ad ad

कारोबार


एनसेलले भन्यो : आजको दिनसम्मका सबै कर दायित्व पूर्णरुपमा पालना गरेका छौँ

एनसेलले भन्यो : आजको दिनसम्मका सबै कर दायित्व पूर्णरुपमा पालना गरेका छौँ

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १३:१५, काठमाडौँ

दूरसञ्चार कम्पनी एनसेलले आजको दिन सम्मको सबै कर दायित्वहरु सम्पूर्ण रुपमा पालना गरेको स्पष्ट पारेको छ।

एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै एनसेलले कर कानुनको परिपालन पूर्णरुपमा भएको र यसको प्रमाणीकरण कर कार्यालयबाट भएको जनाएको छ।

साथै, यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुन अनुसार यसको पालना गरिने पनि कम्पनीको भनाई छ।

‘यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्घ रहेको छ र आफ्ना सम्पुर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेवार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौं’ एनसेलले भनेको छ, ‘हामी आवश्यक सहमतिहरुका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेका छौं।’

साथै, आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुर्याउन प्रतिबद्ध रहेको एनसेलले जनाएको छ।

एनसेलको सेयरहोल्डिङ्का बारेमा थप प्रकाश पार्दै स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मूलका सेयरधनी सतिश लाल आचार्यले भने, ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो सेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो। सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो।’

उनले थपे, ‘सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ। यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीेले निश्चित समयावधीभित्र प्राप्त गर्नेछ। यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने छ।’

आजियाटाले पारदर्शिता सुनिश्चित गर्दै आफ्नो प्रेस विज्ञप्तिमार्फत कारोबारको विस्तृत विवरण सार्वजनिक गरेको पनि जनाएको छ।

एनसेलमा केही परिवर्तन भईरहेको बेलासमेत ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने भन्दै एक जिम्मेवार कम्पनीको रुपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ।

एनसेलले भनेको छ, ‘लाखौं नेपालीहरुको जीवनलाई समृद्घ बनाउने उद्देश्य अनुरुप परिस्कृत डिजिटल सेवाहरुमार्फत दृढ इच्छा र क्षमताका साथ अझ सशक्त रुपमा अघि बढ्न एनसेल तयार छ। मोबाइल कनेक्टिभीटी सेवामा मात्र सिमित नभई विभिन्न सेवाहरु प्रदान गर्न हामी हाम्रो नेटवर्कको पूर्वाधार विकासलाई निरन्तरता  दिने छौं र यससँगै देशमा प्रविधिले ल्याउने महत्वपूर्ण अवसरहरुको पनि सिर्जना हुनेछ। एनसेलको यस नयाँ यात्राको सुरुवात एक परिवर्तन मात्र नभई यसले डिजिटल नेपाल निर्माणको अवधारणालाई सक्रिय रुपमा योगदान पुर्याउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .