ad ad

कारोबार


अन्तिममा यसकारण रोकियो प्रधानमन्त्री र अर्थमन्त्रीसँग ज्याक माको भेट

अन्तिममा यसकारण रोकियो प्रधानमन्त्री र अर्थमन्त्रीसँग ज्याक माको भेट

चिनियाँ खर्बपति ज्याक मासँग भक्तपुरमा चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी


नेपालखबर
असार १४, २०८० बिहिबार २२:३, काठमाडौँ

आकस्मिक रुपमा नेपाल आएका चिनियाँ खर्बपति ज्याक मा तीन दिन नेपाल बसेर पाकिस्तान हुँदै फर्किएका छन्। काठमाडौंमा औपचारिक राजनीतिक भेटवार्ता नगरेका मा केही व्यावसायिक भेट र सम्पदा क्षेत्रको भ्रमण गरी चार्टर्ड जहाजमार्फत पाकिस्तानतर्फ लागेका हुन्।

मंगलबार दिउँसो साढे १ बजे नेपाल भित्रिएका ज्याक मा बिहीबार ११ः२५ मा पाकिस्तानको लाहौरका लागि उडेका हुन्। ज्याक मा जेट एभिएसन बिजनेस जेट्स (हङकङ) लिमिटेडको बोइङ ७३७ म्याक्स–८ जहाज मार्फत नेपाल आएका थिए। 

चार्टर्ड जहाजमा ज्याक मासँगै डेनिस चेन, वु मिङ, पौल ज्याक्सन, चेन सी, किम एल्गार्ड, जिउलिया ली निङ र पेइ वाङ आएका थिए। 

नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार बंगलादेशको हजरत शाहजलाल इन्टरनेसनल एयरपोर्टबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनी यहाँबाट पाकिस्तानको अल्लामा इकबाल इन्टरनेसनल एयरपोर्टतर्फ प्रस्थान गरेका हुन्।

मंगलबार मध्यान्न नेपाल आइपुगेका उनले द्वारिकाज्, सोल्टी र म्यारियट होटलमा सुइट बुक गरेका थिए। तर आफ्नो काठमाडौं बसाईका लागि उनले द्वारिकाज् रोजे। लन्च भने नक्सालमा रहेको म्यारियट होटलमा गरेको बताइएको छ। 

३ हजार डलर पर्ने रोयल सुइटमा उनी बसेका थिए। यो २५० वर्गमिटरको सुविधा सम्पन्न कोठा हो। जहाँ बार्दलीसहितको बेडरुम र छुट्टै लिभिङ एरिया छ। द्वारिकाज् होटलमा उनले तेस्रो तहका केही नेताहरूसँग ‘लन्च मिटिङ’ सहित छुट्टाछुट्टै पनि भेटवार्ता गरे।

ज्याक मा जेट एभिएसन बिजनेस जेट्स (हङकङ) लिमिटेडको बोइङ ७३७ म्याक्स–८ बाट काठमाडौं ओर्लेका थिए (फोटो स्रोतः रोशन खड्का)

अन्तिममा रोकियो प्रधानमन्त्री र अर्थमन्त्रीसँगको भेट
कोभिड महामारी र अरु बेला पनि नेपाललाई सहयोग गर्दै आएका खर्बपछि ज्याक मा नेपाल आउँदा प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेटवार्ता हुने अनुमान स्वाभाविक हो। उनी मंगलबार काठमाडौं उत्रेलगत्तै त्यस्तो भेटवार्ताको तयारी पनि भएको थियो। 

तर ज्याक माको दुर्लभ यो नेपाल भ्रमण प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता पनि नगरि टरेको छ। उच्च स्रोतका अनुसार ज्याक मालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गराउन विनोद चौधरी नै सक्रिय भएका थिए। तर अन्तिम समयमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री महतले मासँग भेटवार्ता गरेनन्।

स्रोतका अनुसार चिनियाँ र भारतीय पक्षबाट मासँग औपचारिक भेटवार्ता नगर्न संकेत आएपछि प्रधानमन्त्री र अर्थमन्त्रीको तर्फबाट भेट रोकिएको हो। 

‘ज्याक मासँग मंगलबार नै भेट्ने तयारी थियो तर चिनियाँ र भारतीय पक्षबाट नभेट्न संकेत आएपछि भेट हुन सकेन’, स्रोतले नेपालखबरसँग भन्यो।

उनीसँग औपचारिक भेट नगर्न चिनियाँ पक्षबाट प्रधानमन्त्री प्रचण्ड र भारतीय पक्षबाट अर्थमन्त्री महतलाई संकेत आएको उच्च स्रोतको भनाइ छ।  

चिनियाँ वित्तीय नियामक निकायको आलोचना गरेपछि सार्वजनिक रुपमा त्यति नदेखिएका मालाई चिनियाँ पक्षले प्रधानमन्त्रीकै तहमा औपचारिक भेटवार्ता नगर्न अप्रत्यक्ष सुझाव दिएको हो। 

पछिल्लो समय नेपालमा चिनियाँ लगानीप्रति प्रश्न उठाउँदै आएको भारतीय पक्षले भने माले ठूलो लगानी साझेदारीको प्रस्ताव गर्न सक्ने ठानेरै उनलाई नभेट्न अर्थमन्त्रीलाई अप्रत्यक्ष सुझाव दिएको बुझिएको छ।

विक्रम पाण्डेको कम्पनीले गर्‍यो उडानमा सहजीकरण 
नेपालमा अन्तर्राष्ट्रिय चार्टर्ड जहाजको सेवा दिने नेपाल एभिएसन प्रा.लि.ले असार ६ गते नेपाल नागरिक उड्डयन प्राधिकरणसँग बोइङ चार्टरका लागि अनुमति लिएको थियो। नेपाल एभिएसन प्रा.लि.का अध्यक्ष व्यवसायी बिक्रम पाण्डे हुन्। प्राधिकरणले ज्याक मा आउनु एक दिनअघि मात्रै चार्टर्ड उडानको अनुमति दिएको थियो। 

नेपाल एभिएसन प्रा.लि.का महाप्रबन्धक सतीश न्यौपानेले ज्याक माको चार्टर्ड उडानको सहजीकरण आफूहरुले गरिदिएको बताए। 

‘हाम्रो कम्पनीले उहाँको टिमको चार्टर्ड उडानको सहजीकरण गरिदिएको हो,’ महाप्रबन्धक न्यौपानेले नेपालखबरसँग भने, ‘उडानलाई व्यावसायिक ट्रिप भनिएको थियो। चौधरी ग्रुप लगायतसँग भेटघाट गरेको बुझेका छौँ।’

नेपाल प्रहरीको सुरक्षा लिएनन्, स्वयम्भू र भक्तपुर पुगे 
माले करिब ७० घण्टा नेपालमा बिताउँदा औपचारिक रुपमा नेपाल प्रहरीको सुरक्षा माग गरेका थिएनन्। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले ज्याक माले औपचारिक सुरक्षा माग नगरेको बताए। तर प्रहरीले आफ्नो हिसाबले सुरक्षा दिएको कडायतले बताए। 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता सीताराम रिजालका अनुसार उनी आफ्ना केही सदस्यसहित कालिमाटी पुगेका थिए। 

चिनियाँ टोलीका सदस्यहरुसहित उनी मध्यान्ह साढे १२ बजे कालिमाटी तरकारी बजारमा पुगेका थिए। 

ज्याक मा चीनको डिजिटल भुक्तानी प्लेटफर्म अलिपे ग्लोबल मर्चेन्ट पेका पनि मालिक हुन्। कालिमाटी तरकारी बजारमा पुगेर उनले त्यहाँ केही व्यापारीहरुसँग कुराकानी पनि गरे। त्यसक्रममा उनले तरकारी किन्दा र बेच्दाको मूल्यसँगै त्यहाँको भुक्तानी प्रणालीबारे पनि चासो राखेको बताइएको छ। 

कालिमाटी तरकारी बजारमा करिब १५ मिनेट बिताएपछि उनी त्यहाँबाट स्वयम्भूनाथ दर्शन गर्न गएको प्रहरीले जानकारी दिएको छ। 

ज्याक माले बौद्ध स्तुपको भ्रमण पनि गरेका थिए। त्यसपछि भक्तपुर दरबार स्क्वायरमा पुगे। भक्तपुरमा सम्पदाविद् अनिल चित्रकारसँग उनको फोटो सार्वजनिक भएको छ।

विनोद चौधरीको घरमा लन्च
कालिमाटी बजारबाट स्वयम्भू पुगेका ज्याक माले बुधबार नेपालका डलर अर्बपति विनोद चौधरीको रवि भवनस्थित घरमा ‘लन्च’ गरेका थिए। ज्याक माको चौधरी ग्रुपसँग राम्रो सम्बन्ध छ। 

‘स्वयम्भु पुगेर फर्केपछि विनोद चौधरीको घरमा लन्च गरेका हुन्,’ स्रोतले भन्यो, ‘ज्याक मासहित चार जनाले चौधरीसँग व्यावसायिक र फाउन्डेसनका विषयमा छलफल गरेका थिए।’

ज्याक माले करिब ३ घण्टा सांसद समेत रहेका चौधरीको घरमा बिताए। कालिमाटी बजार र स्वयम्भू घुम्दाको अनुभव पनि उनले साटेको स्रोतले जानकारी दियो।

‘स्वयम्भू धेरै राम्रो छ भन्ने सोचेर जानुभएको रहेछ। तर सरसफाइको व्यवस्थापन राम्रोसँग नगरेको गुनासो गर्नुभयो,’ स्रोतको भन्यो।

ज्याक माले चौधरी ग्रुपका सदस्यसँग हिउँदमा फेरि नेपाल आउने बताएका छन्।

‘चौधरी परिवारसँग व्यावसायिकभन्दा पनि पारिवारिक कुरा बढी भयो,’ स्रोतको भनाइ छ। भेटघाटमा विनोद चौधरी, सारिका चौधरी, निर्वाण चौधरी लगायत सहभागी थिए।

तर ज्याक माले नै काठमाडौंमा भएका भेटवार्ताहरू गोप्य राख्न चाहेपछि चौधरी समूहले यसबारे सार्वजनिक गर्न नचाहेको देखिन्छ।

चौधरी परिवारसँगको लन्चपछि उनी बौद्ध र भक्तपुर दरबार स्क्वायर पुगेका थिए। निर्वाण चौधरीले नै ज्याक मालाई भक्तपुर दरबार स्वकायर घुमाएका हुन्।

नेपालमा ज्याक माको व्यावसायिक कनेक्सन 
सन् १९६४ मा जन्मिएका ज्याक माले सुरुमा अंग्रेजी भाषा अनुवाद गर्ने हाइबो अनुवाद एजेन्सी खोलेका थिए। १९९६ मा इन्टरनेट वेबसाइट बनाउने कम्पनी खोलेसँगै उनले सफल व्यवसायीको रुपमा परिचय बनाए।

विश्वका धनाढ्य ज्याक माको नेपालमा पनि लगानी छ। अनलाइन सपिङ कम्पनी दराज खरिद गरेसँगै नेपालमा व्यावसायिक रुपमा उनी जोडिएका हुन्।

ई–कमर्स प्लाटफर्मका रुपमा स्थापित भएको दराज नेपालमा पनि बहुचर्चित छ। दराज पाकिस्तानमा सन् २०१२ मा स्थापना भए पनि ज्याक माले ५ वर्षअघि उक्त कम्पनी खरिद गरेका थिए। 

तर अलिबाबा ग्रुपले खरिद गर्नुअघि दराज नेपाली बजारमा प्रवेश गरिसकेको थियो। हाल दराज पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, म्यानमारमा पनि सञ्चालित छ।

ज्याक मा चीनमा चौथो धनी व्यक्ति हुन् भने विश्वको ३९ औँ धनी। मासँग ३४.५ अर्ब अमेरिकी डलर सम्पत्ति छ। चिनियाँ वित्तीय नियामक निकायको आलोचना गरेपछि उनी केही समय सार्वजनिक रुपमा देखिएका थिएनन्।

पछिल्लो समय उनले आफ्नो आन्ट ग्रुपमाथिको नियन्त्रण समेत त्यागेका छन्। हाल उनले जापान र हङकङमा अधिक समय बिताउन थालेका छन्। गत मे १ देखि उनी जापानको टोकियो कलेजमा भिजिटिङ प्रोफेसरका रुपमा आबद्ध भएका छन्।

हङकङको सबैभन्दा ठूलो र पुरानो मिडिया साउथ चाइना मार्निङ पोस्टका मालिक हुन् ज्याक मा।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .