ad ad

समाज


४ वर्षपछि खुसी बोकेर घर फर्कन लागेका रुपलाल विमानस्थलमै अस्ताए, दुर्घटनामै गुमाएका थिए बुवा

४ वर्षपछि खुसी बोकेर घर फर्कन लागेका रुपलाल विमानस्थलमै अस्ताए, दुर्घटनामै गुमाएका थिए बुवा

रुपक चौलागाईं
भदौ २३, २०८१ आइतबार १८:५२, काठमाडौँ

दुई छोरा, श्रीमती र वृद्ध आमा छाडेर ४ वर्षअघि मलेसिया पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–११, बेलगनारका रूपलाल चौधरी आइतबार जन्मभूमि फर्कँदै थिए। 

सानैमा छाडेर विदेशिएका बुवा भेट्न १३ र १६ वर्षीय छोराहरू विपिन र विवेक व्यग्र प्रतीक्षामा थिए। 

जन्म दिएकी ८० वर्षीया आमा रुपनी छोरा आउने खुसीले बाटोतिर हेर्दै बसेकी थिइन्। विभिन्न रोगबाट थलिएकी उनी ४ महिनादेखि छोरालाई बोलाइदिन पटकपटक आग्रह गरिरहेकी थिइन्।

श्रीमतीलाई वर्षौंपछिको श्रीमान् आउने खुसीको सीमा थिएन। परिवारसँग निरन्तर सम्पर्कमा रहेका रूपलालले मलेसियाको क्वालालम्पुर विमानस्थलमा शनिबार दिउँसो अकस्मात संसार छाडे। 

४ वर्षसम्म मलेसियामा सँगै उठबस गरेका साथीभाइसँग बिदा भएर नेपाल हिँडेका चौधरीको विमानस्थलभित्रै निधन भएको हो। 

नेपाली समयअनुसार शनिबार दिउँसो करिब ४ बजेसम्म रूपलाल सम्पर्कमै थिए। उनले विमानस्थल पुगेपछि पनि आफन्तलाई फोन र म्यासेजमार्फत आफू फर्कन लागेको जानकारी गराएका थिए। 

एक्कासि रूपलालले म्यासेज गर्न छाडे।

रुपलालको निधनपछि घरमा जम्मा भएका छिमेकी

त्यसपछि परिवारका सदस्यलाई लाग्यो– अब प्लेन उड्यो। मलेसियाबाट नेपाल ओहोरदोहोर गरिरहेका छिमेकीहरूले ५/६ घण्टामा नेपाल आइपुग्ने परिवारलाई बताए। 

परिवारका सदस्य पनि जहाजमा फोन नलाग्ने भनेपछि उनको पर्खाइमै बसिरहे। शनिबार करिब ४ बजेतिरदेखि सम्पर्कमा नआएका रूपलाल आइतबार बिहानसम्म पनि आएनन्। 

त्यसपछि उनको खोजी भयो। उनका भाइ लोकमणि पनि मलेसियामै रोजगारी गर्छन्। उनी केही महिनाअघि नेपाल आएर फेरि मलेसिया फर्किएका थिए।

‘उहाँ (रुपलाल) को फोन नलागेपछि हामीले मलेसियामै रहेका भाइ (लोकमणि) सँग सोधखोज गर्‍यौँ,’ मृतकका आफन्त घनश्याम चौधरीले भने, ‘उहाँले हृदयघातका कारणले दाजुको मृत्यु भयो भन्ने खबर सुनाउनुभयो।’

स्वदेश फर्कने भनेर विमानस्थलसम्म आइपुगेर भिडिओ कल गरेका चौधरीको अकस्मात् निधनको खबर आफन्तलाई पनि अपत्यारिलो बनिदियो। 

‘परिवारका सदस्यसम्म कसरी पुर्‍याउने भन्ने चिन्ता थियो,’ घनश्यामले भने, ‘फेरि यहाँ थारूहरूको विशेष पर्व चलिरहेकाले उहाँको श्रीमती पनि व्रत बस्नुभएको थियो।’

सो क्षेत्रका थारू समुदायमा तीजलगत्तै ‘अटवारी’ पर्व मनाइन्छ।

सोही पर्व मनाएर श्रीमानको दीर्घायुको कामना गरिरहेकी थिइन्, मन बुझौनी। भगवानसँग उनले गरेको कामना पूरा भएन। श्रीमान् गुमाएको खबर सुनेदेखि आइतबार दिनभर उनी बेहोस रहिन्। 

आफन्त र छिमेकीलाई श्रीमती मन बुझौनीलाई कुरेर बस्नुपरेको छ। 

श्रीमान्‌को मृत्युको खबर सुनेपछि अचेत बनेकी श्रीमती मन बुझौनी।

अकस्मात् हृदयघात भएपछि रूपलालको निधन भएको खबर परिवारसम्म आइपुगेको छ। छोरा फर्कने आसमा बसेकी वृद्ध आमा अहिले छोराको शव आउने बाटो कुरिरहेकी छिन्। 

वडाध्यक्ष मानबहादुर रावतका अनुसार, मृतक चौधरीको शव ल्याउने प्रयास भइरहेको छ।

‘हामीले दिउँसो खबर सुन्यौँ। भोलि बिहान कार्यालय खुलेपछि बाँकी आवश्यक कागज प्रक्रिया अघि बढाउँछौँ,’ वडाध्यक्ष रावतले भने। 

मलेसियामा रहेको नेपाली दूतावासका कर्मचारीसँग समन्वयको प्रयास भइरहेको उनले बताएका छन्। उनको शव नेपाल ल्याउन लाग्ने खर्चको जोहो गर्न त्यहाँ उनका भाइ लोकमणि र अन्य नेपाली मनहरूले लागिरहेका छन्। 

२३ वर्षअघि दुर्घटनामै गुमाएका थिए बुवा
२०५८ साल असोज महिनाको कुरा हो। रूपलालका बुवा काम विशेषले घोराही हुँदै लमहीतिरको यात्रामा थिए। 

सार्वजनिक बसमा चढेका उनले भयानक दुर्घटनामा परेर ज्यान गुमाएका थिए।

आफन्त घनश्यामले बताए अनुसार, सोही साल बुवाको निधन भएपछि रूपलालकै काँधमा परिवारको जिम्मेवारी आएको थियो। परिवारको अवस्था बलियो बनाउन रूपलाल ४ वर्षअघि मलेसिया गएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .