतिक्रिया