ad ad

कारोबार


१८ महिना लामो व्यापारयुद्ध रोक्दै ट्रम्प र लिउ हे, सम्झौतामा के छ?

१८ महिना लामो व्यापारयुद्ध रोक्दै ट्रम्प र लिउ हे, सम्झौतामा के छ?

नेपालखबर
माघ १, २०७६ बुधबार ८:४८,

अमेरिका र चीनबीच १८ महिनायता जारी व्यापार युद्ध बुधबारदेखि रोकिने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हेले ह्वाइटहाउसमा पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर गरेसँगै डेढ वर्षयता जारी व्यापार युद्ध साम्य हुने देखिएको हो।

अमेरिका र चीन विश्वकै ठूला प्रमुख दुई अर्थतन्त्र भएका देश हुन्। दुई देशबीचको व्यापारयुद्धले विश्व अर्थतन्त्रलाई समेत प्रभावित पारिराखेको अवस्थामा सम्झौता हुनलागेको हो। सम्झौता पत्र ८६ पृष्ठ लामो भएको रोयटर्सले जनाएको छ।

हस्ताक्षर समारोहमा व्यवसाय, सरकारी र कूटनीतिक क्षेत्रका २ सय जनालाई निमन्त्रणा बाँडिएको छ। सम्झौताका चिनियाँ अनुवाद मंगलबार अबेरसम्म पनि पूरा भएको थिएन। सोही क्रमाम चिनियाँ टोलीको नेतृत्व गरेका उपप्रधानमन्त्री लिउले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथाइजरसँग भेटवार्ता गरेका थिए।

के छ सम्झौतापत्रमा ?
अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार पहिलो चरणको व्यापार सम्झौतामा चीनले थप २ खर्ब अमेरिकी डलर मूल्यका अमेरिकी वस्तु २ वर्ष अवधिमा किन्ने उल्लेख भएको बताइएको छ। साउथ चाइना मर्निङ पोष्टका अनुसार चार उद्योगका उक्त मूल्य बराबरका वस्तु चीनले दुई वर्षमा किन्नुपर्ने सम्झौतामा उल्लेख रहेको ह्वाइटहाउसका अधिकारीले बताएका छन्।

यस सम्झौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलेदेखि नै उत्साहित हुँदै आएका छन्। उनले यही वर्ष हुने राष्ट्रपतीय चुनावमा आफ्नो क्याम्पेनको मुख्य उत्साहप्रद नारा हुने समेत बताउँदै आएका छन्। गत हप्ता ओहियो राज्यको टोलेडोमा चुनावी र्‍यालीमा उनले यो सम्झौतालाई ‘एउटा ठूलो सुन्दर राक्षस’को संज्ञा दिएका थिए।

चीनसँग अमेरिकाको व्यापारघाटा उच्च छ। सन् २०१८ मा मात्रै चीनसँग अमेरिकी व्यापारघाटा ४ खर्ब २० अर्ब डलर पुगेको थियो। स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार चीनले थप ८० अर्ब डलरका अमेरिकी उत्पादन क्षेत्रका सामान खरिद गर्नेछ। उक्त सामान २ वर्षमा खरिद गर्ने बताइएको छ। यसमा एयरक्राफ्ट, अटो, कार पार्ट्स, कृषियन्त्र र मेडिकल डिभाइसहरु पर्नेछन्।

बेइजिङले ऊर्जा क्षेत्रसँग सम्बन्धित ५० अर्ब डलर, सेवा क्षेत्रका ३५ अर्ब डलर, कृषि उत्पादन ३२ अर्ब डलरका अमेरिकी वस्तु दुई वर्ष अवधिमा खरिद गर्ने सम्झौतामा उल्लेख रहेको बताइएको छ। ट्रम्पले ४० अर्बदेखि ५० अर्ब डलरका कृषि सामग्री चीन निर्यात गर्ने लक्ष्य राखेका छन्। सन् २०१७ मा २४ अर्ब डलरको निर्यात गरेको अमेरिकाले वर्षेनी १६ अर्ब डलरका निर्यात सामग्री बढाउने लक्ष्य राखेको छ।

उक्त अवधिमा चीनले प्रतिबद्धताबमाेजिम सामान खरिद नगरे ट्रम्प प्रशासनले चिनियाँ वस्तुमा पुनः कर लगाउन सक्ने पनि एजेन्सीहरूले जनाएका छन्। 

तर चीनले कृषिजन्य सामग्रीको दोब्बर खरिद गर्न सक्नेबारे भने धेरै प्रश्नहरु उठेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। व्यापारयुद्ध हुनुअघि सन् २०१६ मा चीनले अमेरिकाबाट २० अर्ब डलरका कृषि उत्पादन खरिद गरेको थियो।

शांघाइमा रहेको कृषि तथ्यांक उपलब्ध गराउने जेसीआई चाइनाका एक विश्लेषक रोसा वांग भने चीनले उक्त सामग्री खरिद गर्न सक्ने बताउँछिन्। चीनले धेरै परिमाणमा भटमास खरिद गर्न सक्ने उनको भनाइ छ। त्यसबाहेक फलफूल, बदाम, पोर्क, पोल्ट्र, गहुँलगायतका सामग्री चीनले खरिद गर्न सक्ने उनी बताउँछिन्।

त्यस्तै सम्झौतासँगै बौद्धिक सम्पत्ति रक्षालाई बढावा दिने बताइएको छ। यसबाहेक प्रविधि हस्तान्तरण, मुद्रा, बजार पहुँचलगायतका वित्तीय सेवा र कृषिसम्बन्धी धेरै कुरा सम्झौतामा रहेका मिडियाहरुले जनाएका छन्। बुधबार हुनलागेको सम्झौतामा डिसेम्बर पहिलो साता सहमति भएको थियो। सहमतिसँगै अमेरिकाले चिनियाँ फोनहरु, खेलौना, ल्यापटप कम्प्युटरमा थप कर रोकेको थियो। सम्झौताका बाबजुद २ खर्ब ५० अर्ब डलरका चिनियाँ औद्योगिक वस्तुमा लगाइएको २५ प्रतिशत कर भने यथावत् हुने बताइएको छ। यसमा अमेरिकी उत्पादकहरुले चीनमा बनाएका सामग्री समेत रहेका छन्।

पहिलो चरणको व्यापार सम्झौताले दुई देशबीचको मुख्य विवादलाई भने समाधान नगरेको बताइएको छ। खासगरी अमेरिकाले उठाउँदै आएको चीनको व्यापार र बौद्धिक सम्पत्ति रक्षाको अभ्यासलाई यसले सम्बोधन नगर्ने रोयटर्सले जनाएको छ। त्यस्तै सरकारी कम्पनीलाई चीनले दिने सब्सिडीबारे पनि अमेरिकी गुनासो रहँदै आएको छ।

त्यस्तै, डिजिटल व्यापारमा कडाइ, साइबर सुरक्षालगायतका मुद्दाहरुलाई सम्झौताले केही नगरेको बताइएको छ। यी मुद्दाहरु अमेरिकाले दोस्रो चरणको सम्झौताका लागि मुख्य हुने अमेरिकी वाणिज्य सचिव स्टिभन म्नुचिनले बताएका छन्।

यो सम्झौतापछि चीनले वित्तीय सेवाका क्षेत्रमा अमेरिकी कम्पनीलाई बाटो खोल्ने बताइएको छ। एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .