ad ad

कारोबार


एनसेलको सेयर खरिदबिक्री प्रकरण रहस्यमय : सभामुख घिमिरे

एनसेलको सेयर खरिदबिक्री प्रकरण रहस्यमय : सभामुख घिमिरे

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १६:९, काठमाडौँ

सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिदबिक्री प्रकरण रहस्यमय बनेको बताएका छन्।

बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। उनले एनसेलको सेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आएको बताए।

उनले भने, ‘एनसेलको सेयर खरिदबिक्री प्रकरण रहस्यको र अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आइरहेको छ। जसरी अरुको चासो गइरहेको छ, संसदमा पनि त्यत्तिकै र अझ त्यो भन्दा बढी जिम्मेवारीका साथ चासो लिएर अघि बढेको छ।’

उनले संसदले एनसेल खरिदबिक्री प्रकरणलाई जिम्मेवारीका साथ चासो लिएर अघि बढाइरहेको बताए। उनले संसद बन्द रहेका बेलामा संसदीय समितिमार्फत यस विषयमा छलफल र बहस भइरहेको बताए।

उनले भने, ‘संसद अहिले स्थगित छ तर संसदीय समितिहरु क्रियाशील रुपमा अघि बढिरहेका छन्। यसमा पनि दुई वटा संसदीय समितिले यसलाई छलफलका विषय बनाएर तुरुन्तै बैठक गरेका छन्। सरकारसँग स्पष्टीकरणका लागि माग गर्ने लगायतका कामहरु संसदीय समितिबाट भइरहेका छन्। सिमहरु नष्ट गर्ने भन्ने कुराहरू सुनियो, यस्तो गर्दा देशको सम्पत्ति पनि क्षति हुनपुग्छ। यी कुरामा विचार गरेर यसको छानबिन, निस्कर्षमा जानुपर्छ। भौतिक क्षति नहुने गरी कार्यक्रम अघि बढाउन जरुरी हुन्छ।’

सभामुख घिमिरेले अनेरास्ववियुले सेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको विरोधमा पनि भौतिक क्षति नगरी आन्दोलनका कार्यक्रमहरु अघि बढाउनुपर्ने बताए। अनेरास्ववियुले एनसेल सेयर बिक्री प्रकरणको सत्य तथ्य छानबिन गर्न आग्रह गरेको छ।

खर्बौंको सम्पत्ति रहेको, नियमित रुपमा मुनाफा आर्जन गरिरहेको तथा नेपालकै बैंक तथा वित्तीय संस्थाहरुको अरबौंको ऋण लगानी समेत भएको कम्पनीको ८० प्रतिशत सेयरलाई नेपाल दूर सञ्चार प्राधिकरणलाई पूर्व जानकारी नगराई बिक्री गर्नुले पुँजीगत लाभ कर लगायत कर छली गर्ने उद्देश्य राखेको देखिएको अनेरास्ववियुको ठहर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .