ad ad

कारोबार


पैसा तिर्दातिर्दै पनि प्रतिशोध साँध्न प्राधिकरणले उडानमा रोक लगायो : सिम्रिक एयर

पैसा तिर्दातिर्दै पनि प्रतिशोध साँध्न प्राधिकरणले उडानमा रोक लगायो : सिम्रिक एयर

नेपालखबर
साउन २६, २०८० शुक्रबार ९:२, काठमाडौँ

हिसाब मिलान गर्ने सहमतिविपरीत नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्ना सबै उडानमा प्रतिबन्ध घोषणा गरेको आरोप निजी क्षेत्रबाट सञ्चालित हेलिकप्टर सेवा प्रदायक संस्था सिम्रिक एयर लिमिटेडले लगाएको छ। 

आफूलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेको भन्दै प्राधिकरणले आजदेखि सिम्रिक एयरका कुनै पनि हेलिकप्टरलाई उड्न नदिनेगरी रोक लगाइएको जनाएपछि सिम्रिक एयरले विज्ञप्ति जारी गरी खण्डन गरेको हो।  

केही समयदेखि नेपाल नागरिक उड्डयन प्राधिकरण निजी क्षेत्रबाट सञ्चालित हवाई सेवा प्रदायक कम्पनीलाई विभिन्न बहानामा दुःख दिने काम गरेको र त्यसविरुद्ध वायु सेवा सञ्चालक संघको अध्यक्षको हैसियतले आफ्ना कम्पनीका अध्यक्षले आवाज उठाएकाले प्रतिशोध साँध्नकै लागि आफूविरुद्ध भ्रम फैलाइएको आरोप सिम्रिक एयरले लगाएको छ। 

‘सिम्रिक एयर लिमिटेडको नाममा प्राधिकरणले मिति २०६०।०४।२१ गते चलानी नम्बर १७ को पत्रअनुसार ७ दिनभित्र हिसाब मिलान गर्न आउन भनी पत्राचार गरी पत्रमा दिएको मितिअगावै बदनियतपूर्ण तरिकाले पूर्वाग्रह ढगंले, प्रतिशोध साँध्ने उद्देश्यले आफ्नो अधिकारको दुरुपयोग गरी यस संस्थाको गरिमामा आँच पुर्‍याउने उद्देश्यले कपोलकल्पित झुटा र भ्रामक समाचार सम्प्रेषण गरेकोमा यस प्रेस विज्ञप्तिबाट खण्डन गर्न चाहन्छौँ’, सिम्रिक एयर लिमिटेडले भनेको छ। 

उड्डयन प्राधिकरणका प्रवक्ता (ज्ञानेन्द्र भुल) लाई उधृत गरी सार्वजनिक समाचार सत्य नभएको दाबी सिम्रिक एयरले गरेको छ। 

‘यस कम्पनीले सेवा उपभोग गरेबापतको रकम प्राधिकरणलाई क्रमशः रूपमा बुझाउँदै आएको र मिति २०६०।०४।२१ को पत्र प्राधिकरणको वार्षिक खाताबन्दीका क्रममा देखिन आएको छुटफुट रकम भएको जानकारी गराउँछौं। सो छुटफुट रकमका सम्बन्धमा उक्त रकम यस कम्पनीको उडान विवरण र हिसाबसँग रुजु भई मेल खाएमा भुक्तानी गर्ने र नभएमा सच्याउनका निम्ति प्राधिकरणलाई अनुरोध गर्ने प्रक्रिया एवं व्यवहारमा रही आएको छ’, सिम्रिकले विज्ञप्तिमा भनेको छ, ‘यस वर्ष पनि पत्रमा उल्लेख भएअनुसारको विभिन्न स्थानको खातावही २०८०।०४।२४ गते मात्र उपलब्ध भएको र हिसाब मिलानको क्रममै रहेकोमा लुक्ला विमानस्थलको हिसाब एकिन भई सोबमोजिमको छुट रकम भुक्तान भइसकेको र ताप्लेजुङ विमानस्थलको हकमा विमानस्थलको कार्यालयलाई हिसाब सच्याउन तथा अद्यावधिक गर्न इमेलमार्फत कागजात पठाई निवेदन गरिएको समेत जानकारी गराउँदछौँ।’

अगाडि भनिएको छ, ‘काठमाडौं विमानस्थलको हकमा भने उडान संख्या बढी हुने भएकाले हिसाब मिलानकै क्रममा रहेकोले रुजु एवं मिलान हुनासाथ भुक्तान गर्नुपर्ने भएमा भुक्तान गर्न प्रतिबद्ध एवं सक्षम रहेको जानकारी गराउँदछौँ।’

वित्तीय एवं अन्य सम्पूर्ण आधारमा पनि आफू सबल रहेको दाबी पनि सिम्रिकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .