नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको लागि प्राधिकरणले शतप्रतिशत विद्युतको ग्यारेन्टी गर्नसक्ने बताएका छन्।
मंगलवार न्युज एजेन्सी नेपालले आयोजना गरेको निजी र सार्वजनिक सवारी साधनको प्रयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन्।
विद्युतीय सार्वजनिक तथा निजी सवारी साधनमा वृद्धि हुँदा नेपालमा उत्पादित विद्युतले नपुगे भारतबाट विद्युत आयात गरेर भएपनि प्राधिकरणले १०० प्रतिशत विद्युत ग्यारेन्टी गर्ने प्रतिवद्धता गरे। कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधन बढ्दै जाँदा विद्युत अभाव हुने मान्छेहरुलाई चिन्ता लागे पनि विद्युतीय सवारी साधनका लागि विद्युत अभाव नहुने बताए।
उनले प्राधिकरणले अहिले विद्युत निर्यात गरिरहेको भन्दै विद्युतीय सवारी साधनलाई विद्युत नपुग्ने भन्ने कुरा गर्न नमिल्ने बताए। उनले प्राधिकरणले मुलुकभित्रै विद्युत खपत बढाउने नीति लिएको भन्दै निर्यात कम गर्नसक्ने बताए।
कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधनको लागि जति पनि विद्युत पुग्ने भन्दै हेरक वर्ष प्राधिकरणले १ हजार मेगावाट विद्युत थप गरिरहेको समेत बताए। उनले विद्युत आयात गरेर विद्युतीय सवारी साधन चलायो भने पनि प्राधिकरणलाई १५ गुणा नाफा रहेको बताए। उनले भारतबाट विद्युत आयात गर्दा ४ रुपैयाँमा आयात गर्ने बताए। उनले अब गाउँ–गाउँमा समेत विद्युतीय इन्डक्शन चुलो बाल्नुपर्ने बताए। उनले गाउँघरमा दाउराको विकल्प भएकाले इन्डक्शन चुलो २४ सै घण्टा विद्युत मात्रै बाल्छु भन्न नहुने बताए।
उनले भने, ‘गाउँ गाउँमा इन्डक्शन चुलो बालौं। एकछिन विद्युत जाँदैमा दाउरा बाल्यौं। इन्डक्शन चुलो २४ सै घण्टा विद्युत भयो भने मात्रै बाल्छु भनेर मात्रै हुँदैन। विकल्प हामीसँग छ। कुनै समय विद्युतमा समस्या हुँदा विकल्प छ भन्ने हिसावले अघि बढ्नुपर्छ। विद्युतीय सवारी साधनमा समस्या देखिँदैन। रातभर,दिनभर र २४ सै घण्टा चार्ज गर्दा पनि भयो। त्यसमा समस्या गर्दैन।’
उनले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेशन राख्नुपर्छ भनेर देशभरका ५१ स्थानमा स्मार्ट चाजिङ स्टेशनहरु राखेको भन्दै ५१ स्थानमा चार्जिङ स्टेशन चलिरहेको बताए। उनले सुर्खेत,मुल्कोट,काठमाडौंको चार पाँच ठाउँमा चार्जिङ स्टेशन रहेको बताए।
उनले विद्युत प्राधिकरणको कम्पाउण्ड भित्र रहेको चार्जिङ स्टेशन २४ घण्टामा २४ घण्टा लाइन लाग्ने गरेको बताए। उनले प्राधिकरण थप १३ वटा चार्जिङ स्टेशन बनाउने तयारीमा रहेको बताए। उनले प्राधिकरणले बनाएका चार्जिङ स्टेशनले मात्रै नपुग्ने भन्दै अन्य धेरै ठाउँमा चार्जिङ स्टेशन आवश्यक रहेको बताए।
उनले प्राधिकरणले सार्वजनिक चार्जिङ स्टेशनको लागि विशेष व्यवस्था गरेको बताए। उनले विनियम संशोधन गरेर २०० सम्मको ट्रान्सफर्मर प्राधिकरणले राखिदिने व्यवस्था समेत गरेको बताए। उनले विद्युतीय गाडी जुनबेला बत्ति आउँछ त्यो बेला चार्ज गर्दा हुने बताए।
उनले शतप्रतिशत विद्युत सप्लाई हुन्छ भनेर नेपालको अहिलको सिस्टममा भन्न नसक्ने बताए। उनले सहज रुपमा सबैलाई विद्युत पु¥याउनको लागि ठूलो लगानी आवश्यक रहेको बताए। करिव ५ देखि ६ खर्बको लगानी गरेपछि मात्रै युरोपको जस्तो विद्युत २४ घण्टा पाउने अवस्था आउने घिसिङले बताए।
Shares

प्रतिक्रिया