छापा खबर


अडान लिइरहेकी शिवमायालाई राजीनामा गराउन बालुवाटारमा यसरी बन्यो योजना

अडान लिइरहेकी शिवमायालाई राजीनामा गराउन बालुवाटारमा यसरी बन्यो योजना

नेपालखबर
माघ ७, २०७६ मंगलबार २:३४,

‘मेरो के गल्ती छ? एक जनाको दोषको म किन भागीदार बन्ने? एक जना चारित्रिक अपराधमा जेल जाने, मलाई सजाय हुने? मैले उपसभामुख छाड्नुपर्ने कारण के हो? पार्टीले लिखित देओस्।’

उपसभामुख डा. शिवमाया तुम्बाहाङफे आइतबार साँझसम्म नेकपा शीर्ष नेतृत्वलाई यही प्रश्न गरिरहेकी थिइन्। यस अवधिमा उनले सभामुख पदमा आफैं उम्मेदवार बन्न कोसिस पनि गरिन्।

नेकपाले अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेपछि भने उनको दौडधुप काम लागेन। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आइतबार बिहान सापकोटाका विषयमा सहमतिमा पुगेका थिए।

उनी अन्तिमसम्म पनि प्रतिनिधिसभालाई नेतृत्वविहीन अवस्थामा छाड्न पदीय जिम्मेवारीले नदिने अडानमा रहिन्। उनले अन्ततः सोमबार उपसभामुख पदबाट राजीनामा दिएकी छन्।

आफूलाई उपसभामुखमा निर्वाचित गराउने पार्टी नेकपालाई सभामुखमा उम्मेदवारी दिन उनले संवैधानिक रूपमै बाटो खोलिदिइन्। पार्टीले उम्मेदवार घोषणा नगर्दासम्म राजीनामा नदिने सर्त तेर्स्याएकी उनले आफ्नो अडान त जितिन् तर पदीय हैसियत जोगाउन सकिनन्।

४ पुसमा सुरु संसद्को हिउँदे अधिवेशन यो अवधिमा तीनपटक सूचना टाँस गर्दै स्थगन भयो। तर, उनले नेकपाले सभामुख उम्मेदवार चयन नगर्दासम्म राजीनामा नदिने अडानमा जितिरहिन्। संसदमा पनि उनले बैठकै राखेर आफूले राखेको अडानको बचाउ गरिन्।

त्यसपछि मात्र पदबाट राजीनामा दिइन्। प्रतिनिधिसभाको पहिलो बैठकमा सोमबार उनले दुई पृष्ठको लिखित मन्तव्य दिइन्। त्यसपछि बैठक दुई घण्टा स्थगन गरी बानेश्वरस्थित आफ्नै कार्यकक्षमा संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई बोलाई पदबाट राजीनामा दिइन्।

उनले राजीनामाअघि सोमबार बिहान ११ बजे प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष दाहालसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेकी थिइन्। त्यहाँ उनले आफ्नो राजीनामा प्रक्रियाका विषयमा छलफल गरेकी उनीनिकट स्रोतले बताएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले लेखेका छन्।

उनले ओली र दाहालसँग आफूले कसरी राजीनामा दिने भन्नेबारे बेलीविस्तार लगाइन्, ‘पहिले संसद् बैठक चलाउने, त्यहाँ आफ्ना कुरा सांसदहरूबीच राख्ने र आफ्नो अडान संसदमा रेकर्ड गराउने, त्यसपछि पत्रकार सम्मेलन गर्ने र अर्को बैठक राखेर त्यही दिन राखेर ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक राखी सभामुख निर्वाचन प्रक्रिया थाल्ने।’

उनको राजीनामाका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गर्न दाहाल बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। तुम्बाहाङफेलाई त्यहीं बोलाएर दुई अध्यक्षले छलफल गरेका थिए।

तुम्बाहाङफे बालुवाटारमा आधा घण्टा छलफल गरी सिंहदरबार फर्किइन्। कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनतिर नलागी उनले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण र सचेतक पुष्पा भुसालसँग कुरा गरिन्। संसदमा आफूले दिने मन्तव्यको भाषाका विषयमा सिंहदरबारस्थित कार्यकक्षमा उनले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङलाई बोलाएर छलफल गरिन्। आफूले तयार पारेको मन्तव्यको ड्राफ्ट सुनाइन्।

त्यसपछि प्रतिनिधिसभा बैठक राखेर उनले दुई पृष्ठको लिखित मन्तव्य सुनाइन्। संसद्को पहिलो सत्रपछि उनले संसद्का सभामुखलाई सम्बोधन गर्दै संविधानको धारा ९१ को उपधारा ६ को खण्ड ख तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम १ बमोजिम उपसभामुख पदबाट राजीनामा दिएकी हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad