कारोबार


अध्यागमन सुधार्न नेपालले सुरु गर्‍यो नेपाली पोर्ट, प्रधानमन्त्रीले गरे उद्घाटन

अध्यागमन सुधार्न नेपालले सुरु गर्‍यो नेपाली पोर्ट, प्रधानमन्त्रीले गरे उद्घाटन

नेपालखबर
माघ १३, २०७६ सोमबार ११:३,

प्रधानमन्त्री केपी शर्मा ओलीले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पोर्टको उद्घाटन गरेका छन्। नेपाली विज्ञ र अध्यागमन विभागका प्राविधिकहरुले १ वर्ष लगाएर विकास गरिएको नेपाली पोर्टको प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको एक्सन रुमबाट स्विच थिचेर सोमबार उद्घाटन गरेका हुन्।

नेपाली पोर्टले नेपाल आउने र विदेश जाने सबैको जाँचपड्ताल कम्प्युटर प्रणालीबाटै गर्नेछ। नेपालको अध्यागमन प्रणालीलाई समयानुकूल सुधार गर्ने कार्ययोजनाअनुसार नेपाली पोर्ट विकास गरिएको हो। योसँगै आउने र जाने स्वदेशी तथा विदेशीको बायोमेट्रिक सूचना (औँठाछापलगायत) अध्यागमन प्रणालीमा सुरक्षित रहनेछ। नयाँ प्रणालीले कागजात र व्यक्तिको सही पहिचान हुने सरकारी भनाइ छ।

नयाँ प्रणालीमा राहदानी विभागले जारी गर्ने राहदानी, वैदेशिक रोजगार विभागले दिने श्रमस्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने नो अब्जेक्सन लेटर र इन्टरपोलसम्बद्ध सूचना सिस्टममै हुने र कम्प्युटरबाट सहजै हेर्न सकिन्छ। विदेशस्थित कूटनीतिक नियोगबाट समेत यही प्रणालीभित्र रहेर भिसा जारी गरिने बताइएको छ। योसँगै भिसा आवेदनमा लामो लाइन बस्नुपर्ने बाध्यता हटेको छ भने विदेशी नागरिक नेपाल बस्दा अनुगमन गर्न सकिने अध्यागमन विभागले जनाएको छ। त्यसका लागि ट्राकिङ गर्न छुट्टै मोडुलको विकास गरिएको छ। भिसा दस्तुर समेत अनलाइनबाटै तिर्न सकिने गरी अनलाइन पेमेन्ट विकास गरिएको छ।

अध्यागमन सम्बद्ध डाटाको सुरक्षाको लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा अत्याधुनिक उपकरण सहितको डाटा सेन्टर स्थापना गरिएको छ भने दोस्रो तहको सुरक्षाको लागि हेटौडामा रहेको डिजास्टर रिकभरी सेन्टरमा डाटा सेन्टरस्थापना हुनेछ। पूर्वाधार सुधार अन्तर्गत अध्यागमन कार्यालय त्रि.अ.वि. को पूर्वाधारमा आमूल परिवर्तन गरिएको छ। उच्च क्षमताका कम्प्युटर र बायाेमेट्रिक उपकरण एवं सेमि अटाे गेट्ससहितका आधुनिक अध्यागमन डेस्क स्थापना भएका छन्। वेटिङ लाउन्ज र शंकास्पद यात्रु छुट्याई अनुसन्धान अघि बढाउन अाइसाेलेसन रूमसहित कार्यकक्षहरुको रिडिजाइन गरिएको छ।

प्रधानमन्त्रीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपाेर्टको रूपमा विकास गर्ने र त्यसको थिम परम्परा झल्किने तथा आधुनिकता टल्किने गरी हुनु पर्ने भनी उद्घोष भएअनुसार पूर्वाधारको विकास गरिएको विभागले जनाएकाे छ। सीमा नाकास्थित सबैभन्दा बढी आवागमन हुने अध्यागमन कार्यालय भैरहवाको सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्न डिजाइन र इस्टिमेट तयार भई बोलपत्र आव्हान गर्ने तयारी अन्तिम चरणमा पुगेको र शंकास्पद कागजातको पहिचानका लागि अत्याधुनिक उपकरणसहितको फर्जरी डिटेक्सन ल्याबको स्थापना गरिएको विभागकाे भनाइ छ।

त्यस्तै, उच्च क्षमताको नेटवर्किङ, विद्युत आपूर्तिको स्वचालित वैकल्पिक प्रवन्धसहित २४ सै घण्टा विना अवरोध सेवा प्रवाहको सुनिश्चितता गरिएको छ भने नयाँ प्रविधि र पूर्वाधारले अपेक्षा गरेअनुसारको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै कर्मचारीहरुलाई सघन तालिम दिइएको बताइएकाे छ। त्यस्तै भिसा आवेदन प्रकृयामा पर्यटकहरुलाई सहजीकरण गर्न नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुलाई र लाइन व्यवस्थापनको लागि अवकास प्राप्त सरक्षाकर्मीहरुलाई परिचालन गरी सेवालाई चस्त र प्रभावकारी बनाइएको विभागले जनाएकाे छ।

अध्यागमन सुधार कार्यक्रमअन्तर्गत करिब २२ करोड खर्च हुने अनुमान रहेकोमा हालसम्म १६ करोड रकम खर्च भएको विभागकाे भनाइ छ। नेपाल सरकारका सम्बद्ध निकाय र अन्य सरोकारवालाहरुसँग समेत गरी ६० भन्दा बढी समन्वय बैठक गरी निरन्तर सल्लाह लिइएको र अध्यागमन सम्बद्ध कर्मचारीहरुलाई २४ सै घण्टा परिचालन गरिएको विभागले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .