ad ad

कारोबार


बिक्रीका लागि सल्लाघारीमा राखिएका खसी, भेडा र च्यांग्राको मूल्य घट्यो

बिक्रीका लागि सल्लाघारीमा राखिएका खसी, भेडा र च्यांग्राको मूल्य घट्यो

नेपालखबर
कात्तिक ९, २०८० बिहिबार ६:२६, काठमाडौँ

दसैंका लागि देशका विभिन्न ठाउँबाट काठमाडौँ उपत्यकामा ल्याइएका खसी, भेडा र च्यांग्राको भाउ घटेको छ। 

दसैँमा मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रूपमा खसी र च्यांग्रा बिक्री नभएपछि व्यापारीले बिहीबारबाट मूल्य घटाएका हुन्।

दसैंका लागि मुस्ताङ हुँदै ल्याइएको च्यांग्राको मूल्य किलोमा दुई सय ५० रूपैयाँ घटाइएको छ। यहाँका सबै व्यापारीको सल्लाहअनुसार नै च्यांग्राको मूल्य घटाएर प्रतिकिलो एक हजार १०० रूपैयाँमा बिक्री थालिएको व्यापारीले बताएका छन्।

बझाङबाट ल्याइएको नेपाली च्यांग्रा प्रतिकिलो नौ सय रुपैयाँमा बिक्री भइरहेको छ। चिनियाँ च्यांग्रा एक हजार एक सय रुपैयाँमा बिक्री भइरहेको छ।

दसैंका लागि ल्याइएका च्यांग्रा, भेडा, बोका र खसीको बिक्री कम भएपछि व्यापारीले मूल्य घटाएका हुन्।

च्यांग्रा व्यापारी उत्तम खड्गीका अनुसार मुस्ताङमै महँगो तिर्नुपरेकाले च्यांग्राको मूल्य बढेको थियो। 

‘चीनबाट ल्याइएको च्यांग्रा नेपाली व्यापारीले मुस्ताङबाट किन्दा किलोमा नभइ गोटामा हिसाब हुन्छ। गोटाको ३५ हजारदेखि ४० हजारसम्म रूपैयाँ तिर्नुपरेकाले यस वर्ष च्यांग्रा महँगो भएको हो,’ 
व्यापारी रमेश खड्काले बताए। उनले भेडाको पनि मूल्य घटाएर प्रतिकिलो ६५० रूपैयाँमा बिक्री सुरु गरिएको जानकारी दिए।

व्यापारी कुलबहादुर श्रेष्ठले पशु स्वास्थ्य चिकित्सकबाट भेडा र च्यांग्राको परीक्षण गरेर ल्याएको बताए। च्यांग्राको तयारी मासुको मूल्य पनि घटेको छ।

सल्लाघारीको चौरमा च्यांग्राको तयारी मासु किलोको दुई हजार ८०० रूपैयाँमा व्यापारीले बिक्री गर्दै आए थिए। भाउ घटेपछि दुई हजार ५०० रूपैयाँ किलोमा बिक्री गर्न थालेको व्यापारीले बताएका छन्।

उता सल्लाघारीमा खसीको मूल्य पनि घटेको छ। व्यापारीहरूले खसी आजबाट प्रतिकिलो ६०० रूपैयाँमा बेच्न थालेका छन्।

यसवर्ष यहाँ करिब दुई हजार खसी, दुई हजार भेडा र च्यांग्रा ल्याइएको व्यापारीले बताएका छन्। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .