एनआईसी एशिया बैँकले चालु आव २०७६/७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
आज (मंगलबार) बिहान बैँकका नायव प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाँद्वारा जारी विज्ञप्तीमा बैँकको वित्तीय विवरणका परिसूचक उत्साहजनक देखिएको छ।
चालु आवको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रु.७७ करोड) ले वृद्धि गरी २ अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको बैँकले जनाएको छ।
यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (रु.५० करोड) को वृद्धिसहित २ अर्ब १ करोड खुद मुनाफा भएको छ। गत वर्षको सोही अवधीको खुद मुनाफा १ अर्ब ५१ करोड थियो।
यस आवको दोस्रो त्रैमाससम्ममा कर्जातर्फ १५ अर्बले वृद्धि भइ १६५ अर्ब र निक्षेप संकलनतर्फ ६ अर्बले वृद्धि भई १८६ अर्ब पुगेको बैँकले जनाएको छ।
बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ।
कुल कर्जा लगानीको ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको बैँकले जनाएको छ। त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५% कर्जा लगानी पुर्ण रुपले पालना गरेको विज्ञप्तीमा उल्लेख छ।
विविधिकरणकै रणनीति अनुरुप बैंकको उच्चतम दस ग्राहकको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्येमा पर्ने बैँकले जनाएको छ।
निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरुप अघि बढिरहेको छ। बैंकको कल निक्षेप हाल कुल निक्षेपको ९.४% रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये एक हो।
बैंकले चालु आवको ६ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ। यसरी कुल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा ६ अर्बले बढेको छ।
निक्षेप तर्फको उत्कृष्ट १० ग्राहकको अंश मात्र ११ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ।
बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि भइ ४१.६१ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि भइ २५.१७ प्रतिशत पुगेको छ। प्रथम त्रैमासमा स्वपूँजी प्रतिफलमा बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट रहेको बैँकले जनाएको छ।
एनआइसी एशिया बैंकको मुलुकभर ३१३ शाखा कार्यालय, ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग सेवा छन्।
बैँकका २१ लाखभन्दा बढी ग्राहक छन्। ‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मुलनारासहित सञ्चालित यस बैँकले गत आवमा करि ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको थियो।
बैंक तथा वित्तीय संस्थाको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्ला तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरिएको एनआईसी एशिया बैँकले जनाएको छ।

प्रतिक्रिया