कारोबार


‘रेमिट्यान्सले उपभोग बढायो, उत्पादन बढाएन’

‘रेमिट्यान्सले उपभोग बढायो, उत्पादन बढाएन’

नेपालखबर
माघ ३, २०७६ शुक्रबार १४:१९,

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले नेपालमा रेमिट्यान्सको असर अर्थतन्त्रमा भन्दा पनि सामाजिक परिवर्तनमा बढी रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित ‘आर्थिक रुपान्तरणका लागि रेमिट्यान्स लाभमा नीतिगत संवाद’ सम्बन्धी कार्यक्रममा बोल्दै उपाध्यक्ष कँडेलले नेपालको कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत हिस्सा भएको रेमिट्यान्सको असर अर्थतन्त्रमा भन्दा बढी सामाजिक क्षेत्रमा रहेको बताए। उनले रेमिट्यान्सको कारण उपभोग बढेको तर उत्पादनमुलक क्षेत्रमा आउन नसकेकोले यसलाई नीतिगत रुपमा बढाउने योजना लिन नसकिने बताए। उनले रेमिट्यान्सलाई रोक्न पनि नसकिने र बढाउने नीति अवलम्बन गर्दा देशको आर्थिक विकास नहुने अप्ठ्यारो अवस्थामा रेमिट्यान्सले पुर्‍याएको बताए।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले रेमिट्यान्सका कारण उपभोग बढ्न गई आयात बढ्न गएको देखिएको बताए। उनले वित्तीय क्षेत्रमा पनि रेमिट्यान्स स्रोत परिचालनको मुख्य आधार देखिएको बताए। उनले रेमिट्यान्सलाई उत्पादन मुलक क्षेत्रमा लैजान नसक्ने हो भने अर्थतन्त्रको दिर्घकालिन सुधारका लागि अर्को स्रोतको विकल्प खोज्नुपर्ने बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईले नेपालमा उद्यमशिलता विकासको लागि विभिन्न प्रचलित मोडल प्रयोगमा आइराखेको र एक सय डलर भन्दा कम लगानीमार्फत उद्यमशिलता विकास गरी गरिवी निवारण गर्ने क्रममा रेमिट्यान्सलाई पनि प्रयोग गर्न सकिने बताए।

कार्यक्रममा रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र यसलाई उत्पादन क्षेत्रमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। विज्ञहरुले पछिल्लो समय रेमिट्यान्सले उपभोग बढाएकाले आयात बढेको र यसले देशको अर्थतन्त्रलाई नकारात्मक असर पारिरहेको छ या छैन भन्ने विषयमा अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad