ad ad

कारोबार


स्वास्थ्य मन्त्रालयद्वारा काठमाडौं उपत्यकाका १० वटा औषधि पसल सिल

स्वास्थ्य मन्त्रालयद्वारा काठमाडौं उपत्यकाका १० वटा औषधि पसल सिल

मन्त्री बस्नेतसमक्ष अनुगमन र औषधि पसल सञ्चालनको अवस्थाबारे जानकारी गराउँदै अनुगमन टोली। तस्बिर : रासस


नेपालखबर
साउन ९, २०८० मंगलबार ७:४४, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ। अनुगमन टोलीले काठमाडौँ उपत्यकामा नियमविपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशनानुसार मन्त्रालयले २० वटा टोली बनाएर सोमबार उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमन गरेको हो। फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी खटाएको, औषधि व्यवस्था विभागले तोकेको मापदण्ड पूरा नगरेको र अनुमति नलिई औषधि पसल सञ्चालन गरेको गुनासो आएपछि मन्त्री बस्नेतले देशभर अनुगमन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिएका थिए। 

मन्त्री बस्नेत स्वयं अनुगमनमा निस्किएका थिए। अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, मन्त्रालय र स्वास्थ्य सेवा विभागका विज्ञ कर्मचारी संलग्न थिए। अनुगमन टोलीले सोमबारै साँझ मन्त्री बस्नेतसमक्ष अनुगमन र औषधि पसल सञ्चालनको अवस्थाका विषयमा जानकारी गराएको छ। अनुगमन टोलीका संयोजकहरूका अनुसार फरक व्यक्तिको फर्मासिस्टको प्रमाणपत्र राखेर औषधि पसल सञ्चालन गर्नेको सङ्ख्या उल्लेख्य छ। 

अनुगमनका क्रममा बिक्री वितरण गर्न अनुमति नलिई ‘न्युटास्युटिकल’ सामग्री बिक्री वितरण गर्ने, म्याद गुज्रिएका औषधिको भण्डार अलग नराख्ने, दर्ता नभएका र सरसफाइमा ध्यान नदिएका औषधि पसल भेटिए। अनुगमनमा संलग्न डा हेमन्त ओझाले आफूहरूले निरीक्षणका क्रममा दर्ता नगरी सञ्चालनमा रहेका औषधि पसल सिल गरेको बताए। ‘गोकर्णेश्वरमा दर्ता नै नगरिएका औषधि पसल फेला परेपछि दुईवटा सिल नै गरिएको छ’, अर्का टोलीका संयोजक सागर दाहालले भने।

छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले सोमबार गरिएको अनुगमनलाई निरन्तरता दिने बताए। मन्त्री बस्नेतले विभागमा जनशक्तिको अभाव तत्कालका लागि परिपूर्ति गर्न फार्मेसीमा इन्टर्न गर्न आउनेलाई औषधि विभागमा पठाउन महानिर्देशक ढकालाई निर्देशन दिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .