ad ad

कारोबार


कास्कीकाे अर्मलाडाँडामा प्याराग्लाइडिङको परीक्षण उडान सफल

कास्कीकाे अर्मलाडाँडामा प्याराग्लाइडिङको परीक्षण उडान सफल

रासस
माघ १२, २०७६ आइतबार ७:७,

माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकको अर्मलाडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडानसँगै यस ठाउँ आगामी दिनमा प्याराग्लाइडिङको गन्तव्यका रुपमा विकास हुने देखिएको छ।

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्न भएसँगै हाल व्यावसायिक रुपमा सराङकोट हुँदै आएको प्याराग्लाइडिङ नहुने निश्चित प्रायः भएकाले अर्मलालाई सराङकोटको उपयुक्त विकल्पका रुपमा समेत हेरिएको छ। पोखरादेखि २० किलोमिटरको दूरीमा दुई हजार ४०० मिटर उचाइमा अवस्थित अर्मलाबाट परीक्षण उडान सफल भएसँगै यसलाई व्यावसायिक गन्तव्यका रुपमा विकास गर्न गाउँपालिका तथा स्थानीयवासीले पहल थालेका छन् ।

लाहाचोकमा हालै सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उद्घाटनसमेत प्याराग्लाइडिङबाट बल खसालेर गरिएको थियो। अर्मलाबाट उडेका प्याराग्लाइडिङले मैदानमा बल खसालेर अवतरण गरेको थियो। विगतमा समेत सराङकोटबाट उडेका ग्लाइडर अर्मलामा अवतरण गरेर पुनः हावा भरेर उड्ने गर्दथे तर अहिले अर्मलाडाँडाबाट उडान भरेर तल बस्तीमा अवतरण सफल भएसँगै यस ठाउँको प्रवर्द्धनमार्फत प्याराग्लाइडिङको गन्तव्य बनाउने योजना अघि सारिएको छ ।

अर्मलासम्म पुग्न गाउँपालिकाले छ महिनाअघि सडक निर्माण गरेको थियो। बस्तीबाट तीन किमी उकालो चढेर पुगिने सो स्थानमा सडक सुविधा पुगेकाले यसलाई गन्तव्य बनाउन थप सहज हुने विश्वास गरिएको छ। गाउँपालिकाले अर्मलालाई पर्यटनको गन्तव्य बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण, सङ्घ तथा प्रदेश सरकारसँग समेत अनुरोध गरेको छ। पोखरानजिकै अवस्थित सो क्षेत्रमा व्यावसायिक उडानको अनुमतिसँगै पर्यटन आवागमनमा वृद्धि हुने र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउनसमेत सघाउने विश्वास लिइएको छ।

विमानस्थल बनेपछि स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ रहेको प्याराग्लाइङिलाई निरन्तरता दिनसमेत अर्मलाको विकल्प नरहेको भनाइ गाउँपालिकाको छ। अर्मलाबाट उडान भरेका प्याराग्लाइडिङ पाइलट विजय गौतमले यहाँबाट सराङकोटभन्दा पनि तुलनात्मक रुपमा सहज र अनुकूल रहेको बताए।

हावाको चापसमेत अनुकूल रहेको बताउँदै हिमशृङ्खला, वनजङ्गल तथा सुन्दर गाउँ र पोखरा शहरको दृश्यावलोकन गर्न सकिने भएकाले यसको भविष्य सुन्दर रहेको उहाँले उल्लेख गरे। “प्याराग्लाइडिङ उडानका लागि जति हुनुपर्ने हो सबै हिसाबले उपयुक्त छ, यहाँ हावाको चाप राम्रो छ, केही स्लोप मिलाउन बाँकी छ, त्यसपछि यहाँ उडान अवतरण सबै हिसाबले उपयुक्त छ”, गौतमले भने।

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले अर्मलाडाँडालाई प्याराग्लाइडिङकै रुपमा विकास गर्ने उद्देश्यले सडक सुविधा पुर्याइएको जानकारी दिए। वडाको बजेट १० लाख तथा स्थानीयवासीको १५ लाख गरी २५ लाख लागतमा गाउँदेखि डाँडासम्म सडकको ट्र्याक खोलिएको उनको भनाइ छ । पोखरा–बाग्लुङ राजमार्गको मिलनचोकदेखि गाउँपालिकासम्मको सडक स्तरोन्नति गरी कालोपत्र सुरु भएकाले समेत स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि सहज हुने उनी बताउँछन्।

“गाउँपालिकाको कोलेली र अर्मलामा प्याराग्लाइडिङको असाध्यै धेरै सम्भावना छ, प्याराग्लाइडिङसँगसँगै अर्मलामा रहेको प्रसिद्ध देउराली मन्दिरको प्रवद्र्धन तथा प्रचारप्रसार गरी धार्मिक पर्यटकसमेत भित्र्याउने योजना छ”, दवाडीले भने।

अर्मलामा व्यावसायिक प्याराग्लाइडिङ सम्भव छ भन्ने प्रचारका लागि सयौँको उपस्थितिमा प्रदेशस्तरीय फुटबलका अवसरमा प्याराग्लाइडिङबाट बल खसाल्दै मैदानमा अवतरण गराइएको सोही वडाका वडाध्यक्ष पूर्णबहादुर शाहीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .