ad ad

कारोबार


जाडो महिनामा पर्यटकको भीड लाग्ने स्थल मानुङकोट

जाडो महिनामा पर्यटकको भीड लाग्ने स्थल मानुङकोट

तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोट


नेपालखबर
साउन २२, २०८० सोमबार १९:०, तनहुँ

पछिल्लो केही वर्षयता  चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ। कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्यधिक चर्चामा आएको थियो। तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक मानुङकोट आउँथे तर यतिबेला अहिले सो स्थानमा पर्यटकको चहलपहल अलि घटेको हो। विशेषगरी जाडो महिनामा कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा पर्यटकको चहलपहल हुने गर्छ। गर्मी मौसम भएका कारण पर्यटक मानुङ नउक्लिएको हुनसक्ने आकलन गरिएको छ। 

जाडो महिनामा  मानुङकोटमा पर्यटकको भीड हुने व्यास–५वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए। उनले भने, ‘मानुङकोटको विशेषता भनेको जाडोयामको हो, जाडोयाममा कुहिरोले ढपक्क ढोकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्न विभिन्न ठाउँबाट पर्यटक आउँछन्।’ अहिले पनि अलिअलि पर्यटक आउने उनको भनाइ छ। 

जाडो मौसममा भने दैनिक सयौँको सङ्ख्यामा पर्यटक मानुङकोट पुग्ने गरेका छन्। मानुङकोटमा पर्यटकको चहलपहल बढेपछि होटल खुुल्ने क्रम बढेको छ। उनले भने, ‘मानुङकोटको पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले पनि प्रयास गर्दै आइरहेको छ। प्रत्येक वर्ष मानुङकोटबाट पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता हुँदै आएको छ।’

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे , अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन्। 

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ। मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन्। खानेपानीको अभावमा यहाँका बासिन्दाले गाउँ छाडेका थिए। बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ।

खानेपानीको अभावमा विसं २०५२ मा मानुङकोट छाडेकी बसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गरिरहेकी छन्। मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उनले बताइन्। 

मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ। सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो। अलैंचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मिटर सडक कालोपत्र भएको हो। कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .