संयुक्त अरब इमिरेट्सका अबुुधाबीमा बिहीबार बिहान दुर्घटना भएर मृत्यु भएका तीन नेपाली महिलाको शव नेपाल ल्याउन पहल शुरु भएको छ।
युएइस्थित दुतावासले त्यसका लागि स्थानीय प्रशासन, मृत्यु भएका महिलाहरु कार्यरत एमबिएम कम्पनी र अस्पतालहरुसँग समन्वय भैरहेको जनाएको छ। ‘आवश्यक प्रक्रिया पुरा गरी मृतकको शव नेपाल लैजानेलगायत अन्य समन्वय एवं सहजीकरणका लागि स्थानीय प्रशासन, एमडिएम कम्पनी र अस्पतालहरूसँग समन्वय भइरहेको छ’ विज्ञप्तिमा भनिएको छ।
दुतावासले जारी गरेको विज्ञप्तिमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र बाराकी अमिसा मोक्तान तामाङ दुर्घटनामा निधन भएको जनाएको छ।
सो घटनामा तीन नेपालसहित ६ जनाको निधन भएको थियो। अबुधाबीको अल राहा रोडमा २४ कामदार चढेको मिनीबस लरीसँग ठाेक्किएर दुर्घटना भएको थियो। जसमा १७ नेपाली महिला कामदार सवार रहेका थिए।
सो दुर्घटनामा १४ जना नेपाली घाइते भएका छन्। उनीहरुको आबुधाबीस्थित तीन वटा अस्पतालमा उपचार रहेको दुतवासले जनाएको छ। ‘घटनालगत्तै कृष्णप्रसाद ढकाललगायत राजदूतावासका अन्य अधिकारीहरूले उक्त तीनवटा अस्पतालहरूमा उपचार गराइरहेका घाइतेहरूलाई भेट गरी अस्पताल प्रशासन एवं उपचारमा संलग्न डाक्टरहरूसँग उनीहरूको अवस्थाको बारेमा जानकारी लिएका थिए’ दुतावासले जनाएको छ।

प्रतिक्रिया