पछिल्ला दिनमा नेपाली टेलिभिजन च्यानलमा एउटा फरक खालको विज्ञापन बजिरहेको छ। साना तथा मझौला कर्जा प्रवद्र्धन गर्ने विषयलाई केन्द्रमा राखेर तयार पारिएको विज्ञापनले धेरैले ध्यान आकर्षित गरेको छ। कृषक आफ्ना कृषि उपज व्यापारीलाई बिक्री गरिरहेका छन् तर त्यहीमध्येकी एक कृषक अर्थात् रंगमञ्चकी कलाकार लक्ष्मी बर्देवा आफूले उत्पादन गरेको कृषि उपज व्यापारीलाई बेच्न छाडेर आफैँ उद्यम गर्न थालेकी छन्। यही सामान्य लाग्ने विषय समेटिएको विज्ञापनले भन्ने सन्देश हो, ‘साना तथा मझौला उद्यम गर्न चाहुनुहन्छ भने एनएमबी बैंकमा आउनुस् र सहजै कर्जा लिनुस्।’
पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्था साना तथा लघु उद्यमतिर आकर्षित भइरहेका छन्। कृषि र साना तथा मझौला उद्योगको विकास नगरी आर्थिक समृद्धि कोरा कल्पना मात्रै हुनजान्छ भन्ने ध्येयका राखिएको छ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयसँगै जोडिएको बैंकको केन्द्रीय कार्यालय पुग्दा साँझको ५ बजेको थियो। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी विभागीय बैठकमा थिए। बैठक सक्ने बित्तिकै हामी उनीसँग गफिन थाल्यौँ। उनले आफ्नो बैंकिङ ‘करियर’, बैंकको लगानी तथा भावी दिशाका बारेमा सविस्तार हामीलाई सुनाए।
‘३० वर्षे बैंकिङ करियरमा हरेक दिन हरेक मिनेट मेरा लागि सिकाइका समय बनिरहेका छन् । सुखमा मात्तिइन्, दुःखमा पनि आत्तिने बानी छैन। हरेक क्षणलाई सदुपयोग गरेको छु। त्यसैले नै मलाई सफलता दिएको छ’, उनले भने, ‘बैंकिङ आफैँमा रिस्की क्षेत्र पनि हो। तर, यसलाई फुकी फुकी विचार गरी गरी अगाडि बढ्दा सफलता मिलेको छ।’
बैंकिङ क्षेत्रका सुरुवाती दिनहरु अहिले जस्तो सहज थिएन। तीनवटा सरकारी बैंक थिए भने तीनवटा निजी क्षेत्रका त्यसमा पनि विदेशी लगानीका बैंक थिए। बैंकिङ कारोबार गर्न असाध्यै गाह्रो थियो। उपभोक्ता बैंक खोज्दै जानुपर्दथ्यो तर अहिले बैंकहरुले ग्राहक खोज्दै हिँडेका छन्। तत्कालीन ग्रिन्डलेज बैंक हालको स्ट्यान्डर्ड चार्टर्ड बैंकको सहायक पदबाट बैंकिङ करियर सुरु गरेका केसी यतिबेला एउटा सफल बैंकरका रुपमा चिनिन्छन्।
जीवनका पयो खोल्दै जाँदा उनले सफलताका कथा मात्रै सुनाएनन् भीषण दुःखका पत्र पनि खोले। ‘जीवन सिकाइ हो, अनुभवले खारिँदै जाँदा दुःख पनि सुखमा परिणत हुँदै जान्छन्, मैले सिकेको जीवनमन्त्र यही हो, भाग्यले यहाँसम्म पुर्यायो’, केसीको मुहारमा विगतमा ती दिन ताजा बनेर आए।
जतिबेला सामान्य एलसी खोल्नसमेत महिना दिन लाग्थ्यो, ग्राहकहरु भौँतारिँदै हिँड्थे। बैंकका कर्मचारी कुनै छुट्टै ग्रहबाट आएका जस्ता थिए। समयले परिवर्तन ल्यायो, सोच बदलियो, मान्छेका चाहना र अवसर पनि बदलिए। बैंक उद्योगका रुपमा विकास हुँदै गयो, आज म जहाँ छु, त्यो मेरो मेहनतको परिणाम हो, केसी विगतमा हराए। ‘सहायक पदबाट जागिरे जीवन शुरु गरेको मेरा लागि बैंकको उच्च पद प्राप्त हुनु नै सफलताको उच्चतम विन्दु हो। मेरा लागि परिवारको सहयोग, अनि भाग्य दुवै सफलता कारक बने। सिकारु मेरो चरित्र आज पनि उस्तै छ’, उनले थपे।
उनले आफ्नो आनीबानीका बारेमा समेत बताए। केही समय स्ट्यान्डड चार्टडमा गुजारे पनि एनमएबी फाइनान्स हुँदै विकसित भएको आजको एनएमबी बैंकका हरेक शाखामा काम गरेको अनुभव पनि उनका लागि सहयोगी बने। ‘म सेलीब्रेटी होइन। तर, अवसरको भने सदुपयोग गरेँ। यो नै मेरो जीवनको सफलताको यात्रा हो। तपाईं यसलाई के भन्नुहुन्छ आफैँ भन्नुस्’, उनले हामीतिर नै आफ्नो प्रश्न छाडे। बैंकले गत आर्थिक वर्षमा रु दुई अर्ब २६ करोड नाफा आर्जन ग¥यो। ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि सञ्चित मुनाफा रु ५४ करोड ८९ लाख र सेयर स्वाप अनुपातबाट रु ६० करोड ३६ लाख जगेडा कोषमा राखेको छ। सिमेन्ट उद्योगमा क्रान्ति नै ल्याएको नेपाली साझेदारसहितको होङ्सीमा नेपाली बैंकहरुले रु १६ अर्ब लगानी गरेका छन्। त्यसमा एनएमबीले मात्रै ६ अर्ब ७५ करोड लगानी गरेको छ। सीडीसीको नेपाल प्रवेश पनि सोही बैंकबाट भएको हो। गत फागुनमा सीडीसीले बैंकलाई रु एक अर्ब ५० ऋण दिएको छ। त्यो सीडीसीको पहिलो लगानी थियो।
बैंकले विदेशी रणनीतिक साझेदारको परामर्शमा धेरैभन्दा धेरै साना तथा मझौला कर्जामा ध्यान दिएको छ। विदेशबाट कर्जा ल्याएर बैंकले गाउँगाउँमा गएर कृषि कर्जा प्रवाह गर्दै आएको छ। महिला उद्यमशील महासंघसँग सम्झौता गरेर १२ हजार महिलासँग बैंक जोडिन लागेको छ। विदेशबाट फर्केका नेपालीलाई कर्जा प्रवाह गर्न लागेको छ। यसै आर्थिक वर्षमा एक हजारभन्दा धेरैलाई यस्तो कर्जा प्रवाह गर्न लागेको छ।
देशभित्रै पूँजी बनाउने सोच
देशको विकासका लागि पहिले आन्तरिक स्रोतको जोगाड गरौँ भन्नेतर्फ ध्यान दिएको छ एनएमबीले। गत वैशाख १ गतेदेखि प्रधानमन्त्रीले सुरु गरेको सबै नेपालीको बैंक खाता अभियानले सार्थक सफलता पाइरहेको छ। पूँजी निर्माण गर्ने र बैंकिङ पहुँच पु¥याउने त्यो एउटा सुवर्ण अवसर नै थियो। खर्च गर्ने मात्रै होइन बचत गर्ने पनि बानी पनि बसाल्ने अभियान हो त्यो। ‘खोलौँ खाता’ भन्ने नाराले बैंकिङ उद्योगलाई सहयोग गरेको छ।
एनएमबी अब राजधानीभन्दा पर दूरदराजमा जान प्रयत्न गरिरहेको छ। बागमती प्रदेशभन्दा पर जाऔँ र केही गरौँ भन्ने सोँच छ बैंकको। सपना दूरदराजमा छन्। चाहना गाउँमा छन्, शहरोन्मुख क्षेत्रमा छन्। लगानी सहरभन्दा पर जरुरी भइसकेको छ। मानिसले नयाँ सोच सहरको भीडभन्दा पर प्रतिबिम्बित गरेका छन्। बैंकले अरू संस्थालाई गाभ्दा पनि ग्रामीण क्षेत्रलाई केन्द्रमा राखेका वित्तीय संस्थालाई ध्यान दिएको छ।
नेपालको समस्या बचत नगर्ने अनावश्यक खर्च गर्नेमा छ। नेपाल भित्रिएको रु आठ खर्ब जति विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। विलाशिताका सामानमा पैसा बगिरहेको छ। सरकारले सुरु गर्नुभन्दा पहिल्यै एनएमबी बैंकले ‘एक घर, एक बैंक खाता’ भन्ने अभियान नै चलाएको थियो। त्यसको ब्रान्ड एम्बेस्डर महानायक राजेश हमाल छन्। बचत गर्नुपर्छ भनेर वित्तीय साक्षरता अभियान चलाउने पहिलो बैंक थियो एनएमबी।
कृषि उद्यमशीलतामा ध्यान
‘जहाँ उद्यमशीलता छ, त्यहाँ लगानी गरौँ’ भन्ने बैंकको मूलमन्त्र छ। त्यसले रोजगारी सिर्जना हुन्छ र आर्थिक गतिविधि पनि बढाउँछ भन्नेतर्फ ध्यान दिएको छ। बैंक खाता अभियान सुरु भएपछि दुई लाख जति नयाँ खाता थपिए। नेपालमा वार्षिक रु दुई खर्ब जतिको कृषि उपज आयात भइरहेको छ। नेपालमा काम गर्ने मान्छे छन्, उद्यमशीलता भएका किसान पनि छन्। बजार छ, उपभोग पनि छ। उत्पादन गर्ने किसान र बजारको सम्बन्ध राम्रो नहुँदा विचौलियाले हालीमुहाली गरेका छन्।
दुःख गर्ने किसानले केही नपाउने, उपभोक्ताले बढी पैसा तिर्नुपर्ने अवस्था छ। त्यो अवस्थाको अन्त्यका लागि कृषि उद्यमशीलतालाई जोड दिएको छ बैंकले। काम गर्न सक्ने ६० लाख कामदार विदेशमा छन्। ‘उनीहरु सीप सिकिरहेका छन्। उनीहरु फर्केर आउँदा नेपालमा काम गर्ने वातावरण बनोस् भनेर हामी लागेका छौँ’, लगानीको विराट क्षेत्र देखिरहेको केसीले सुनाए। नेपालमा रहेको अपार सम्भावना पानीमा बगेर गइरहेको छ। त्यो सम्भावनालाई यथार्थतामा परिणत गर्ने केसीको सोँच छ।
ऊर्जामा ठूलो लगानी
बैंकले कृषिको अलावा ऊर्जा क्षेत्रमा समेत ठूलो लगानी गरेको छ। जलविद्युत्का अलावा वैकल्पिक ऊर्जामा पनि ध्यान दिएको छ। नेपाललाई मध्यस्तरीय आय भएको देश बनाउने महत्वपूर्ण माध्यम भनेकै ऊर्जा हो। पछिल्ला १५ वर्षमा निजी क्षेत्रले गरेको लगानीले ठूलो योगदान गरेको छ। व्यापारिक घराना पनि ऊर्जामा लगानी गर्न आएका छन्। त्यसमा एनएमबी बैंकको ठूलो साथ रहेको केसी बताउँछन्।
सो बैंकले मात्रै ४० भन्दा बढी परियोजनामा लगानी गरेको छ। रु १६ अर्ब बराबरको कर्जा प्रतिबद्धता जनाएको छ। एनएमबी बैंकको साझेदार संस्था पनि ऊर्जामा लगानी केन्द्रित गर्न चाहन्छ। डचहरुको वित्तीय संस्थासँग एनएमबी बैंक जोडिएको छ। नेदरल्यान्डको एफएमओ बैंकको साझेदार हो। सो संस्थाको १५ प्रतिशत सेयर एनएमबीमा छ। दिगो विकास गर्न दीर्घकालीन लगानी गरौँ भन्ने उनीहरुको सोच छ। ऊर्जा क्षेत्र प्रमुख प्राथमिकतामा पर्नुको पछाडि सोही कारण भएको केसी बताउछन्।
बैंकले सौर्य ऊर्जामा पनि लगानी गरेको छ। रुफ टफ सोलार परियोजनामा पनि त्यसमा समेटिएको छ। नेट मिटरिङ गर्ने कार्यविधि नेपाल विद्युत् प्राधिकरणले ल्याएको छ। ‘विद्युत् पर्याप्त हुने वित्तिकै नयाँ प्रकारको लगानी जुट्छ। रासायनिक मल कारखाना खुल्छन्। नयाँ सिमेन्ट उद्योग खुल्छन्। लागत घटेपछि मूल्य प्रतिस्पर्धी हुन्छ’, उनले भने। राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि नै ऊर्जामा लगानी गरेको केसीले तथ्यांक पेश गरे।
‘लोडसेडिङ हटाउन नेपाल विद्युत् प्राधिकरण लाग्यो, हामीजस्ता बैंकहरुले पनि लगानी ग¥यौँ। आजको दिनमा जस प्राधिकरणले लिन्छ तर बैंकको लगानी पनि कम छैन नि? देश उज्यालो भएको जश हामीले पनि पाउनुपर्छ’, केसीले दावी गर्दै भने, ‘हामीले दिगो विकास गर्ने क्षेत्रका रुपमा ऊर्जालाई लियौँ, नेपालमा ३६० दिन घाम लाग्छ, सौर्य परियोजनामा लगानी गर्दा फाइदा हुन्छ। हामी गरेको कामले भावी पुस्तालाई पनि फाइदा पुग्ने हुनुपर्छ।’
सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यलाई पछ्याउन बैंक तथा वित्तीय संस्था लागेका छन्। नेपालका सबै बैंक तथा वित्तीय संस्थाको पैसा जम्मा पार्दा पाँच हजार मेगावाटभन्दा बढी निर्माण गर्ने स्रोत जम्मा हुँदैन। लगातार आठदेखि १० प्रतिशतको आर्थिक वृद्धिका लागि ठूलो लगानी चाहिन्छ। उनले ‘क्वान्टम लिप’को कुरा गरे। नेपालको पूँजीले मात्रै त्यो छलाङ हान्न नसक्ने अवस्था छ। उच्च आर्थिक वृद्धिका लागि ऋण लिन डराउनु हुँदैन तर त्यसलाई सदुपयोग गर्नूपर्ने उनी सुनाउछन्। नेपालको कूल ग्रार्हस्थ उत्पादनको ३० प्रतिशतको हाराहारीमा मात्रै ऋण छ। अरू देशले ७५ प्रतिशतसम्म पनि ऋण लिएका छन्।
संसारभर दिगो विकासका लागि फाइनान्सिङ गर्ने कोष छन्। डच फाइनान्सले लगानी गरेको र स्वपूँजी नै राखेकाले पनि एनएमबीलाई सजिलो भएको उनको धारणा छ। ‘नेपालको आर्थिक क्षेत्रमा हामीले केही नयाँ गरौँ भन्ने लाग्यो। अरू बैंकभन्दा फरक छ हाम्रो लगानी गर्ने मोडल। यसअघि नै विदेशी संस्थाले लगानी गरेका कारण पनि हामीलाई सजिलो भयो’, उनले भने, ‘पुराना वैधानिकताले पनि काम ग¥यो। नेपालमा पैसा चाहिने समय आयो भन्ने भएपछि हामीले विदेशी संस्थाबाट पैसा ल्यायौँ।’
गत आवमा मात्रै १३ खर्ब जतिको व्यापार घाटा भयो। त्यसलाई घटाउने दायित्व सरकारको मात्रै होइन होला? हाम्रो पनि हो भन्ने ठानेर आन्तरिक रुपमा आर्थिक गतिविधि बढाउन केन्द्रित भएको उनको भनाइ छ।
‘विदेशबाट आएको भन्दा ठूलो परिणाममा पैसा विदेशिएको छ। त्यसलाई रोक्न केही न केही त अवश्यै गर्नुपर्छ नि’, उनले भने। कूल ३०० भन्दा बढी साना तथा मझौला उद्योगमा लगानी गरेको छ। साना, मझौला र मध्यमस्तरका उद्यम व्यवसायमा लगानी बढाउनुपर्छ भन्ने सोचका साथ प्रदेश–१, प्रदेश–५ र गण्डकीमा बलियो उपस्थिति जनाएको छ बैंकले। भौगोलिक हिसाबले बजार पहुँच विस्तारका लागि मर्जरमा गएको केसी विस्तारमा सुनाउछन्। बैंकको प्राथमिकताको क्षेत्र कृषि, ऊर्जा, पर्यटन जस्ता सरकारले प्राथमिकता दिएका नै हुन्।
साना तथा मझौला उद्यम व्यवसायमा पनि हाम्रो बलियो पकड जरुरी छ भन्ने रणनीतिले काम गरेको छ। राम्रो पडक भएका बैंक वित्तीय संस्थासँग रणनीतिक रुपमा मर्जरलाई जोड दिएको छ। त्यसले बिग मर्जर नै चाहिन्छ भन्ने मान्यतालाई समेत गलत साबित गरेको छ।
केही वर्षअगाडिसम्म काठमाडौँसहित केही प्रमुख सहरमा मात्रै धेरै आर्थिक गतिविधि हुन्थे। अहिले देशभर विस्तार भएको छ। पछिल्ला तीन वर्षमा देशको आर्थिक वृद्धिदर लगातार ६ प्रतिशतभन्दा माथि पुगेको छ। त्यसले पनि बैंकलाई अवसरै अवसर दिएको छ।
एनएमबी बैंक नै किन?
सामान्यता बचत गर्न ग्राहक बैंकमा आउँछन् तर एनएमबी बैंकले बचत मात्रै गर्दैन। बचत भएको पैसा बृहत्तर आर्थिक लाभ हुने क्षेत्रमा लगानी गर्छ। जो कोहीले बचत गरेको रकम पनि कहाँ लगानी भयो भनेर हेर्न जान्न सक्छ। एनएमबीले दिगो क्षेत्रमा लगानी बढाएको छ। कुनै ठूलो होटलमा खुल्यो भने त्यसले पोल्ट्री, डेरी र बेकरी उद्योगमा सहयोग पु¥याउँछ भन्ने ठानेको छ बैंकले। बचतकर्ताको पैसाले ब्याज मात्रै कमाउँदैन, दिगो आर्थिक विकास पनि गर्छ भन्ने मान्यता अगाडि सारेको छ। यस्तै सुशासनका आधारमा हेर्दा केसीले नेतृत्व गरेको बैंक शीर्ष स्थानमा छ। आजसम्म कुनै विवादमा परेको छैन।
‘अधिकाशं ग्राहक सन्तुष्ट छन् किनकि विदेशीदेखि स्वदेशी लगानीकर्ता पनि खुशी छन्। कर्मचारी सञ्चयकोषसमेत बैंकको लगानीकर्ता हो। डिजिटल बैंकिङमा पनि उस्तै ध्यान दिएको छ। ग्राहकलाई पछिसम्म सम्झने खालको सेवा दिएका छौँ’, उनले आफ्नो बखान आफैँ गर्दै भने, ‘नेपालको कर्पोरेट बैंकिङ एवम् सुशासनमा एनएमबी बैंक अरूभन्दा धेरै माथि छ।’
नेपालमा मोबाइलको प्रभाव बढ्दै गएको छ। हरेकको हातमा स्मार्ट फोन छ। हामी अब विद्युतीय बैंकिङमा जान लागेका छौँ। ७० प्रतिशत ग्राहक बैंकमा नै नआइकन पनि कारोबार गर्ने वातावरण बनाउन लागेको केसीले सुनाए। ग्राहकलाई गुणस्तरीय सेवा दिने हाम्रो पहिलो लक्ष्य छ।
सवारी साधनमा बढी लगानी किन ?
गाडी किन्न पैसा माग्न आयो भने सहजै दिने तर केही उद्यम गर्छु भन्नेलाई धितो खोज्ने प्रवृत्तिको कहिले अन्त्य हुन्छ होला? हाम्रो अर्को प्रश्न थियो केसीसँग। प्रश्नपछि प्रमुख कार्यकारी अधिकृत केसी केही क्षण चुप लागे। ‘बाहिरबाट हेर्दा सवारीसाधनमा भएको लगानी अनुत्पादक नै लाग्न सक्छ तर संसारभर नै अटो फाइनान्सिङ भइरहेको छ। त्यसले आर्थिक गतिविधि भइरहेको छ भन्ने पनि देखिन्छ तर हाम्रोमा बाध्यता छ। सार्वजनिक सवारीको अवस्था बेहाल छ। मानिसहरु गाडी नै नभए पनि मोटरसाइकल भने पनि किनौँ भन्ने अवस्थामा छन्’, उनले भने।
रेल सञ्जाल विस्तार नभएको अवस्थामा बाध्यता नै छ अटोमा लगानी उनले हाम्रो धरातलीय यथार्थ सुनाए। आर्थिक गतिविधि बढेर नेपाल विस्तारै फैलिँदैछ। सवारीसाधन अत्यावश्यक नै भइसकेको छ। त्यसका कारण यो उत्पादनशील क्षेत्र नै हो।
एनएमबीले विद्युतीय सवारी साधारण खरिद गर्नेलाई आधार दरमा नै ऋण दिएको छ। वातावरणीय सुरक्षा एवम् जगेर्नाका लागि पनि त्यसो गरिएको केसीको भनाइ छ। यातायातको क्षेत्रमा सरकार वा बैंकले थप लगानी गर्ने बेला आएको उनको भनाइ छ। ‘राम्रोसँग वातावरण बनाइदिनुस् कोही पनि व्यक्तिगत सवारीसाधन लिएर हिँड्दैन’, उनले भने।
किन बढी ब्याज?
ब्याजदर बजारले निर्धारण गर्छ। माग र आपूर्तिको अर्थशास्त्रीय सिद्धान्तले ब्याजदर निर्धारण गर्छ। राष्ट्र बैंकको निर्देशन छँदैछ। गत वर्षभन्दा यस वर्ष कम ब्याजदर छ तर निक्षेपकर्ताको पनि हित हेर्नुपर्छ । उनीहरुलाई मार्ने कुरा भएन । मूल्य वृद्धिको मात्रा पनि हेनुपर्नेछ, उनको जिकिर छ।
एकल विन्दुमा ब्याजदर ल्याउने विषय पनि बजारले नै निर्धारण गर्ने कुरा भएको उनको भनाइ छ। बढी ब्याजदर भएको कुरा गलत हो। हामीले त्यस्तो गरेका छैनौँ’, उनले स्पष्टीकरण दिने शैलीमा भने।
बैंकिङ सुरक्षामा अब्बल
विश्वभर नै साइबर सुरक्षाको विषय अहम् बनेको छ। जस्तोसुकै सुरक्षा प्रणाली जडान गरे पनि सुरक्षाको पर्खाल तोड्नेसँग त केही लाग्दैन। एनएमबी बैंकले के गरिरहेको छ? हाम्रो स्वाभाविक प्रश्न थियो। विश्वभर नै बैंकिङ सुरक्षाको प्रश्न उठिरहेको छ। बैंक विश्वासको व्यापार हुने क्षेत्र पनि हो। लगानीकर्ता र निक्षेकपर्ताको विश्वास पनि टुट्छ। जस्तोसुकै सुरक्षा प्रणाली राख्दा पनि ह्याक भइरहेको छ। केही समयपहिले चिनियाँ ह्याकरले प्रणाली नै झण्डै सिध्याएका थिए।
निक्षेपकर्ताको पैसा सुरक्षित राख्ने दायित्व एकातिर छँदैछ। अर्कोतिर बैंकले जर्मनीको एक सेक्युरिटी अडिट गर्ने कम्पनीलाई बोलाएर अडिट गरायो। त्यसको निष्कर्ष आयो, एनएमबी बैंक हरेक तबरले सुरक्षित छ। आईएसओ मान्यता मान्यता प्राप्त बैंकको प्रमाणपत्र पनि पायो। ‘बैंक अफ दि इयर’को पटक पटक मान्यता पाएको सो बैंकले सुरक्षाका लागि दुई–चार करोडको लोभमा फसेको छैन। केही रकम लोभ गर्दा ठूलो नोक्सानी व्यहोर्ने पक्षमा छैन बैंक।
शक्तिशाली केसी
अन्य बैंकका प्रमुख कार्यकारी अधिकृतभन्दा काम गर्ने सन्दर्भमा एनएमबी बैंकका प्रमुख कार्यकारी शक्तिशाली छन्। करिब ८० प्रतिशतभन्दा बढी ऋणको निर्णय गर्ने क्षमता केसीसँग छ। व्यवस्थापनले पनि केसीलाई स्वतन्त्र निर्णय गर्ने अधिकार दिएको छ। सुशासनमा अब्बल रहेको बैंकमा व्यावसायिक वातावरण छ। विदेशी लगानीकर्ता एफएमओले पनि त्यही सिकाएको छ। सरकारी स्वामित्वको कर्मचारी सञ्चयकोषको निर्देशक पनि सञ्चालक समितिमा छन्।
बैंकका संस्थागत लगानी बढी भएकाले पनि बोर्ड र व्यवस्थापनको बीचमा हुनुपर्ने सम्बन्ध सुमुधुर छ। विश्वासको मात्रा बढी छ। दैनिक काम कारबाहीमा सञ्चालक समिति लाग्नु हुँदैन, नीतिगत र दीर्घकालीन निर्णयमा लाग्नुपर्छ भन्ने संस्कार स्थापित छ। जसका कारण पनि निर्णय क्षमताका हिसाबले प्रमुख कार्यकारी अधिकृत केसी शक्तिशाली देखिन्छन्। केसीले ऋणको निर्णय गर्ने अधिकतम अधिकार शाखा प्रमुखलाई पनि दिएका छन्। उच्च व्यवस्थापनका कर्मचारीसँग सुमधुर सम्बन्ध छ जसले संस्थागत हितमा निर्णय गर्छ। कसलाई ऋण दिने, ब्याजदर कति हुनेजस्ता विषयमा सञ्चालक समिति लाग्दैन।
पछिल्ला तीन–चार वर्षको अवधिमा एनएमबीले विभिन्न पाँच वटा विकास बैंकलाई आफूमा समाहित गरायो। त्यसले पनि विश्वासको वातावरणलाई थप मजबुत बनाएको छ। जनतामा विश्वास बढेको छ। समृद्धिका लागि एनएमबी बैंक भन्ने नारा आम रुपमा स्थापित भएको छ। मर्ज गर्दा वा प्राप्ति गर्दा समस्या के कस्ता हुँदा रहेछन्, हाम्रो अर्को प्रश्न थियो। विभिन्न मनोविज्ञानमा काम गर्ने कर्मचारीलाई एउटै व्यवहारमा ल्याउने कुरा सबैभन्दा जटिल विषय भएको उनको प्रतिक्रिया थियो।
‘फरक प्रणाली र कार्यशैली भएका कर्मचारीलाई एकै ठाउँमा ल्याएर काम गराउनु जटिल विषय हो, तेरो र मेरो भन्ने हुँदोरहेछ’, उनले अनुभव सुनाए, ‘राम्रो योजना भएन भने जटिलता हुन्छ तर हामीले सबैलाई मिलाएर ल्याएका छौँ। कर्मचारीलाई तेरो र मेरो भन्ने गरेका छैनौँ। फरक चिन्तनमा काम गर्नेको मनोविज्ञान बुझेर परिचालन गरेका छौँ। सांस्कृतिक रुपमा एक ठाउँमा ल्याउने विषय सबैभन्दा महत्वपूर्ण रहेछ।’
फाइनान्स कम्पनीबाट सन् २००८ मा वाणिज्य बैंकमा स्तरोन्नति भएको हो, एनएमबी। विकास बैंक र फाइनान्स कम्पनीसँग मात्रै मर्ज गरेर आफ्नो उपस्थिति देशभर पु¥याएको छ। नेपालमा विदेशबाट ऋण ल्याउने बैंकको पहिचान पनि बनाएको छ। बैंकले राम्रै नाफा कमाएको छ। केन्द्रीय बैंकले तोकेका रु आठ अर्ब चुक्ता पूँजी भए पुग्नेमा अहिले रु १४ अर्ब पुगेको छ।
नेपाली बैंक पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा गएर स्रोत जुटायो। नेपालका बैंकहरुको अन्तर्राष्ट्रिय मान्यताप्राप्त स्थापित संस्थाबाट रेटिङ भएको थिएन। त्यसैले सबैका लागि त्यो नयाँ काम थियो तर अप्ठेरासँग जुधेर बैंकले विदेशबाट पैसा ल्यायो र लगानी गरेको केसी सगौरव बताउछन्। ‘विदेशीले पनि पत्याउँदा रहेछन, पैसा ल्याउने हैसियत पनि राख्दोरहेछ भन्ने सन्देश प्रवाह भयो। त्यस्तो सन्देश प्रवाहले अन्य प्रकारका व्यवसाय विस्तारका लागि हामीले अवसर पायौँ’, उनले भने।
बैंकले ऋणको किस्ता भुक्तानी गर्न थालिसकेको छ। रु ३० खर्ब निक्षेप भएको बजारमा चार–पाँच अर्ब विदेशबाट ल्याउँदैमा खासै अर्थ राख्दैन तर नजिर स्थापना गर्ने कुरा नै महत्वपूर्ण थियो। विदेशबाट ऋण ल्याउने बेलामा एनएमबीको डीडीए गरियो। त्यसले पनि धेरै कुरा सिकायो बैंकलाई। त्यो घटनालाई कोसेढुंगाका रुपमा लिन्छन् केसी।
एफएमओका अधिकारी एनएमबी बैंकको सञ्चालक समितिमा छन्। सञ्चालक समितिमा आउने व्यक्तिसँग संसारभरको ठूलो बैंकिङ अनुभव छ। त्यस्तो व्यक्तिबाट हामीले केही नयाँ कुरा सिक्ने अवसर पाएको उनको भनाइ छ। विदेशी साझेदारले संस्थागत सुशासनमा बढी जोड दिन्छन्।
नेपाली बैंकहरुको व्यवसाय खासगरी नेपालभित्र मात्रै केन्द्रित छ। नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि नेपाली बैंकहरु बहुराष्ट्रिय बैंकसँग नै निर्भर छन्। नेपालको निर्यात तथा आयात व्यापारलाई अझै सहजीकरण गर्ने हो भने नेपालका बैंकहरुले विदेशका महत्वपूर्ण र व्यापारिक हिसाबले रणनीतिक महत्वका बजारमा उपस्थिति जनाउनु अत्यावश्यक छ।

प्रतिक्रिया