बाख्राविज्ञको एशिया क्षेत्रीय सम्मेलन आगामी कात्तिक ३ देखि ६ गतेसम्म रामपुरमा हुने भएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले सम्मेलन गर्न लागेको हो। विश्वविद्यालयले पत्रकार सम्मेलन गरी सम्मेलनको विषयमा जानकारी दिएको हो।
विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय रामपुरको मुख्य आयोजनामा ‘इन्टरनेशनल गोट एशोसिएशन अमेरिका’सँगको सहकार्य तथा नेपाल सरकार, पशुपक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, हेफर इन्टरनेशनल नेपाल, नेपाल कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, मिचिगन स्टेट युनिभर्सिटी अमेरिका र भारतीय कृषि अनुसन्धान परिषद्अन्तर्गत केन्द्रीय बाख्रा अनुसन्धान संस्थानको सह–आयोजनामा सम्मेलन गर्न लागिएको हो।
सम्मेलन तयारी समितिका अध्यक्ष एवम विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायका डिन प्राडा शारदा थपलियाले सम्मेलनले बाख्रापालनको क्षेत्रमा यसको उत्पादन, उत्पादकत्व एवम गुणस्तर वृद्धिका लागि विविध प्रविधियुक्त आधुनिक खोजमूलक जानकारीको सम्प्रेषण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा यस क्षेत्रमा कार्यरत वैज्ञानिक, अनुसन्धान निकाय, विश्वविद्यालय एवम सरकारी र गैरसरकारी सङ्घ संस्थाको बीचमा बृहत् सञ्जाल तयार गर्न सहयोग पुग्ने बताए ।
सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, चीन, क्युवा, संयुक्त राज्य अमेरिका, क्यानडा, इटाली, जापान, हङ्गेरी, इन्डोनेसिया, फ्रान्स र केन्याका बाख्रा अनुसन्धान र विकासमा विशिष्ट योगदान पु¥याउने सफल वैज्ञानिक, अनुसन्धानदाता, उद्यमी र विद्यार्थी सहभागी हुने टुंगो लागिसकेको छ।
बाख्रा अनुसन्धान र विकास केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलनमा अमेरिकाबाट इन्टर्नेशनल गोट एशोसिएशनका अध्यक्ष डा बेथ मिलर, हङ्गेरीमा आयोजना गरिने अन्तर्राष्ट्रिय बाख्राविज्ञ सम्मेलन, २०२० आयोजक समितिका अध्यक्ष डा सान्डोर कुकोभिक्स, चीनको हेबेई कृषि विश्वविद्यालय, पशु विज्ञान तथा प्रविधि कलेजका डिन प्राडा यिङ्गजी झाङ, जापानस्थित मिजो विश्वविद्यालयका प्राडा योशिहाकी हायासीलगायत विश्वका ख्यातिप्राप्त शैक्षिक तथा अनुसन्धान प्रतिष्ठानका विशिष्ट वैज्ञानिक, प्राज्ञ र विद्यार्थीको सहभागिता रहने थपलियाले बताए।
सम्मेलनमा खाद्य तथा पोषणको स्रोत, बाख्रा उत्पादनका नीति, सामाजिक, आर्थिक तथा मूल्य शृङ्खला विकास, बाख्राको आहारा, पोषण तथा वासस्थान व्यवस्थापन आनुवांशिकी, प्रजनन तथा जैविक प्रविधि व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन तथा रोग नियन्त्रण बाख्राजन्य उत्पादनको प्रशोधन प्रविधि विकाससम्बन्धी विधालाई समेटेर करीब सात विशेषज्ञ कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
सम्मेलनमा बाख्रापालन व्यवसायको विश्वव्यापी चुनौतीको रुपमा रहेको पिपिआर रोग र त्यसको नियन्त्रणलगायत समसामयिक विषयमा पनि छलफल हुने छ।
Shares

प्रतिक्रिया