कारोबार


वित्तीय व्यवस्थापनको तथ्यांक हातमा राखेर बैंकरसँग अर्थमन्त्रीको छलफल

वित्तीय व्यवस्थापनको तथ्यांक हातमा राखेर बैंकरसँग अर्थमन्त्रीको छलफल

नेपालखबर
माघ ६, २०७६ सोमबार १३:७,

अर्थमन्त्री डा. युवराज खतिवडाले १० बजे सहसचिव उत्तर कुमार खत्रीलाई बोलाएर मन्त्रालयको वित्तीय व्यवस्थापनको पछिल्लो अवस्थाको जानकारी सहितको रिर्पोट माग गरे। उनी अनुगमन महाशाखा प्रमुख हुन्। उनले त्यो रिर्पोटको लागि बजेट महाशाखासँग समन्यव गरे। बजेट महाशाखामा रहेका सबै शाखा अधिकृतहरु सो काममा खटिए।

२ बजे नेपालखबरकर्मी अर्थमन्त्रालयको बजेट महाशाखा पुग्दा पनि अर्थमन्त्रीको आदेश अनुसार रिपोर्ट तयार गरिरहेको भन्दै बोल्ने फुर्सदमा पनि थिएनन्। उनीहरुले अर्थमन्त्री खतिवडाले खोजेको विवरणात्मक रिर्पोट तयार गरि सहसचिव खत्री हुँदै अर्थमन्त्रीसम्म पुग्यो। 

त्यो रिपोर्ट साथमा राखेर मन्त्री खतिवडाले गभर्नर चिरञ्जीबी नेपाल लगायत नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा वाणिज्य बैंकको सीईओलाई सँगै राखेर कुरा गर्न खोजेका थिए। तर गभर्नर नेपाल भने उपस्थिति भएनन्। डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको नेतृत्वमा राष्ट्र बैंकको टोली पुग्यो।

बैंकर्स संघका तर्फबाट भने अध्यक्ष भुवन दाहालसहित १० जना सीईओ अर्थमन्त्रालय पुगेका थिए। छलफलमा अर्थमन्त्रालयका दुई सचिव समेत सहभागी थिए।

अर्थमन्त्री खतिवडाले समग्र आर्थिक परिसूचक र वित्तीय परिसूचकको अवस्थाले कस्तो संकेत गरिरहेको छ, भनेर नेपाल राष्ट्र बैंक र बैंकर्सको धारणा मागेका थिए। उनले सम्पति शुद्धीकरण निवारणमा राष्ट्र बैंक र बैंकर्सका तर्फबाट के कस्तो प्रयास भैरहेको छ प्रश्न पनि राखेका थिए। अर्थमन्त्रीले ब्याजदर र तरलताका विषयमा पनि चासो व्यक्त गरेका थिए।

त्यस बाहेक हेजिंग फण्डको कार्यान्वयनमा ढिलाई हुनुको कारण पनि अर्थमन्त्रीले सोधेका थिए। व्यवसायीले बैंक र कर कार्यालयमा बुझाएको विवरण एउटै हुनुपर्ने व्यवस्था कार्यान्वयनको अवस्थाबारे पनि जिज्ञासा राखे।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिनका लागि कर चुक्ता प्रमाणपत्र बुझाउनुपर्ने पछिल्लो व्यवस्था कार्यान्वयन कसरी भैरहेको छ भन्ने जिज्ञासा पनि राखे। बैंकर र अर्थमन्त्रालयको टोलीले सो विषयमा उत्तर दिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad