ad ad

कारोबार


उत्कृष्ट घोषित भए यी करदाता, कसको कस्तो व्यवसाय?

उत्कृष्ट घोषित भए यी करदाता, कसको कस्तो व्यवसाय?

नेपालखबर
मंसिर ७, २०८० बिहिबार १९:११, काठमाडौँ

सरकारले हरेक वर्ष उत्कृष्ट करदाताहरूलाई सम्मान गर्दै आएको छ। अघिल्लो आर्थिक वर्षमा राम्रो कारोबार गर्ने विभिन्न विधामा धेरै कर तिर्नेहरूबाट छनोट गरेर आन्तरिक राजस्व विभागले करदाताहरूलाई आज पनि सम्मान गरेको हो। 

मंसिर १ गतेलाई कर दिवसको रुपमा सरकारले मनाउँदै आएको छ, र एक हप्तालाई कर सप्ताहको रुपमा मानाउने गरेको छ। 
आज कर सप्ताहको  समापन कार्यक्रममा उत्कृष्ट करदाताहरूलाई सम्मान दिएको हो। 

व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्ने विजयबहादुर शाह

विजयबहादुर शाहले नेपालको सबैभन्दा धेरै कर तिर्नेको सूचीमा उत्कृष्ट भएका छन्। उनको व्यवसाय मुख्यगरी मदिरा हो। जावालाखेल ग्रुप अफ कम्पनीनै निर्माण गरेका छन्।

शाहका जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायतका कम्पनी रहेका छन्। 

संस्थागत सबैभन्दा कर तिर्ने सूर्य नेपाल 
चुरोट, सुर्ती, उद्योगमा विदेशी लगानीसहित काम गर्दै आएको सूर्य नेपालले होटल क्षेत्रमा लगानी गर्न अघि बढेको छ। यसका लागि बूढानीलकण्ठमा कम्पनीले पाँचतारे होटल सञ्चालन प्रक्रिया अघि बढाएको  छ।

बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले सन् १९८६ देखि नेपालमा कारोबार सुरु गरेको हो। यसमा सबैभन्दा बढी सेयर स्वामित्व आईटीसी लिमिटेड इन्डियाको ५९ प्रतिशत छ। ३९ प्रतिशत सेयर नेपाली लगानीकर्ताको छ।

त्यस्तै, २ प्रतिशत सेयर लगानी भने ब्रिटिश अमेरिकन टोबाको इन्भेष्टमेन्टको रहेको छ।

रेमिटेन्स कम्पनीमध्ये उत्कष्ट आईएमई  लिमिटेड
समग्र रेमिट्यान्स कम्पनीहरूमध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ।

सन् २००१ मा स्थापित आईमईले नेपालको समग्र रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ।

आफ्नो स्थापनादेखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म र्पुयाउन प्रतिबद्ध आईएमईले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुः ख गरी   कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ।

संस्थागत आयकर धेरै तिर्ने, नेपाल दुरसञ्चार कम्पनी
संस्थागत रुपमा सबैभन्दा धेरै कर तिर्ने नेपाल दूर सञ्चार कम्पनी भएको छ। 

यसले टेलिकम सेवा र भुक्तानी प्रदायकको समेत का मगर्दै आएको छ। सरकारको र पब्लिकको समेत लगानी रहेको यस कम्पनी स्थापना भएको १६ वर्ष भैसकको छ।

आर्थिक वर्ष २०७८/७९को कारोबारबाट उत्कृष्ट करदातामा छनोट भएको हो। उक्त आर्थिक वर्ष २०७८/७९मा कम्पनीले कुल ४४ अर्ब ३७ करोड राजस्व आम्दानी गरी  ८ अर्ब ४७ करोड खुद नाफा गर्न सफल भएको थियो। यो नाफा गत वर्षको भन्दा  १ अर्ब ३५ करोडले बढी हो।
यसै आवमा कम्पनीले कर तथा शुल्क बापत आफ्नो कुल आयको ५९ दशमलव ५२ प्रतिशत अर्थात्  २६ अर्ब ४१ करोड राजस्वका रूपमा नेपाल सरकारलाई बुझाएको थियो। 

बैंक तथा वित्तीय कारोबार गर्ने संस्थामा ग्लोबल आईएमई बैंक
ग्लोबल आइएमई बैंक सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो।

ग्लोबल आइएमई बैंक विभिन्न सूचकहरुमा नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित छ। हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ कारोबार सुरुवात गरेको बैंकले विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति गरी सबल बनेको छ। 

आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुसरण गरी कार्यसम्पादन गर्दै आईरहेको बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ। 

बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक पनि हो।

ऊर्जामूलक उद्योगमा भोटेकोशी पावर कम्पनी
भोटेकोशी पावर कम्पनी प्रा.लि सिन्धुपाल्चोक जिल्लामा अवस्थित जनवरी २००१ बाट संचालनमा आएको हो। ३६ मेघावाट क्षमताको रन अफ दी रिभर विद्युत् परियोजना हो।

९ करोड ८० लाख अमेरीकी डलरको लागतमा निर्मित यस परियोजनाले विद्युत् खरिद सम्झौता अन्र्तगत नेपाल विद्युत् प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ। 

हाल भोटेकोशी नेपालको स्वतन्त्र निजी विद्युत् उत्पादकमध्यको अग्रणी कम्पनी हो। भोटेकोशी पावर कम्पनी प्रा.लिको व्यवस्थापन हाल तारा म्यानेजमेन्ट प्रालिबाट भइरहेको छ।

सबैभन्दा धेरै निर्यात गरेर उत्कृष्ट करदाता बन्नेमा डाबर नेपाल
डाबर नेपाल दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो। दन्त मन्जन, जुस, साबुन स्याम्पो र अन्य खाने कुराहरूमा कम्पनीले धेरै ध्यान दिँदै आएको छ।

डाबर नेपालको अहिले ९ अर्ब ६८ करोड रुपैयाँ थप लगानीको प्रक्रियामा समेत रहेको छ। नेपालमा सन् १९९० देखि व्यवसाय सुरु गरेको बहुर्राष्ट्रिय कम्पनी हो। 

बीमा व्यवसायमा लाइफ इन्सोरेन्स कर्पोरेसन 
बीमा क्षेत्रमा सबैभन्दा धेरै कर तिर्नेमा लाइफ इन्सोरेन्स कर्पोरेसन (एलआइसी) भएको हो। जीवन बीमाको क्षेत्रमा काम गरिरहेको यस कम्पनी भारतको लगानी रहेको बीमा कम्पनी हो।

यस कम्पनी अघिल्लो आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने कम्पनी ठहर भएको छ। 

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक कम्पनीमा नोबेल मेडिकल कलेज 
नोबेल मेडिकल कलेज चौथो पटक सर्वाधिक आयकर तिर्ने संस्थाको रूपमा सम्मानित भएको छ। डाक्टर सुनिल कुमार शर्माले नेतृत्व गरेको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको हो।

पर्यटन व्यवसायमा मनकामना दर्शन प्रालि
मनकामना दर्शन प्रालिलाई आर्थिक वर्ष २०७८/७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेबापत सम्मान गरेको छ। राष्ट्रिय कर दिवसको अवसरमा कम्पनीलाई आन्तरिक राजस्व विभागले सम्मान गरेको हो।

विसं २०५५ देखि सञ्चालनमा आएको नेपालकै पहिलो मनकामना केबलकारले हालसम्म करिब २ करोड यात्रुहरूलाई सेवा प्रदान गरिसकेको जनाएको छ। 

मध्यमस्तरिय करदातामा नेपाल स्टक एक्सचेन्ज बजार
सेयरबजारको व्यवस्थापन गर्दै आएको नेपाल स्टक एक्स्चेन्जले मध्यमस्तरिय करदाताहरूमध्ये उत्कृष्ट भएको छ। नेपालमा सेयरबजारको व्यवस्थापन गर्ने यहि एक कम्पनी मात्रै छ। 

विभिन्न करदाता हरुलाई ठूला करदाता कार्यालय, मध्यमस्तरिय करदाता कार्यालय र कर  कार्यालय गरी तीन भागमा दर्ता गरिँदै आएको छ। मध्यमस्तरियमध्ये नेपाल स्टक उत्कृष्ट भएको हो। 

वस्तु व्यापारको कारोबारमा भाटभटेनी कम्पनी प्रालि
वस्तुको खुद्रा व्यपारमा सबैभन्द्या बढि कर तिरेर भाटभटेनी सुपर मार्केट ठहर भएको छ। सन् १९८४ देखि भाटभटेनी व्यापार सेवा सुरु गरेका हो। १२० स्क्वायर फिटको स्टोरबाट बढेर नेपालको नम्बरमा परेको छ। खुद्रा क्षेत्र करदाता दैनिक १ लाख भन्दा बढी ग्राहकहरू सम्बन्धित रहेको कम्पनीको दाबी छ। 

मीन बहादुर गुरुङले सन् १९८४ मा भाटभटेनी कोल्ड स्टोर खोलेका थिए। यो साधारण ‘सिंगल शटर’ स्टोर अहिले काठमाडौं, ललितपुर, पोखरा, चितवन, धरान र बुटवलका १४ वटा प्रमुख सुपरमार्केट र डिपार्टमेन्टल स्टोरमा परिणत भएको छ।

विशेष उद्योगमा एशियन पेन्टस्
एशियन पेन्ट्स (नेपाल) प्रालिले सन् १९८३ मा आफ्नो सञ्चालन सुरु गरेको थियो। यो भारतमा एशियन पेन्ट्स लिमिटेडको सहायक कम्पनी हो। 

नेपालको सबैभन्दा ठूलो पेन्ट कम्पनी हो जसको उत्पादन सुविधा हेटौंडा औद्योगिक क्षेत्रमा अवस्थित छ।

सहकारी तथा लघुवित्त कारोबार गर्ने संस्थामा छिमेकी लघुवित्त वित्तीय संस्था 
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यता प्राप्तलघुवित्त वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर तिरेको भन्दै सरकारले सम्मान गरेको छ।
यो वर्ष आन्तरिक राजस्व विभागले छिमेक लघुवित्त वित्तीय संस्थालाई सम्मान गरेको हो। यो कम्पनी आज सहित ६ पटकसम्म  सम्मान पाइसकको छ।

२०७१, २०७३, २०७५, २०७६ र २०७७ सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीका रूपमा सम्मानित भइसकेको छ। यो वर्ष पनि उत्कृष्ट भएको हो।

कृषि एवं पशुपक्षीजन्य उद्योगमा ओ.सी.बी फुड्स एन्ड फिड्स प्रालि
यो कम्पनी विजनेश घरना रुंगटा ग्रुप अन्तर्गतको हो। यसले पर्ल चामल, दाल, पोषक पेलेट दान लगायत वस्तुहरूको प्रशोधन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .