ad ad

कारोबार


धुलिखेल–खावा सडक निर्माणमा ठेकेदारको लापरबाही : चाडपर्वका सामान तातोपानी नाकामा रोकिए

धुलिखेल–खावा सडक निर्माणमा ठेकेदारको लापरबाही : चाडपर्वका सामान  तातोपानी नाकामा रोकिए

वसन्त अर्याल
भदौ २३, २०८१ आइतबार १७:५७, काठमाडौँ

ठेकेदारले धुलिखेल–खावा सडक समयमा नबनाउँदा तातोपानी नाकाबाट हुने आयात प्रभावित भएको छ। सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनाभित्र काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता भएको थियो। तर, ठेकेदारले समयमा काम नगरी ठाउँठाउँमा खनेर भताभुंग छाडेका कारण सवारी साधन सहज रूपमा चल्न सकेका छैनन्। यसले यस क्षेत्रको जनजीवन मात्र प्रभावित भएको छैन, उत्तरी छिमेकी चीनसँगको व्यापारसमेत नराम्ररी बिथोलिएको छ।

तातोपानी भन्सार कार्यालयले धुलिखेल–खावा सडकमा गाडी चल्न नसक्दा भन्सारका सामान ल्याउनै समस्या भएको छ। तातोपानी नाकाका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले धुलिखेलमा बाटो बिग्रिँदा गाडीहरु सहजरुपमा आउजाउ गर्न पाएका छैनन्। गाडी आउजाउ नभएपछि व्यवसायीले भन्सारमा सामान नै नछुटाएको बताएका छन्।

‘पछिल्ला ३ दिन धुलिखेलको सडकले नियमित गाडी आउजाउ हुनसकेका छैनन्’, उनले भने, ‘तातोपानी–काठमाडौं गर्ने सीमित गाडी भएकाले एक दिन अवरोध हुँदा एक हप्ता नै असर पर्छ।’

सुरुङ निर्माणको कामले चीनमा केही अवरोध भए पनि अहिले गाडी आउन खासै समस्या छैन। रसुवा–काठमाडौंकै आउजाउमा भने केही अप्ठ्यारा आएका छन्।

सूर्यविनायक धुलिखेल सडकको अवस्था

गौरी–पार्वती निर्माण सेवाले समयमै धुलिखेल–खाबा सडक नबनाउँदा यात्रुसँगै मालवाहक गाडीले बारम्बार रोकिनुपरेको हो। २०७९ जेठमा ठेक्का सम्झौता हुँदा २०८० चैतमा निर्माण सक्नुपर्ने सम्झौता थियो। उक्त अवधिबाहेक ६ महिना पुग्दा पनि सडकको अवस्था उस्तै छ। गत जेठमा पनि उक्त सडकमा गाडी हिँड्न नसक्ने भएपछि बन्द गरिएको थियो। अहिले फेरि पानी परेसँगै उस्तै भएको छ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले सडकमा ठूला गाडी हिँड्न नसक्ने अवस्था भएकाले मर्मत गर्न बन्द गरिएको बताए।

‘शुक्रबार र शनिबार बन्द गरिएको हो। आइतबारबाट मालवाहक सवारीसाधनको लागि खुल्ला गर्दै छौँ’, सहसचिव न्यौपानेले भने, ‘निर्माण कम्पनीले नै मर्मत गरेको छ।’

तातोपानी नाका

केरुङतर्फ सडक बिग्रिँदा १–२ दिन बिराएर मात्रै गाडी आउँछन्
चीनतर्फ भोटेकोशीमा बाढी भएकाले पहिरो जाने डरले चीनले दैनिक गाडी पठाउँदैन। चाडपर्वमा अपेक्षित रुपमा मालवाहक गाडी आएको छैन।

‘चीनतर्फ भोटेकोशीमा ठूलो पानी हुँदा बाटोमै पानी पुगेको भन्ने छ। बाटोमा पहिरो जाने सम्भावना भएर एउटा एउटा गाडी पठाउँदैनन’, रसुवा भन्सारका सूचना अधिकारी रविन्द्र प्रसाद प्याकुरेलले भने, ‘गाडीहरु एकैठाउँमा लाइन लगाएर स्कर्टिङ गरी पठाउने गरेको छ।’

चाडपर्वलाई लक्षित गरेर स्याउ बढी आयात भएको देखिन्छ। रसुवाबाट काठमाडौं पु¥याउने गाडीकै कमी भएको व्यवसायी सुनाउँछन्।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले तातोपानी नाकामा धुलिखेल र खासापट्टि सुरुङमार्ग निर्माण हुँदा केही समय बन्द भएको बताए।

‘तातोपानी नाका आउनुपूर्व चिनियाँले सडकमा सुरुङमार्ग निर्माण गरिरहेको छ। केही समय गाडी रोकेर छाड्ने गरेको छ’, अध्यक्ष कार्कीले भने, ‘नेपालतर्फ धुलिखेलमा बाटो बन्द हुँदा लामो लाइन लागेको थियो। आइतबारबाट खुल्दा केही सहज हुन्छ कि!’

उनले रसुवागढी नाकाबाट पनि पूर्णरुपमा बाटो बन्द नभए पनि गाडी रोक्दै छाड्दै गरेको बताए। 

‘उत्तरबाट स्याउका गाडी एकै पटक धेरै आउँदा ढुवानीमा समस्या आएको थियो। केरुङतर्फ सडक बिग्रिएकाले चिनियाँले गाडी रोकेर पठाएको भन्ने छ’, उनले भने, ‘केही रोकिँदै आयात भए पनि चाडपर्वमा आउने सामान अहिलेसम्म धेरै समस्या देखिएको छैन।’

उत्तरी नाकाबाट गत वर्षको तुलनामा विद्युतीय गाडीको आयात बढी 
तातोपानी नाकाको भन्सार यार्डमा करिब १०० वटा विद्युतीय गाडी छन्। नियमित रुपमा गाडी छुटिइरहेका छन्। बजेटपछि साढे ३ सय गाडी भन्सारबाट पास भइसकेका छन्। 

‘१०० वटा गाडी भन्सार यार्डमा रहेका छन्। व्यवसायीले विभिन्न लटका गाडी ल्याउँदै छौँ भन्ने जानकारी गराएका छन्’, भन्सार अधिकृत काफ्लेले भने, ‘गत वर्षको यही अवधिको तुलनामा अहिले विद्युतीय गाडी बढी नै भित्रिएका छन्। दशैँसम्म बढी नै हुने देखिन्छ।’

गत वर्षको तुलनामा विद्युतीय गाडी बढी आयात भइरहेको बताएका छन्।  

यता रसुवा नाकामा विद्युतीय गाडी यार्डमा छैनन्। भन्सारमा आएका सबै गाडी छुट्ने गरेका छन्। एक लटमा ६०–७० वटा गाडी भित्रिने गरेको भन्सार कार्यालयले जनाएको छ। 

गत वर्ष सरकारी राजस्व लक्ष्यअनुसारको दुई तिहाइ पनि उठेन। तर उत्तरी नाका रसुवागढी र तातोपानी नाकाले लक्ष्यभन्दा बढी उठाएका थिए। सरकारले यो वर्ष लक्ष्य दोब्बरले बढाइदिएको छ। भन्सार अधिकृतहरुका अनुसार गत वर्षको तुलनामा समग्र आयात बढे पनि लक्ष्य भने भेटिएको छैन। 

तातोपानी नाकाका भन्सार अधिकृत काफ्लेले उत्तरीनाकाबाट वस्तु आयात गत वर्षको तुलनामा वृद्धि भए पनि अहिले दिएको लक्ष्यभन्दा कमी नै रहेको बताए। गत वर्ष भदौमा ७४ करोडको वस्तु आयात भएको थियो। २० गतेसम्म १ अर्ब रुपैयाँबराबरको आयात भइसकेको छ।

तर पनि भदौमा लक्ष्यको करिब ८० प्रतिशत राजस्व उठ्ने अनुमान छ। 

गत वर्ष ८ अर्ब ४२ करोड लक्ष्य दिइएकोमा १३ अर्ब ३१ करोड असुली भएको थियो। अहिले २१ अर्ब ७३ करोड रुपैयाँ असुलीको लक्ष्य दिइएको  बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .