जनक शर्मा पौड्याल सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। बैंकको केन्द्रीय कार्यालय काठमाडौंको गैह्रीधारामा छ।
पौडेलले तीन दशक बढी नेपालको बैंकिङ क्षेत्रमा काम गरेको अनुभव सङ्गालेका छन्। तर यो बैंकमा भने उनी आएको करिब सात महिनाअघि मात्रै हो। छोटो अवधिमा पौड्यालले बैंकलाई थप सबल, सक्षम र प्रविधिमैत्री बनाउन अनुकरणीय प्रयास गरेका छन्।
अहिले सरकारले हरेक नेपालीको बैंक खाता खोल्ने अभियान नै सञ्चालन गरिरहेको छ। सामाजिक सुरक्षा भत्तादेखि राज्यका हरेक निकायसँग गरिने काम कारबाहीमा बैंक खातालाई अनिवार्य गरिँदै लगिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यो अभियान सुरु गरेका हुन्। पौड्याल सनराइज बैंकले राज्यको उक्त अभियानलाई अक्षरशः कार्यान्वयन गरेको बताउँछन्। उनी भन्छन्, ‘यो एकदमै राम्रो मात्रै होइन, आवश्यक अभियान हो।’
बैंक खाता भएसँगै आर्थिक पारदर्शिता हुने, वैधानिक माध्यममा पैसा आउने, अवैध हुण्डीको र लगानीका लागि मार्गप्रशस्त गर्ने फाइदा रहेको उनी सुनाउँछन्। यसलाई अभियानकै रुपमा अझै ऊर्जा थपेर दौडाउनुपर्ने आवश्यकता देख्छन् पौड्याल। उनी भन्छन्, ‘सर्वसाधारणको ‘रेस्पोन्स’ एकदमै राम्रो छ। सनराइज बैंकको मात्रै कुरा गर्ने हो भने पनि यो अभियान सुरु भएदेखि दैनिक औसतमा १ हजारदेखि १ हजार २०० सम्म नयाँ खाताहरु खोलिँदै आएका छन्।’
बैंकले वित्तीय साक्षरतालाई पनि जोड दिएको छ। सीईओ पौड्यालका अनुसार खाता खोल्दाको फाइदा सुनेपछि खाता नभएका मानिसको अनुहारमा समेत खुसी देखिएको छ। तीन करोड नेपालीले दैनिक १ रुपैयाँ बचायो भने तीन करोड बचत हुन्छ। राज्यकोषमा त्यो पैसा भए पुँजी निर्माणमा सहयोग पुग्छ। पुल, विद्यालय बनाउन पनि सहयोग पुग्छ।
नेपालीको आमप्रवृत्तिबारेमा उल्लेख गर्दै उनी भन्छन्, ‘मानिसले पैसालाई महत्व नदिएको अवस्था छ। थोरै पैसा किन राख्ने भनेर चिया चुरोट पिउँ भन्ने मानसिकताले पनि काम गरेको छ। अनावश्यकरुपमा, खर्च भएको छ । यसलाई बचत गर्ने बानीको विकास गर्न जरुरी छ । पैसा गोजीमा भएपछि खर्च हुन्छ । आवश्यकताको आधारमा अगाडि बढे खण्डमा पैसाको मूल्य चिनिन्छ।’
देशैभर ४ हजार ५०० बैंक तथा वित्तीय संस्थाको ‘एटीएम’ सञ्जाल छ। एउटै बैंकको खोज्दा पनि जताततै भेटिन्छ ।
‘सनराइज बैंकको १२९ शाखा सञ्चालनमा छन् भने ५० शाखारहित बैंकिङ र १४८ एटीएम छन्। २७ वाणिज्य बैंकको कति होला’, उनी भन्छन्, ‘हिजोभन्दा आज, आजभन्दा भोलि बैंक खाता अनिवार्य हुँदै जान्छ । आर्थिक पारदर्शीताका लागिसमेत खाता अनिवार्य छ।’
राज्यका सबै बैंकमार्फत जानुपर्ने नीति ल्याएको कारण बैंक खाता अनिवार्यजस्तै बनिरहेको छ।
खाता खोल्नलाई प्रोत्साहन गर्दै उनी त्यसमा बचत गर्ने बानी विकास गर्नुपर्ने उल्लेख गर्छन्। बचत गर्ने संस्कारले देशका लागि आवश्यक पर्ने पुँजी देशभित्रै जम्मा हुने उनको भनाइ छ। ‘दिगो विकासको आधारमा हेर्दा त्यो पुँजी पर्याप्त त नहोला, तर केही न केही भने अवश्य पनि हुन्छ। तामाकोशीजस्ता ठूला र राष्ट्रिय गौरवका योजना हामी आफैँ अगाडि बढाउन सक्छौँ”, पौड्याल भन्छन्।
सनराइज बैंकमा बचत गर्नेलाई एक लाखसम्मको स्वास्थ्य बीमा गरिएको छ। बचतका ग्राहक कुनै दुर्घटना वा कुनै उल्झनमा परे खाताका तत्कालीन भएको रकमको २५ प्रतिशत वा एक लाखसम्म बिल बराबरको सहुलियत पाउँछन्। बैंकले यो व्यवस्था दुई वर्षअघि सुरु गरेको हो। सनराइजमा यो सुविधा लिने ८ सयजति रहेको पौड्यालले बताए। यो योजनाले बैंकको बचत वृद्धिदर उच्च देखिएको उनी बताउँछन्। बचतकर्तालाई रणनीतिक हिसाबले सुरक्षित गर्न यस्तो योजना बैंकले लामो गृहकार्यपछि ल्याएको हो।
सहजै पाइन्छ सहुलियत कर्जा
नेपाल राष्ट्र बैंकले सहुलियत कर्जाको विषयलाई बाध्यकारी बनाएको छ। असार मसान्तसम्म ५०० लाई त्यस्तो कर्जा दिर्नैपर्छ । ‘हामीले त किसान खोज्दै हिँडेका छौँ। कृषिलाई बढावा दिन लाग्नुभएको छ, हामी ऋण दिन्छौँ भनेर आह्वान नै गरेका छौँ।’ यस्तो कर्जा लिने प्रक्रियाबारे पौड्याल भन्छन्, ‘त्यस्तो कर्जा लिन आएर नदिएको अवस्था एकदमै कम होला । म आफैँले अनुभव गरेको एउटा पनि उदाहरण छैन । राम्रो ज्ञान वा प्रचार नभएर हो वा के हो, माग असाध्यै कम आएको छ।’
कृषिमा लगानी १५ प्रतिशत पु¥याउने योजनामा बैंक छ। कृषिप्रधान देश मात्रै भएर मात्रै भएन व्यावसायिक तवरले खेती गरिए उत्पादन बढ्ने त छँदै छ कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पनि बढाउँछ। तीन करोड नेपालीको हित हुन्छ। विदेशिएका ६० लाख युवा पनि देशमा फर्किएर यही श्रम गरौँ भन्ने अवस्था आउने उनको भनाइ छ। सनराइजले गृहिणीका लागि कस्तो सुविधा दिँदा उद्यमी बन्लान् भनेर लागिपरेको उनले सुनाए।
जलविद्युतमा १३ अर्ब
सनराइज बैंकले मात्रै नेपालको ऊर्जा क्षेत्रमा करिब १३ अर्ब लगानी गरेको छ। ४० आयोजनामा बैंकले उक्त लगानी गरेको हो। सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। त्यसैलाई सघाउन बैंकले लगानी गरेको उनी बताउँछन्।
‘ऋण लगानी गरेका केही आयोजना पूरा भई बत्ती नै बल्न थालेका छन्। कतिपय निर्माणका क्रममा भने केही निर्माणमा जाँदै छन्’, उनले भने। जलविद्युत् आयोजनाको महत्वपूर्ण साधन भनेकै प्रसारण लाइन हो । त्यो थप्दै जानुपर्ने उनको सुझाव छ।
‘आयोजना तयार हुने, प्रसारण नै हुन नसक्ने अवस्था आयो भने त्यो भन्दा दुःखद अरु हुनै सक्दैन’, उनी भन्छन्, ‘हामीले अब त धमाधम अन्तर्देशीय प्रसारण लाइन बनाउनुपर्छ। लागत घटाउनेतर्फ पनि लाग्नुपर्छ।’
प्रसारण लाइन निर्माणमा ध्यान दिइएन भने खतरनाक स्थिति आउन सक्ने उनी बताउँछन्। चीन, बंगलादेश र भारतलाई बिजुली चाहिएको छ । तत्कालका लागि भारतबाट ल्याएपनि आगामी दिनमा त त्यतै पठाउनुपर्छ। ‘दक्षिण एसियामा हामीले प्रसारणलाइन मात्रै बनाउन सके त्यसले हामीलाई आर्थिक रुपमा ठूलो फाइदा हुन्छ। हामी अब त्यतातर्फ लाग्नैपर्छ’, उनी भन्छन्। व्यापार घाटा घटाउने एक महत्वपूर्ण माध्यम बन्न सक्छ भनेर बैंकले ऊर्जामा लगानी गरेको पौड्याल बताउँछन्।
चेकबुकको जमाना सकिएको उनी बताउँछन्। सोही कारण अब समयअनुसार प्रविधितर्फ मोडिने बेला भएको पौड्यालको ठहर छ। केन्द्रीय बैंकले केही समय पहिले ‘आरटिजिएस’ सेवा सुरु गरेको छ । पैसा अनलाइनबाट नै कारोबार हुन थालेको छ । प्लास्टिकको सामान्य कार्डबाट भनेको ठाउँबाट भनेको स्थानबाट रकम निकाल्ने सुविधा भएपछि किन चेक बोक्ने झन्झट बोक्नु प¥यो भन्ने मानसिकता विकास भएको छ।
‘संसार प्रविधिमा दौडिएको अवस्थामा हामी पनि अगाडि नै लाग्नुपर्छ, पर्याप्त कानुनी आधार तयार हुनु जरुरी छ’, उनी भन्छन्, ‘साइबर सेक्युरिटीका विषय पनि आएका छन्। केन्द्रीय बैंकले निश्चित दिशानिर्देश गर्न थालेको छ। ‘इन्भेस्टमेन्ट इन टेक्नोलोजी’लाई बैंकले पूर्ण रुपमा कार्यान्वयमा ल्याएका छन्।’
उनका अनुसार देशभर दुई करोड ५० लाख खाता पुगेको छ । १५ लाख ग्राहक ऋण लिने छन् । उच्च प्रविधिको सेवा लिने ग्राहक एक करोड छन् । दुई करोडलाई बैंकिङ प्रणालीमा ल्याउनु जरुरी छ, त्यो पनि प्रविधि सहितको । चिनियाँ ह्याकरले बैंकको एटीएम लुटेको घटना पूरानो भएको छैन। सुरक्षाको विषय पनि उत्तिकै चुनौतीपूर्ण छ ।
तर प्रविधिकै कारण नेपालमा कतिपय ह्याकिङका समस्या पछिल्लो समय देखिएका छन्।
यसबारे उनी भन्छन्, ‘समस्या आएपछि समाधान गर्दै जाने, प्रविधिमा लगानी गर्दै जाने नै हो । सनराइज बैंकले ग्राहकलाई स्मार्ट बैंकिङमा जान प्रेरित गर्दै ७० बढी शाखामा पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको छ। हामीले प्रविधिमा लगानी गर्न ‘रिसर्च यूनिट’ नै राखेका छौँ।’
आगामी दिनमा बैंकमा पूर्ण रुपमा प्रविधिको उपयोग गर्ने सोचमा पौड्याल देखिन्छन्। यसका लागि उनले सञ्चालक समितिसमक्ष पनि त्यस्तो प्रस्ताव गरिसकेका छन्। ‘भावी दिनमा २४ घण्टा नै सेवा दिने योजना छ। त्यसमा ‘आर्टिसिफियल इन्टेलीजेन्ट’ले काम गर्छ । हामीले निर्माण गर्ने नयाँ प्रधान कार्यालयमा प्रविधिको उच्च प्रयोग गर्नुपर्छ भन्ने सोच बनाएका छौँ।’
बहुमूल्य वस्तु बैंकमा नै राख्नुप¥यो, काउन्टर ५ बजे बन्द हुन्छ । त्यसपछि काउन्टरबाट सेवा पाउँदैनन् ग्राहकले । बैंकको लकरबाट दिउँसो बहुमूल्य सामान झिकिएला तर राति फेरि बैंकमा राख्न मिल्दैन । आफ्नो प्रविधिको सपनाबारे थप प्रष्ट्याउँदै पौड्यालले थप्छन्, ‘यस्तो ‘लकर रुम’ होस् जहाँ बाहिर ‘फिल्टरिङ गेट’ हुन्छ । जुनसुकै ग्राहकले २४ सै घण्टा सेवा लिन सकून् । सेवाग्राही ‘कोड टाइप’ गरेर भित्र छिर्छ । भित्र गएपछि फलामे गेट खुल्छ । उसले लकर नम्बर, सेक्युरिटी नम्बर प्रविष्ट गरेपछि रोबोर्टले ग्राहकलाई चिन्छ।’
तपाईं यति बेला पनि, कुन सेवाका लागि आउनुभयो भनेर ‘रोबोर्ट’ले नै सोध्छ । बिहानको समयमा भए शुभप्रभात, तपाईंलाई स्वागत छ, के म तपाईंलाई सहयोग गर्न सक्छु भन्छ । ग्राहकले आफ्नो कार्ड हालेपछि कति नम्बरको लकर हो, रोबर्टले ल्याएर दिने व्यवस्था हुन्छ त्यसमा । ‘अहिले त सबै लकर देखिन्छ । ‘अटोमस सेक्युरिटी’ भनेको अरुको नदेख्ने पनि पनि हो । तपाईंको मात्रै लकर ल्याएर दिन्छ, झिक्नुस् वा राख्नुस्, काम सकिएपछि रोबोर्टले जहाँबाट झिकेको हो, त्यहीँ लगेर राखिदिन्छ । यस्तो प्रविधि ल्याउने सोचमा छु म’, उनले आफ्नो सपना सुनाए।
यस्तो प्रविधि आएपछि २४ सै घण्टा पैसा जम्मा गर्न वा झिक्न परे पनि सहज हुने उनी बताउँछन्। यूरोपेली देशमा यस्तो प्रविधिको प्रयोग भइसकेको छ। त्यसो त उनी आफैँले काम गरेको बेलायतको एक बैंकको उदाहरण दिँदै भन्छन्, ‘अहिले यूरोपका धेरैजसो बैंकको काउन्टर छैन, कर्मचारी पनि छैनन् । चेक ‘क्लियरिङ’ गर्ने जम्मा गर्ने पैसा दिने, सूचना दिने स्थानमा रोबोर्ट छ।’
तर प्रविधिमा दक्ष मानिस देशभित्र बस्नै छाडेकामा उनी चिन्ता व्यक्त गर्छन्।
पौड्यालले ३२ वर्ष अगाडि आफैँले भौचर बनाउँदा २१ प्रतिशतसम्मको ब्याजको भौचर बनाएको स्मरण गर्छन्। अहिले घटेर १०÷११ प्रतिशतको हाराहारीमा रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘ब्याज लिँदा बैंकले ‘चुसे’ भन्ने पनि आउँछ ।” ऋणको माग घट्यो, बैंक र कर कार्यालयमा बुझाउने फाइल एउटै, ‘क्रेडिड’को माग घटेको हो ? हाम्रो प्रश्नसँगै उहाँको उत्तर थियो, “हो, घटेको छ । पैसा, व्यापार, उत्पादन, व्यवसायबाट आउने हो । विभिन्न अवस्थामा मानिसलाई ऋण चाहिन्छ । व्यक्तिगत, ‘अटो लोट’, ‘होम लोन’ चाहियो । कर तिरेको प्रमाणसहित आउनु प¥योभन्दा ग्राहकले अप्ठ्यारो महसुल गरेको मैले अनुभव गरेको छु ।’
करको विषयमा पारदर्शी हुनुपर्ने उहाँको जोड छ । उहाँ भन्नुहुन्छ, “हामीलाई धेरैभन्दा धेरै स्रोत चाहिएको छ । यति स्रोत होस् कि देश पूर्णरुपमा विकास होस्, प्रतिस्पर्धी बनोस् भन्ने पनि छ ।” एउटा ट्याक्सी चालकले कहाँबाट ल्याओस् करको प्रमाणपत्र ? उहाँको प्रतिप्रश्न थियो । पौड्याल भन्नुहुन्छ, “व्यक्तिले इच्छा मारेर बस्दैन । कृषक, दैनिक ज्यालादारी गर्नेले कहाँबाट सुविधा लिने, एक÷दुई लाख हुनेले कसरी ऋण लिने ?” एकै पटक नयाँ नीति आउँदा नकारात्मक प्रभाव परेको उहाँको थप टिप्पणी थियो । देशका लागि विशाल वित्तीय समावेशीता जरुरी रहेको भन्दै उहाँले तीन करोड नेपालीको आयस्रोत, बैंक, घरमा भएको पैसा अर्थतन्त्रमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेको छ । चालु आवको बजेटले ८.५ प्रतिशतको आर्थिक वृद्धिको परिकल्पना गरेको छ । त्यसलाई पूरा गर्न पनि केही सार्थक प्रयास गर्नैपर्छ । देशको विकास गर्ने नीतिमा हाम्रो आफ्नो स्वतन्त्र निर्णय गर्नैपर्छ । आफ्नोपनले धेरै महत्व राख्छ । विदेशी निकाय वा संस्थाको सुझाव पूर्ण रुपमा लागू हुन सक्दैन ।
प्रोजेक्ट फाइनान्सिङमा जाने कि !
‘प्रोजेक्ट फाइनान्सिङ’मा जाने सोच उनी सुनाउँछन्। “हाम्रो देशको आवश्यकता नै यही हो । यसको सुरुवात गर्नुपर्छ । केही धितो चाहिँदैन । ऋण प्राप्त हुन्छ । एउटा व्यावसायिक सोच विश्वभर नै जान सक्छ । घर जग्गा छैन भने पनि ऋण पाइन्छ”, उनी भन्छन्, “बैंकले व्यवसाय गर्छ, जोखिम पनि लिन्छ । शतप्रतिशत डुब्दैन भन्ने भयो भने त्यो त जोखिम नै भएन नि ! आँखा खोलेर जोखिम लिने हो । सफल नहुन सक्छ ।”
नियमनकारी निकायले त्यसतर्फ हेर्नुपर्ने सुझाव दिन्छन् पौड्याल। “तर हाम्रोमा, ए त्यो डुब्यो, कसकसले हस्ताक्षर गरेको हो, तिनीहरुलाई थुन, धितो किन लिएन भनेर प्रश्न उठाउन थालिन्छ”, उनले भने, “बिजनेस ‘मे फेल’ भन्ने कुरा संसारलाई थाहा छ, तर हाम्रोमा यो बुझाउने कसले हो ? प्रोजेक्ट फाइनान्सको विषय अगाडि बढाउनैपर्छ ।” बिना धितो दिएर व्यवसाय चलेन भने खोरमा जाने ? नीतिगत र कानूनी प्रश्न स्पष्ट भए हामी प्रोजेक्ट फाइनान्स गर्न तयार छौँ । संरचनात्मक समस्या हल भए आफूहरु त्यसका लागि तयार रहेको उनको भनाइ छ ।
‘बैङ्कले ब्याजमात्र खाँदैन’
बैंकरहरु रुढीवादी भए भनेर व्यवसायीले आन्दोलन नै गरे वास्तविकता के हो ? उनलाई अर्को प्रश्न गरियो । त्यस प्रश्नमा उनको सोझो उत्तर थियो, “यो सबै गलत हो, अफवाह हो । बैंकले जथभावी चुसेर लिए भन्ने छैन । ब्याज कति लिने भनेर सार्वजनिक रुपमै भनेका छन् ।”
उनका अनुसार नेपालमा कतिपय व्यवसायी छन्, ती बैंक पनि चलाउँछन् । बैंकर र व्यवसायीको सीमा छुट्याउनुपर्छ । उहाँले नीतिगत विषय सरकारले नै थप प्रष्ट पार्नुपर्ने आवश्यकता औँल्याए। “सुट टाई लगाएको भन्ने कुरा छ ? के लगाउने ? धोती लगाएर आउने ? डोल्पा, जुम्ला वा पहाडी क्षेत्रका मानिसले भन्दा सुहाउँछ । सारा संसार देखेर आएकाले त्यसो भन्दा दुःख लाग्छ, अबुझसँग त केही लाग्दैन,” उनले भने।
नेप्सेको अध्ययनमा सनराइज बैंक एक नम्बरमा रहेको उनको दाबी छ। “सञ्चालक समितिको आफ्ना रणनीति हुन्छ । हामी ठूलोको पछि छैनौँ । हामी सुदृढ र भावी दिनमा पनि चल्ने, बैंक बन्नुपर्छ”, उनले भने, “राष्ट्र बैंकको नीति कार्यान्वयन गर्नु हाम्रो प्रथम दायित्व हो, हामी ‘कमा’ र ‘पूर्ण्विराम’को जोखिमसमेत लिन चाहँदैनौ । मर्जर नीतिलाई अनादर गर्नेतर्फ हामी पटक्कै छैनौँ।”
“केही ‘पार्टनर’सँग कुरा गरेका छौँ । हाम्रा रणनीतिसँग मिल्नेसँग मिल्छौँ । नियामक निकायको उद्देश्य पूरा गर्न उत्प्रेरित छौँ । हामी सबल हुने तरिकाले गर्छौ”, उनले थप जोड दिँदै भने, “मर्जर कमिटी गठन गरेका छौँ । पाँच छ÷वटा कम्पनीसँग कुरा गरेका छौँ । हामी खुल्ला छौँ, सकारात्मक नै छौँ । सनराइज बैंक ‘फोर्स मर्जर’ कुरेर बसेको होइन ।” राससबाट
Shares

प्रतिक्रिया