कारोबार


‘क्लिन फिड लागू गर्दा भारतीयकै व्यापार बढ्छ’

‘क्लिन फिड लागू गर्दा भारतीयकै व्यापार बढ्छ’

दीपक भट्ट
असार १३, २०७६ शुक्रबार ४:११,

स्याटलाइट प्रविधिमा आधारित डिटिएच सेवा प्रदायक डिस होमले सरकारले संसदमा पेश गरेको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ सच्याउन आग्रह गरेको छ।

यो विधेयकले विदेशी टेलिभिजन च्यानलले नेपालमा विज्ञापन रहित प्रसारण (क्लिन फिड) गर्नु पर्ने व्यवस्था गरेपछि डिस होमले यसलाई परिमार्जन गर्न सरकारसँग आग्रह गरेको हो। जसलाई केवल अपरेटर कम्पनीहरुले पनि साथ दिँदै आएका छन्।

भारतले ‘क्लिन फिड’ नदिने भएकाले नेपालमा अहिले यो लागू गर्न कठिन रहेको बताउँदा सरकारले आफुहरूलाई ‘राष्ट्रियाता विरोधी’ भन्ने गरेको डिस होमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यको भनाइ छ।

‘नेपाललाई क्लिन फिड दिन भारतीय च्यानलहरूले छुट्टै स्याटेलाइट प्रयोग गर्नु पर्छ, जसमा अर्बौं रुपैयाँ खर्च हुन्छ’, डिस होमका सिइओ आचार्य भन्छन्, ‘भारतले कुनै पनि देशलाई क्लिन फिड दिएको छैन र नेपालका लागि थप खर्च गर्न भारतीय च्यानलहरु चाहँदैनन्।’

सञ्चार मन्त्रालयले यो विधेयक संसदमा पेश गरेपछि अहिले यसमाथि सार्वजनिक बहस भइरहेको छ। सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ‘क्लिन फिड नीति जसरी पनि लागू गर्ने’ बताएका छन् भने डिस होम लगायत केवल अपरेटर कम्पनीहरुले यसमा परिमार्जन गर्न आग्रह गरेका छन्।

‘क्लिन फिड’ नीति लागू गर्ने यो विधेयक हुबहु कार्यान्वयनमा आए नेपाली च्यानल बाहेक विदेशी टेलिभिजन च्यानलहरू प्रशारण गर्न नसकिने उनीहरूको भनाइ छ।

‘क्लिन फिड’ अन्तर्गत तेस्रो मुलुकका ३–४ वटा र भारतीय ३–४ वटा बाहेक अरु च्यालन प्रासरण नहुने उनीहरूको तर्क छ। जबकी अहिले तीन सय बढी विदेशी च्यानलमा नेपालीको पहुँच छ।

भारतीय ब्रोडकास्टिङ कर्पोरेसनले ८ महिना अघिको लिखित जवाफमा क्लिन फिडमा च्यानल दिन नसक्ने बताएकाले ‘क्लिन फिड’ लागू हुँदा विदेशी च्यानलहरूको प्रसारण नेपालमा बन्द नै हुने अवस्था रहेको आचार्यको भनाइ छ।

जसरी पनि ‘क्लिन फिड’ लागू गरेर अगाडि बढ्ने सरकारको नीति हो भने उसले भारतसँग छलफल गर्नु पर्ने आचार्यको सुझाव छ। नेपाल सरकारले भारतीय कम्पनीहरूसँग ‘क्लिन फिड’ का लागि कुनै सहमती वा सम्झौता गरे मात्रै भारतीय च्यानल नेपालमा प्रसारण हुन सक्ने उनको भनाइ छ।

‘भारतले बंगलादेशलाई क्लिन फिड नभएर फिड क्लिन दिएको थियो, जसमा बंगलादेशमा प्रसारण हुने भारतीय च्यानलहरूमा बंगलादेशका विज्ञापन प्रतिस्थापन गरेर देखाउन सकिने व्यवस्था थियो’, आचार्य भन्छन्, ‘तर त्यसमा पनि भारत असफल भैसकको छ, त्यसैले भारतले नेपाललाई क्लिन फिड च्यानल दिन सम्भव नै छैन।’

सरकारले अगाडि बढाएको विधेयकमा फिड क्लिनको व्यवस्था पनि नरहेको उनी बताउँछन्।

‘विधेयकमा विदेशी च्यालन विज्ञापन रहित प्रसारण हुन पर्ने उल्लेख छ, जसले विदेशी च्यालन नेपालमा प्रसारण नहुने अवस्था सिर्जना गरेको छ’, आचार्य भन्छन्।

भारतीय डीटीएच कम्पनी नेपालमा विस्तार हुनेछन्
नेपालको सिमा क्षेत्रका करिब ६ लाख नेपाली ग्राहक भारतीय डीटीएच कम्पनीका छन्। अब ‘क्लिन फिड’ लागू गर्दा यो संख्या निकै बढ्न सक्छ, जसको व्यापार भारतीय डीटीएच कम्पनीहरूले गर्ने आचार्य बताउँछन्।

‘भारतीय डीटीएच कम्पनीहरु अहिले नेपालको सिमा क्षेत्रमा सक्रिय छन्, नेपालले क्लिन फिड लागू गरेको अवस्थामा ती भारतीय कम्पनीहरूको व्यवसाय अझ फस्टाउँछ’, आचार्य भन्छन्, ‘त्यसैले सरकारले यसमा ध्यान दिनुपर्छ।’

डिस होमकै छातामा नयाँ बक्स राखेर सिमा क्षेत्रका ग्राहकसँग भारतीय डीटीएच कम्पनीहरूले व्यापार गर्न सक्ने उनको भनाइ छ।

नेपालका च्यालन मात्रै हेर्ने कि भारतीय डीटीएचसँग जोडिएर तीन सय वटा च्यानल हेर्ने भन्ने छनोट सिमा क्षेत्रका नागरिकलाई छ। त्यस्तो अवस्थामा उनीहरू भारतीय डीटीएचतर्फ नै आकर्षित हुन सक्नेछन्।

आचार्य भन्छन्, ‘त्यसैले क्लिन फिड लागू गर्नु भनेको भारतीय डीटीएच कम्पनीलाई नेपालमा व्यापार विस्तार गर्ने अवसर दिनु हो।’

विदेशी च्यानल २४ घण्टा बन्द हुँदा
डिस होम तथा केवल अपरेटर कम्पनीहरूले असार ९ गते दिउँसो ३ बजेदेखि २४ घण्टाका लागि विदेशी च्यालनहरु प्रसारण गरेनन्।

‘अहिलेको अवस्थामा क्लिन फिड लगाउँदा कस्तो देखिन्छ, त्यो कुरा बुझाउन २४ घण्टा विदेशी च्यालन बन्द गरेको’ उनीहरूको दाबी छ।

त्यो बन्दको अवधीमा पनि ‘क्लिन फिड’ मा आउने ५ वटा च्यानल प्रसारण गरिएको थियो।

‘हामीले त्यो सांकेतिक विरोध गर्दा च्यानल किन बन्द गरेको, सेवा अवरुद्ध गर्न पाइँदैन भन्ने कुरा आयो’, डिस होमका सिइओ सुदीप आचार्य भन्छन्, ‘हामीले सेवा बन्द गरेको नभएर अवस्था बुझाउन मात्रै त्यसो गरेका थियौं, त्यसमा आएका प्रतिक्रियाहरूबाट के बुझिन्थ्यो भने विदेशी च्यानल हेर्ने चाहना सबैमा छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad