सिद्धार्थ बैंकले काठमाडौं त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने नि:शुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ।
२०७६ पुस २२ देखि २५ सम्म श्रीनगर (सर्लाही) र पुस २७ देखि पुस २९ सम्म मलंगवा (सर्लाही)मा बैंकले उक्त शिविर सञ्चालन गरेको हो। शिविरमा कुल १ हजार २ सय ४१ जनाको आँखा परीक्षण गरिएको थियो। परिक्षण गरिएकामध्ये १ सय ७८ जना मोतियाबिन्दु रोगीहरुको पहिचान गरी उनीहरुको आँखा शल्यक्रिया गरिएको थियो।
उक्त शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई ४ लाख ६७ हजार ५ सय रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको थियो। उक्त सहयोग रकम बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले एक विशेष कार्यक्रमका बीच नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरेका थिए।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने बताएको छ।

प्रतिक्रिया