कारोबार


वीरगञ्ज भन्सारबाट ११ कार्टुन सुकमेल चोरी

वीरगञ्ज भन्सारबाट ११ कार्टुन सुकमेल चोरी

नेपालखबर
मंसिर १८, २०८० सोमबार १४:४५, वीरगञ्ज

पर्साको वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट ११ कार्टुन सुकमेल चोरी भएको छ। काठमाडौँस्थित पशुपति एक्जिम प्रालिले दक्षिण अमेरिकाको ग्वाटेमालाबाट खरिद गरी ल्याएको २० फुटे आठ वटा कन्टेनरमध्ये दुई वटा कन्टेनरको सिल टुटाएर ११ कार्टुन सुकमेल चोरी भएको हो।  

गत अक्टोबर १९ तारिखमा दुबई हुँदै विशाखापटनम् बन्दरगाह भएर एक्सप्रेस–वे कन्टेन कम्पनीका आठ वटा कन्टेनरमा खरिद गरी ल्याइएको दुई सय कार्टुन सुकमेलमध्ये कन्टेनर नम्बर इएससियू २००२२०६ र इएससियू २००२२४८ को सिल हटाएर ११ कार्टुन सुकमेल चोरी भएको आयातकर्ता कम्पनीका वीरगञ्जस्थित प्रतिनिधि मधु बरालले जानकारी दिए।

उनका अनुसार चोरी भएको ११ कार्टुनमा प्रतिकार्टुन ४० किलोका दरले चार सय ४० किलो सुकमेल रहेको थियो। चोरी भएको सुकमेलको मूल्य अन्दाजी रु १३ लाख ४२ हजार रहेको उनको भनाइ थियो। सुख्खा बन्दरगाह भन्सार सञ्चालन गर्ने प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका कामदारकै मिलोमतोमा सुकमेल चोरी भएकाले छानबिन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको प्रतिनिधि बरालले जानकारी गराए।   

सुकमेल जाँचपास गर्न २० प्रतिशत भन्सार महसुल, दस प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी ४३ प्रतिशत अर्थात् ८० लाख राजस्व तिर्नुपर्नेमा आयातकर्तासँग रकम अभाव भएपछि विगत दुई महिनादेखि जाँचपासका लागि सो कन्टेनर सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयमा अड्किएको थियो।    
यता उक्त कार्यालयका प्रमुख रामप्रसाद मैनालीले कन्टेनरको उक्त घटनाबारे अनुसन्धान भइरहेको र पछि थप विवरण उपलब्ध गराउने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad