सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्ने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यी दुई देशसँग श्रम सम्झौता गर्ने निर्णय लिएको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उक्त सम्झौताका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको बताएकी छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई मुलुकसँग श्रम सम्झौता गर्ने कार्यक्रममा सहभागी हुन श्रममन्त्री शरतसिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकिएको शर्माले जानकारी दिइन्।
सरकारले नेपाल र स्विट्जरल्यान्ड तथा नेपाल र रुवाण्डाबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न पनि स्वीकृति दिएको छ।
बैठकले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णयसमेत गरेको छ।
मन्त्रिपरिषद्ले सिटी अफ लन्डनको मेन्सन हाउसमा आयोजना हुने उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ।
Shares
प्रतिक्रिया