ad ad

कारोबार


काठमाडौंबाहिर ठूलो एयरपोर्ट नबनाएसम्म पर्यटक ल्याउन सकिँदैन : अर्थमन्त्री

काठमाडौंबाहिर ठूलो एयरपोर्ट नबनाएसम्म पर्यटक ल्याउन सकिँदैन : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्बिर : अर्थमन्त्रीको सचिवालय


नेपालखबर
भदौ १८, २०८० सोमबार १७:०, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताएका छन्। 

पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘पोखरालाई ट्रान्जिट प्वइन्टका रुपमा विकसित गर्नुपर्छ। मुस्ताङ, लमजुङ, चितवन, लुम्बिनी जान पोखरा केन्द्रबिन्दु हुनसक्छ।’ 

अन्तर्राष्ट्रिय हवाइ अड्डामा सरकारले धेरै ठूलो लगानी गरेको जानकारी उनले दिए। ‘पर्यटन प्रवर्द्धनका लागि देश लगानी गरेको हो, अहिले लगानी उठाउन सकिएको छैन’, उनले भने। 

पर्यटन क्षेत्रलाई अझै धेरै सुधार गर्नुपर्ने उनले बताए। ‘हामी धेरैजसो माग र निर्णय भावनामा बगेर गर्छौं। भावनामा बगेर गरेको लगानीबाट प्रतिफल कसरी लिन सकिन्छ भन्ने चुनौती सरकारसँग छ’, उनले भने। 

उनले नेपालको अर्थतन्त्रमा प्रभाव पार्ने अनेक कारण रहेको पनि बताए। 

‘युद्ध, भूकम्प, कोभिड र रसिया–युक्रेन युद्धले ल्याएको अन्तर्राष्ट्रिय मन्दीबाट हामी गुज्रिएकाले राजश्वमा ठूलो प्रभाव पर्यो’, उनले भने, ‘अर्थतन्त्रमा शिथिलता देखिएको छ। भूकम्प र कोभिडबाटै सुरु भएको अर्थतन्त्रको शिथिलता पछिल्लो समय विशिष्ठ किसिमले देखियो।’ 

समस्या छन् भन्दैमा निराशाको कुरा गरेर बस्न नहुने मन्त्री डा. महतको भनाइ थियो। सबैले सकरात्मक सोच राख्ने हो भने अर्थतन्त्र पनि सकरात्मक बाटोतर्फ उन्मुख हुन सक्ने उनले बताए। 

‘पोखरा पर्यटन व्यवसायको हब हो, यसलाई कसैले बिगार्न सक्दैन। यसको भविष्य दीगो छ। थोरै समस्या आयो भन्दै हामीले निराशाको कुरा गर्ने हो भने यसले राम्रो गर्दैन’, महतले भने।

पूँजीगत खर्च प्रभावकारी ढंगबाट कार्यान्वयन गरिने उनले  बताए।

‘भनेजस्तो पर्यटकको आगमन भएको छैन, बाटोको समस्या छ। एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन’, उनले थपे, ‘पृथ्वी राजमार्ग समयमै स्तरोन्नति भइसक्नुपर्ने थियो। यसलाई सरकारले गम्भीरताका साथ लिएको छ। बाटो राम्रो हुनेबित्तिकै आन्तरिक पर्यटनमा वृद्धि हुनेछ।’

काठमाडौंको एयरपोर्ट साँघुरो रहेकाले जतिसुकै धेरै पर्यटक ल्याउँछु भने पनि अन्तर्राष्ट्रिय उडान आउने क्षमतै कम रहेको उनले  बताए। 

‘एउटा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउनै पर्छ। यसलाई हामीले प्राथमिकतामा राखेका छौं। त्यो एयरपोर्ट बनाउन सकियो भने ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिन्छ’, उनले भने, ‘सँगसँगै फ्रास्ट ट्रयाक र सिद्धार्थ राजमार्ग बनाउन सकिए सडक यातायातबाट पनि प्रशस्त पर्यटक भित्र्याउन सक्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .