कारोबार


मर्स्याङ्दी करिडोर प्रसारणलाइन निर्माणको अवरोध हटाउने पहल सुरू

मर्स्याङ्दी करिडोर प्रसारणलाइन निर्माणको अवरोध हटाउने पहल सुरू

नेपालखबर
माघ ६, २०७६ सोमबार ६:५७,

मर्स्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत् प्रसारणलाइन आयोजना निर्माणमा गोरखामा भइरहेको अवरोध हटाउन पहल सुरु गरिएको छ।

आयोजनाको उदीपुर (लमजुङ)–मार्कीचोक (तनहुँ) खण्डअन्तर्गत गोरखाको पालुङटार नगरपालिकाको वडा नं ४ र ५ का बासिन्दाले रुट परिवर्तन माग गर्दै एक वर्षअघिदेखि प्रसारणलाइन निर्माणमा अवरोध गर्दै आएका छन्।

नेपाल विद्युत् प्राधिकरणले सुरुमा मर्स्याङ्दी नदीको किनारैकिनार प्रसारणलाइन निर्माणको डिजाइन तयार गरेको थियो। तर, नागरिक उड्डयन प्राधिकरणले त्यहाँ लाइन निर्माण गरिएमा पालुङटार एयरपोर्टमा विमान उडान र अवतरण गर्न नसकिने बताएपछि रुट परिवर्तन गरिएको थियो।

प्राधिकरणले एयरपोर्ट एवं प्रस्तावित स्मार्ट पालुङटार सिटीलाई असर नपर्ने र सामाजिक तथा वातावरणीय क्षति कम हुने गरी वस्ती र जंगलको बीचबाट प्रसारणलाइनको नयाँ रुट तय गरेको छ। लमजुङको गरमबेसीबाट पालुङटार नगरपालिकाको वडा नं ४ र ५ हुँदै मार्कीचोकतर्फ जाने ३७ किलोमिटर लाइनको गरमबेसी–पालुङटार ५.६ किलोमिटर खण्डमा १६ वटा टावर निर्माण गर्नुपर्नेछ। तर, पालुङटारका स्थानीय बासिन्दाले प्रसारणलाइन बस्तीबाट छिराउन खोजिएको भन्दै रुटमा असहमति जनाउँदै आएका छन्। उदीपुर–मार्कीचोक खण्डमा लमजुङतर्फ भने कुनै समस्या छैन। लमजुङमा पर्ने टावर निर्माण सुरु गरिएको छ ।

‘गेम चेन्जर आयोजना’को रुपमा निर्माण सुरु गरिएको आयोजनामा अवरोध उत्पन्न भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको पहलमा गोरखाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद चूडामणि खड्काको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ। समितिमा त्यस क्षेत्रका प्रदेश सभाका सांसद, नगरपालिका मेयर, उपमेयर, सहरी विकास मन्त्रालयलगायतका प्रतिनिधि रहेका छन्।

पूर्वप्रधामन्त्रीसमेत रहेका गोरखा–२ बाट प्रतिनिनिधिसभाका सांसद डा. बाबुराम भट्टराई, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रदेश सभाका सांसद, नगरपालिका मेयर तथा उपमेयर, सहरी विकास मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिलगायतले आयोजनाका प्रस्तावित रुटबारे पालुङटारमा स्थानीयसँग अन्तर्क्रिया गरेका छन्।

पालुङटार विमानस्थल चल्न व्यवधान नहुने र स्थानीयलाई पनि कम क्षति पुग्ने गरी प्रसारणलाइन निर्माण गरिनुपर्ने भट्टराईले बताए।

‘प्राविधिक दृष्टिकोणमा सम्भव भएमा रुटको अरु विकल्पबारे पनि अध्ययन गरौँ, सम्भव नै नहुने देखिएमा अहिले प्रस्ताव गरिएको रुटबाट पुग्ने क्षतिलाई कम गर्नेतर्फ सोचौं’, उनले भने, ‘तर मासु पनि खाने रगत पनि नबगाउने भनेजस्तो विकास पनि चाहिने तर आफ्नो भने केही नगुमाउने भन्ने हुँदैन, यसो भन्न थाल्यौं भने यहाँ आएको विकास पनि गुमाउनसक्छौं त्यसैले थोरै गुमाएर धेरै लाभ लिने गरी अगाडि बढौं।’

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले राजनीतिक फाइदा बेफाइदाभन्दा पनि सामाजिक र वातावरणीय क्षति काम हुने गरी विस्तृत रुपमा प्राविधिक अध्ययन गरी रुट तय गरिएकाले निर्माणमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गरे।

‘एयरपोर्ट नचाहिने हो भने मर्स्याङ्दी नदीको किनारै किनार लैजाँदा धेरै सजिलो र टावरहरु पनि कम बनाउनुपर्छ, त्यहाँबाट लैजाँदा एयरपोर्ट या प्रसारण लाइनमध्ये एक छोड्नुपर्ने देखिएपछि दुवै सञ्चालन हुनसक्ने विभिन्न विकल्पहरुमाथि छलफल गरी अहिलेको रुट नै उत्कृष्ट प्राविधिक विकल्पको रुपमा तय गरिएको हो’, उनले भने, ‘तत्काल यो लाइनको निर्माण गर्न सकिएन भने मर्स्याङ्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाको विद्यत् प्रवाह गर्न नसकी अर्बौँ रुपैयाँ पेनाल्टी तिर्नुपर्ने संवेदनशील अवस्था छ, त्यसैले विकास विरोधी पनि हैन तर मेरो जग्गाबाट लाइन लैजान दिन्न भन्नुभएन, अहिले तय गरिएको रुटबाटै अझै कम क्षति हुने गरी लाइन निर्माण गरिनेछ।’

उनले स्मार्ट सिटीको रुपमा विकास गर्न लागिएको पालुङटारमा विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन ठूलो क्षमताको सबस्टेसन बनाइदिन प्राधिकरण तयार गरेकोसमेत प्रतिबद्धता जनाए।

विद्युत् प्रसारणलाइनको रुट जताबाट लगे पनि स्मार्ट सिटीलाई कुनै असर नपर्ने र स्मार्ट सिटीको अपहरण नहुने प्रष्ट पार्दै सहरी विकास मन्त्रालयकी सहसचिव सरिता मास्केले स्मार्ट सिटीलाई धेरै विद्युत्को आवश्यक पर्ने भएकाले लाइनलाई अवसरको रुपमा प्रयोग गर्न आग्रह गरे।

नागरिक उड्यन प्राधिकरणका उपप्रबन्धक कृष्णप्रसाद पौडेलले पालुङटार एयरपोर्टलाई संचालनमा ल्याउन चालू आर्थिक वर्षबाट स्तारोन्नति गर्न लागिएको जानकारी दिँदै मर्स्याङ्दी नदीको किनारै किनार प्रसारणलाइन निर्माण गरिएमा एयरपोर्ट चलाउन नसकिने प्रष्ट पारे।

पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेल र उममेयर पम्फा बसेलले विकास नरोकिने र जनतालाई पनि कम क्षति पुग्ने गरी प्रसारणलाइन निर्माण गरिनुपर्नेमा जोड दिए। यो लाइन एक वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ।

मर्स्याङ्दी नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि ११३ किलोमिटर २२० केभी डबल सर्किट मस्र्याङदी करिडोर प्रसारणलाइन निर्माण गर्न लागिएको हो।

मनाङको धारापानीबाट सुरु हुने प्रसारणलाइन चितवनको भरतपुरस्थित न्यू भरतपुर सबस्टेसनमा पुगेर टुंगिनेछ। आयोजनाले धारापानी, खुदी, उदीपुर र न्यू भरतपुर २२०÷१३२÷३३ केभी सबस्टेसनको निर्माण गर्नेछ।

युरोपेली लगानी बैंकको नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋणमा आयोजनाको निर्माण भइरहेको हो।

मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी नदी बेसिनका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माणाधीन तनहुँको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको मस्र्याङदी–काठमाडौं २२० केभी डबर सर्किट प्रसारणलाइनको निर्माण अन्तिम चरणमा पुगेको छ। ८२ किलोमिटर प्रसारण लाइनमा पर्ने २३१ टावरमध्ये स्थानीयको अवरोधका कारण ५ वटाको मात्रै निर्माण बाँकी छ भने तार ७५ किलोमिटरभन्दा बढी तानिएको छ। धादिङको धुनीबेसी नगरपालिकाको नौबिसे र पिपलटारमा स्थानीयको अवरोधले क्रमशः तीन र दुई वटा टार निर्माण हुनसकेको छैन।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी र आयोजना प्रमुख तारा प्रधानको टोलीले नगरपालिका मेयर, धादिङका प्रमुख जिल्ला अधिकारी र वडाध्यक्षलाई आइतबार भेटी प्रसारण लाइन निर्माणमा सहयोग र सहजीकरण गरिदिन आग्रह गरे।

‘हाल रहेको मर्स्याङ्दी–काठमाडौं १३२ केभी प्रसारणलाइनबाट काठमाडौंमा करिब एक सय मेगावाटभन्दा विद्युत् लैजान सक्दैनौं, राजधानीको लाइफ लाइनको रुपमा निर्माण गरिएको लाइन निर्माणमा आवश्यक सहयोग गरिदिनुपर्यो’, घिसिङले भने।

निर्माण अवरोध हटेमा चैतभित्र प्रसारणलाइनको निर्माण सकिने आयोजना प्रमुख प्रधानले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad