ad ad

कारोबार


सकारात्मक बहस चलाउन थालौं, लगानी भित्रन्छ : अर्थमन्त्री महत

सकारात्मक बहस चलाउन थालौं, लगानी भित्रन्छ : अर्थमन्त्री महत

नेपालखबर
असोज १२, २०८० शुक्रबार १९:३८, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताए।

चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भने, ‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हार जीत हुन्छ यी सबै स्वभाविक प्रकृया हुन्। तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि सिर्जना हुनुपर्छ, यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी छ।’

‘हाम्रो अर्थतन्त्रले विस्तारै लय पक्रिँदैछ। समस्या छन्, पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो।

त्यसपछि कसिलो मौद्रिक नीति आयो। जसले बैंक व्याजदर बढायो’ अर्थमन्त्री डा. महतले भने, ‘यसलाई विस्तार सुरक्षित अवतरण गर्नुपर्छ। यसमा केही सुधारका कुरा आएका छन्, केही कुरा हुन बाँकी छ। सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको छ। यसमा सुधार हुन जरुरी छ। सेयर बजारमा पनि सुधार आउँछ। विदेशी पर्यटक मात्र होइन, आन्तरिक पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्छ।’

उनले थपे, ‘राज्यले गर्नुपर्ने विकास खर्च धेरै छैन, हाम्रा चालू खर्च बढी छ। ऋणको दायित्व बढी छ। खर्च गर्ने क्षमता हामी बढाउँछौं, यसले पनि अर्थतन्त्र चलायमान हुन्छ। अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेका छन्।’

मन्त्री डा. महतले भने, ‘यो संकेतसँगै हामी सकरात्मक बहस चलाउन थालौं। सबैले नकरात्मक कुरा गरियो भने आत्मविश्वास घट्छ। खराब भनिरहेको ठाउँमा किन लगानी गर्ने? उपभोक्ताले खर्च गरेन भने माग आउँदैन, माग भएन भने लगानी हुँदैन। लगानी नभएपछि रोजगारी सिर्जना हुँदैन, रोजगारी सिर्जना नभएपछि आय वृद्धि हुँदैन। आय वृद्धि नभएपछि अर्थतन्त्र चलायमान बन्दैन। अर्थतन्त्र यसरी नै चल्ने हो।’

उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन मन्त्री डा। महतले आग्रह गरे।

उनले भने, ‘रेमिटेन्स यति धेरै आइरहेको छ, त्यो पैसा घुम्नुपर्ने हो। त्यसको प्रयोग भइरहेको छैन। नकरात्मक बहस चलाइएकाले त्यसको प्रयोग नभएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .